अमेरिकी वैज्ञानिक भन्छन्-२० हजार वर्षअघि पनि फैलिएको थियो ‘कोरोना महामारी’

अमेरिकी वैज्ञानिक भन्छन्-२० हजार वर्षअघि पनि फैलिएको थियो ‘कोरोना महामारी’


वैज्ञानिकहरूका अनुसार २० हजार वर्षअघि पूर्वी एसिया क्षेत्रमा कोरोना महामारी फैलिएको थियो। त्यस क्षेत्रका मानिसको अनुवंशीय स्वरूपमा महामारीको प्रभाव पाइएको उनीहरूको निष्कर्ष छ। 

विश्वभरका २६ जनसांख्यिक समूहबाट २ हजार ५ सयभन्दा बढी मानिसको अनुवंशीय स्वरूपको अध्ययन ती वैज्ञानिकले गरेका थिए। 

कोरोना भाइरससँग मानिसको अनुकूलन (एडाप्टेसन) बारे पत्ता लगाउन गणितीय विश्लेषणात्मक विधिको प्रयोग गरिएको थियो। कोरोना भाइरसका कारण नै विश्वले पछिल्लो २० वर्षमा पछिल्लो कोभिड–१९ सहित तीन महामारी खेप्नुपर्यो।

सन् २००२ मा चीनबाट सुरु भई ८ सय जनाभन्दा बढीको ज्यान लिएको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)’, सन् २०१२ मा अरबी क्षेत्रमा देखिई ८ सय ५० भन्दा बढीको ज्यान लिएको ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स)’ र सन् २०१९ मा सुरु भई ३८ लाखको ज्यान लिइसकेको ‘कोभिड–१९’ कोरोना भाइरसका फरक प्रजातिका कारण पछिल्ला २० वर्षमा फैलिएका महामारी हुन्। 

तर, नयाँ अध्ययनले २० वर्ष मात्र नभई हजारौँ वर्ष पहिले एउटा कोरोना भाइरसजन्य महामारी फैलिएको देखाएको हो। 

‘यो डाइनोसरको हड्डी नभई फोसिल (अवशेष) भेटेजस्तै हो,’ अध्ययनमा संलग्न एरिजोना विश्वविद्यालयका प्राध्यापक डेभिड एनार्ड भन्छन्, ‘त्यो प्राचीन भाइरस सिधै हामीले पत्ता लगाएका होइनौँ। हामीले उक्तभाइरसले प्राचीन महामारीका बेला मानिसको अनुवंशीय स्वरूपमा छाडेको प्रकृतिक छनोट (नेचुरल सेलेक्सन) को प्रमाण पत्ता लगाएका हौँ।’

कसरी पत्ता लाग्यो?
वैज्ञानिकले कुनै जीवित कोषिकाको प्रयोगबिना नै मानवीय एवम् कोभिड–१९ कारक सार्स–कोभ–२ (कोरोनाभाइरसको एक प्रजाति) को प्रोटिन पुनर्सिर्जना गरेर कोषिकामाथि आक्रमण गर्न कोरोना भाइरसले गर्ने आक्रमणको जानकारी संरक्षित रहने अर्थात् संक्रमणपछि हराइनहाल्ने औँल्याए। 

आधुनिक मानवको विकास क्रमसँगै अनुवंशमा लाखौँ वर्ष पुराना जानकारी कैद हुने गर्दछन्। त्यस्ता जानकारी शारीरिक वा रोग–प्रतिरोधात्मक अनुकूलनबारे हुन सक्छन्, जसले मानिसलाई त्यस्तै प्रकृतिका नयाँ जोखिमबाट बच्न सिकाउँछ। 

अध्ययनको नतिजाले पूर्वी एसियाली मानिसका पूर्खा कोभिड–१९ जस्तै कोरोना भाइरसजन्य महामारीबाट ग्रसित भएको देखाएको छ। पूर्वी एसियाली मानिस हालको चीन, जापान, मंगोलिया, उत्तर कोरिया, दक्षिण कोरिया र ताइवानबाट आएका हुन्। 

शरीरले भाइरसप्रति प्रतिक्रिया जनाउँदै उत्पादन गरेको प्रोटिनसँग टाँसिएर मात्रै भाइरसले शरीरका कोषिकामाथि आक्रमण गर्न सक्छ। टाँसिनका लागि प्रयोग हुने त्यस्ता प्रोटिन ४२ अनुवंशमा रहेको उक्त अध्ययनले पत्ता लगाएको थियो।

‘शरीरले भाइरसप्रति प्रतिक्रया जनाउँदै उत्पादन गर्ने ४२ प्रोटिन फोक्सोमा भेटियो, जुन कोरोना भाइरसबाट सबैभन्दा प्रभावित अंग हो। र, त्यस्ता प्रोटिनले अहिलेको महामारी निम्त्याउने भाइरसप्रति पनि प्रतिक्रिया जनाउँछन्,’ अध्ययनको नेतृत्व गरेका एडिलेड विश्वविद्यालयका यासिन सोइल्मी भन्छन्। 

शरीरले भाइरसप्रति प्रतिक्रया जनाउँदै उत्पादन गर्ने प्रोटिन ‘होस्ट’ (भाइरस बस्ने जीवको) कोषिकाको सतहमा हुने गर्छ, जसको प्रयोगबाट भाइरस कोषिकामा प्रवेश गर्छ र कोषिकाभित्रका अन्य प्रोटिनसँग अन्तरक्रिया गर्न थाल्छ। 

‘भाइरसलाई हावी हुन सहयोग गर्ने वा रोक्ने प्रोटिन सिर्जना गर्ने अनुवंशमा २५ हजार वर्षअघि नै धेरै प्राकृतिक छनोट (नेचुरल सेलेक्सन) भएको हामीले पायौँ,’ एनार्ड भन्छन्।

अनुवंशीय संकेतहरू
प्राकृतिक छनोटले कोरोनाभाइरसलाई रोक्ने खालको अनुवंशलाई निरन्तरता दिएकाले पछिल्लो समयको कोरोना संक्रमण कम घातक भएको उक्त अध्ययनले देखाएको छ।

‘भाइरससँगको हाम्रो विगतको अन्तक्र्रियाले अनुवंशीय संकेत छाड्छन्, जसको सहयोगबाट हामी संक्रमणमा भूमिका हु्ने अनुवंश पत्ता लगाउन सक्छौँ। यस्ता संकेत औषधि र उपचार पत्तालगाउन सहयोगी हुन सक्छन्,’ सह–अनुसन्धाता एवम् एडिलेड विश्वविद्यालयका रे टोब्लर भन्छन्। 

‘हजारौँ वर्षअघि भाइरल महामारीबाट प्रभावित अनुवंश पत्तालाग्दा अनुवंशीयविश्लेषणलाई भविष्यमा महामारीसँग जुध्ने औजारका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि भएको छ,’ सोइल्मी भन्छन्। 

अध्ययनकर्ताका अनुसार उनीहरूको खोजले विगतमा महामारी निम्त्याएका भाइरस पहिचान गरी भविष्यमा त्यसबाट बच्न सकिन्छ। यस्ता अध्ययनले अनुसन्धातालाई सम्भावित जोखिम भएका भाइरस पहिचान गरी डाइग्नोसिस, खोप र औषधि विकासमा मद्दत गर्न सक्छन्, महामारी फेरि आएमा ती सहयोगी हुन सक्छन्।

(‘फ्युटरिटी डट ओआरजी’मा प्रकाशिते यस लेखको भावानुवाद केन्द्रबिन्दुका लागि कुशल बस्नेतले गरेका हुन्। यो रिसर्च पेपर चाहिँ ‘करेन्ट बायलोजी’मा प्रकाशित भएको थियो।)

Logo