पुष्पलाललाई गद्दार भन्नेहरूले नै पछि माफी मागे

पुष्पलाललाई गद्दार भन्नेहरूले नै पछि माफी मागे


पुष्पलाललाई सम्झिँदा आजको दिन मात्र होइन, समग्र नेपालको इतिहासलाई हेर्नुपर्छ। पुष्पलालले नेपालको इतिहासलाई आधुनिक इतिहासमा बदल्न ठूलो मेहनत गर्नुभयो। उहाँको अध्ययन सामाग्रीबाट धेरैले धेरै कुरा लेखे, धेरैले फाइदा उठाए। देशले पनि धेरै फाइदा उठायो। 

पुष्पलाललाई कसरी हेर्नुपर्छ भने उहाँ एउटा सिद्धान्तकार हो। उहाँले एउटा सिद्धान्त प्रतिपादन गर्नुभयो, जुन नेपालका लागि अत्यन्त उपयोगीसमेत थियो। तर,उहाँले आफ्नो सिद्धान्त लागू गर्न पाउनु भएन। 

आफूले प्रतिपादन गरेको सिद्धान्त उहाँले लागू नगरे पनि उहाँकी पत्नी तथा नेतृ सहाना प्रधानले त्यसलाई पछ्याउनुभयो। यसरी पुष्पलालले सिद्धान्त प्रतिपादन गरे पनि व्यवहारमा लागू भने सहानाले गर्नुभयो। 

यसरी हेर्दा के देखिन्छ भने पुष्पलालको पारिवारिक जीवन पनि राजनीतिक रूपमा घुलमिल भएको देखिन्छ। उहाँका विचार राजनीतिसँग जोडिएको देखिन्छ।

पुष्पलाल र सहानाप्रतिको यो सम्बन्धलाई एउटा सामान्य घटनाका रुपमा मात्रै नलिइकन यसलाई विशेष रुपमा लिनुपर्छजस्तो मलाई लाग्छ। किनभने पुष्पलालले प्रतिपादन गरेको सिद्धान्त उहाँ आफैंले लागू गर्न पाउनु भएन। समयले उहाँलाई साथ दिएन। 

 जब पुष्पलालको मृत्यु भयो, उहाँको मृत्यु भएको एक वर्षपछि नै जनमत संग्रहको घोषणा भयो। जसको कारण राजनीतिले नयाँ कोर्स लियो। 

त्यसबेलादेखि नेपालको राजनीति नयाँ बाटोमा प्रवेश गर्याे। राजनीति सही ट्रयाकमा आउन दशौं वर्ष लाग्यो। तैपनि राजनीति लिकमा हिँडेको थियो।

राष्ट्रिय राजनीतिमा प्रवेश पाएको पुष्पलालको सिद्धान्तलाई सहाना प्रधानले उपयुक्त तरिकाले डोर्याउन सक्नुभयो। उहाँले नै निर्दिष्ट गरेको सिद्धान्तमा नेपाली कांग्रेस पनि सहभागी भएर आन्दोलन भए, एकले अर्कालाई सहयोग गर्ने परिपाटी विकास भयो, त्यसबेलाको आन्दोलनबाट महत्वपूर्ण उपलब्धि पनि हासिल भए, त्यसले के देखाउँछ भने पुष्पलालको राजनीतिलाई एउटा जीवन्त रूपमा उतार्न सहाना प्रधानले धेरै मेहेनत गर्नुभयो। आखिर पुष्पलालको सिद्धान्त ठिक छ भन्ने प्रमाणित भयो। यस कुरालाई नेपाली इतिहासले कहिले पनि बिर्सिन सक्दैन। यदि नेपालको इतिहासले पुष्पलाललाई बिर्सियो भने कहिले पनि सही बाटो समात्न सक्दैन।

जसरी अहिले नेपाली इतिहास सही गोरेटोमा नलागेर गलत दिशामा लागिरहेको छ। अहिले राजनीतिले सही बाटो समात्न सहिरहेको छैन्। अहिलेपनि पुष्पलालको सिद्धान्तमाथि टेकेर कम्युनिस्ट अघि बढ्ने हो भने देशमा कायापलट हुन्छ। तर, यसमा ढिलाइ गर्नु हुन्न।

सबैलाई प्रभावित पार्न सक्ने व्यक्तित्व

व्यक्तिगत रुपमा उहाँ सारै मिलनसार, सबैसँग बोल्ने मिल्ने, सजिलैसँग एक अर्कासँग सम्बन्ध बढाउन सक्ने र एक अर्कालाई छिट्टै प्रभावित पार्न सक्ने उहाँको व्यक्तित्व थियोे। त्यो व्यक्तित्वले गर्दा नै भन्नुपर्छ धेरै मानिस उहाँबाट प्रभावित थिए। 

इतिहासको कठिन घडीमा उहाँ बाँच्नुभयो, त्यस घडीमा पुष्पलाललाई कसैले साथ दिए, कतिले छाडेर हिँडे। छाडेर हिँड्नेहरुसमेत पछि पुष्पलालको विरोधमा गएनन्। जो पहिला उनलाई छाडेर हिँडे, पुष्पलालको बाटोबाट मुलुकमा क्रान्ति सफल हुन सक्दैन भनेर। पछि तिनीहरू पनि उनीसँगै आएका थिए।

समग्रमा भन्ने हो भने पुष्पलालको बाटो हिजो पनि सही थियो, आज पनि सही छ। हिजो उनकै बाटो हिँड्दा क्रान्ति सफल भएको थियो। नेपालमा लोकतन्त्र हुँदै, गणतन्त्र आउनुमा पुष्पलालको सिद्धान्तको अहम् भूमिका छ। 

पुष्पलाललाई कसरी हेर्नुपर्छ भने उहाँ एउटा सिद्धान्तकार हो। उहाँले एउटा सिद्धान्त प्रतिपादन गर्नुभयो, जुन नेपालका लागि अत्यन्त उपयोगीसमेत थियो। तर,उहाँले आफ्नो सिद्धान्त लागू गर्न पाउनु भएन। 

गणतन्त्र आइसकेपछि नेपालमा केही धुमिल वातावरण देखापरेको छ। कतै हामीले बाटो त समात्यौं, तर समातेको बाटोलाई गहकिलो र दरिलो किसिमले समात्न सकेनौं कि भन्ने देखिएको छ। तर, हामी उनीहरूले नै देखाएको बाटोमा हिँडिरहेका छौं, अहिले धुमिल कण केही समयपछि मेटिएला, त्यो आशा गरौं, गणतन्त्रले नै पुष्पलालले देखाएको बाटोलाई साकार पार्ने हो। म अपेक्षा गर्छु–केही समयपछि सबै लाइनमा आउँछ।

कम्युनिष्ट र गद्दार–लाल गद्दार  शब्दावली 

त्यति बेला नेपालमा राज्य राजाको हातमा थियो र राजा सैद्घान्तिक रूपमै निकै शक्तिशाली भएर अगाडि आएका थिए। जुन बेला पुष्पलाल सक्रिय हुनुहुन्थ्यो, त्यति बेला नेपालको राजतन्त्र पनि त्यतिकै शक्तिशाली भएर अगाडि आइरहेको थियो। देशभक्तिपूर्ण आन्दोलनलाई राजतन्त्रले आफ्नो आन्दोलनको रुपमा विकास गर्न चाहिरहेको थियो। त्यस अवस्थामा एउटा कठिन घडीमा पुष्पलालले बाटो देखाउनु भयो, राजतन्त्रबाट केही समयको निम्ति राष्ट्रवादी कुराहरु भए पनि अन्तिम समयसम्म यसबाट राष्ट्रवाद अगाडि बढ्न सक्दैन भन्ने जुन निष्कर्ष पुष्पलालले निकाल्नुभयो, तिनै निष्कर्षमा हामी पनि लाग्यौं र इतिहास अगाडि बढिरह्यो। र, अहिलेसम्मको अवस्था आयो।

अब जहाँसम्म गद्दार भन्ने शव्द छ, त्यसको के अर्थ छ र? त्यस बेला पनि सामान्य मतभेद हुँदा गद्दार भन्ने चलन थियो। पुष्पलाललाई नभनेका हैनन्, गद्दार भन्नेहरुले नै पछि माफी मागे, हामी गलत रहेछौं भन्ने निष्कर्ष निकाले। यसले कस्तो अर्थ लाग्छ–म नजानौंला। तर, हाम्रो समयमा यो शव्द प्रयोग हुन्थ्यो। 

अहिले पनि सुन्दैछु एउटा गद्दार अरे अर्को लाल गद्दार मलाई हाँसो उठ्छ। पुष्पलालको परिकल्पना यो थिएन्, आफ्ना–आफ्ना लडौं भन्ने। उहाँको त बिपी कोइरालालाई समेत प्रभाव पार्नसक्ने व्यक्तित्व थियो। 

अहिलेका नेताहरूको बचन खराब छ। म विश्वस्त छु–राजनीतिक रुपमा सफल व्यक्तित्वद्धय केपी शर्मा ओली र माधव नेपालले विगतलाई भुलेर नयाँ अध्याय र सिराबाट कम्युनिष्ट आन्दोलन लैजानुपर्छ। अहिलेको यो विग्रह हल गर्नुपर्छ। 

पुष्पलालले परिकल्पना गरेको कम्युनिष्ट आन्दोलन 

अहिलेको कम्युनिष्ट आन्दोलन नेपालको गाउँ देहातमा हुनुपर्ने हो। गाउँ देहातबाट उठेर यो सहर बजार हुँदै ठूला–ठूला ठाउँमा जानुपर्ने हो। नेपालको सन्दर्भमा हेर्ने हो र अन्य मुलुकसँग तुलना गर्ने हो भने नेपालको सम्पदा छ, ती सम्पदालाई सही रुपमा सदुपयोग गर्दा नेपालको क्रान्तिलाई अगाडि बढाउने काम हुने थियो।

हामीले हाम्रो सम्पदालाई सही रूपमा सदुपयोग गर्न सकेनौं। यिनीहरूबाट सही लाभ लिन सकेनौं र, हामीलाई धनी देशका गरिब नागरिक भन्ने गरेका छन्।

यो धनी देशको गरिब नागरिकको ट्यागबाट हटाउने जिम्मेवारी फेरि अहिलेका नेताहरूको हो। मलाई लाग्छ, अहिलेका नेताहरुले यसलाई गहिरोसँग अध्ययन गरी मुलुक परिर्वतनमा लाग्नुपर्छ। इतिहासलाई राम्रोसँग बुझेका केपी, माधव, झलनाथ र बामदेवले यसलाई बुझ्नेछन् र, पुष्पलालले परिकल्पना गरेको बाटोमा लाग्नेछन्। उनीहरूले आपसी छलफल गरेर कम्युनिष्टलाई आन्दोलनलाई मर्न दिनुहुन्न मलाई विश्वास छ।

पुष्पलालप्रति न्याय! 

पुष्पलाले सोचेको बाटोमा अघि बढ्नका निम्ति किसानको जीवनमा परिवर्तन ल्याउनुपर्छ। अहिलेका नेताहरूले सम्पदालाई चाहिँ किसानको हितमा प्रयोग गर्न सके आगागी दश वर्षभित्र मुलुकले काँचुली फेर्ने छ। त्यसो गर्न सकेमात्र पुष्पलालप्रति न्याय हुनेछ। अहिले नै उनलाई न्याय मिलेको छ भन्ने म मान्दिनँ।

कम्युनिष्टहरु एक हुन्छन् भन्ने कुरामा पुष्पलाल विश्वस्त हुनुहुन्थ्यो। एउटा समय, एउटा घडी र एउटा अवस्थामा कम्युनिष्ट बाँडिएका थिए, अहिले पनि त्यस्तै छ।

त्यसबेला कोही पञ्चहरूसँग मिलेर हिँड्ने कम्युनिष्ट थिए भने कोही मुलुक कायापलट होस् भन्ने चाहना राख्ने थिए। उनीहरु भूमिगत रुपमा क्रियाशील थिए। यी सबै कम्युनिष्ट एक दिन एकीकृत हुने कुरामा पुष्पलाललाई विश्वास थियो।

 उहाँले पटक–पटक मलाई बनारसको भागिरथी नदी किनारमा बसेर भन्नुभएको थियो। यो कुरा मलाई मात्र होइन, बनारसको सारनाथमा बिपि कोइरालालाई पनि भन्नुभएको थियो कि ‘कम्युनिष्ट एक हुनुपर्छ’ भनेर। केही समय त्यसको टुसो पलाएको थियो। त्यो सफल भएन भविष्यमा फेरि कम्युनिष्ट एक हुनेछन्।

(पुराना वामपन्थी नेता गोविन्द ज्ञवालीसँग केन्द्रबिन्दुका लागि विकास आचार्यले गरेको कुराकानीमा आधारित)

Logo