खोपप्रति हिच्किचाहट हुनुमा यस्तो छ मनोवैज्ञानिक कारण

खोपप्रति हिच्किचाहट हुनुमा यस्तो छ मनोवैज्ञानिक कारण


कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिताबारे निरन्तर अध्ययन भइरहेको छ। बेलायतमा खोपको दुवै डोज पाएका २० हजार जनाभन्दा बढी मानिसमध्ये हरेक जसोमा दोस्रो डोज पाएको दुई हप्ताभित्रै भाइरसविरूद्ध ‘एन्टीबडी’ को विकास भएको पाइयो।

कोरोना भाइरसको नयाँ डेल्टा भरियन्टविरूद्ध खोप प्रभावकारी होला कि नहोलाभनी बहस भइरहेको भए पनि एस्ट्राजेनेका र फाइजर खोपले हस्पिटलमा भर्ना हुने अवस्था ९२ देख ९६ प्रतिशतसम्म कम गर्ने पाइएको छ। भाइरसको असरको तुलनामा खोपको अनपेक्षित असर एकदमै झिनो भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन्। 

यद्यपि, ठूलो संख्यामा मानिस खोप लगाउन चाहँदैनन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको एक रिपोर्टअनसार खोप लगाउन नचाहनेको अनुपात बेलायतमा १० देखि २० प्रतिशत, जापानमा ५० प्रतिशत र फ्रान्समा ६० प्रतिशत रहेको छ। 

विभिन्न सञ्जालमा खोप लगाउन नचाहने मानिस स्वार्थी वा मुर्ख हुन् भन्ने चर्चा हुने गरेको छ। तर, मनौवैज्ञानिकका अनुसार खोपप्रति मानिसको अरुचिका पछाडि अज्ञानता र स्वार्थभन्दा जेलिएका कारणहरू छन्।  

सामाजिक एवम् मनोवैज्ञानिक कारण 
खोप लगाउन हिच्किचाउने सबैजना विज्ञानविरोधी वा राजनीतिक अभीष्टबाट प्रेरित छन् भन्ने होइन। खोप लगाउन मानिस किन हिच्किचाउँछन् भनेर कोभिड–१९ महामारी सुरु हुनुभन्दा अगाडिदेखि नै अध्ययन गरिरहेका छन्। 

अध्ययनबाट मानिसको त्यस किसिमका व्यवहारको व्याख्या गर्ने मोडल पनि बनेको छ। त्यस्तो मोडलका अनुसार खोपप्रतिको हिच्किचाहटका पछाडि रहेका मुख्य कारण यस्ता छन्ः 

विश्वास 
खोपप्रति मानिसको दृष्टिकोण उनीहरू खोपप्रति कत्तिको विश्वस्त छन्। खोप वितरण र नीति निर्माणको स्थानमा कस्ता मानिस छन् भन्ने कुराले पनि खोपप्रतिको विश्वसनीयता निर्धारण गर्छ। 

निर्धक्कता
कुनै पनि रोग स्वास्थ्यका लागि कत्तिको घातक छ भन्नेबारे मानिसको बुझाइ फरक हुन सक्छ। कहिलेकाँही रोग खासै घातक छैन भन्ने बुझाइ मानिसमा हुन सक्छ।

आँकलन
खोपका फाइदा र बेफाइदा कस्ता छन् भन्ने जानकारीका आधारमा मानिसले जोखिमको आँकलन गर्ने गर्छन्। त्यसैअनुसार उनीहरूले खोपप्रति आफ्नो दृष्टिकोण बनाउन सक्छन्। 

पहुँच
खोपप्रतिको सचेतना खोपको उपलब्धतामा पनि भर पर्ने गर्छ।

सामूहिक जिम्मेवारी 

अरूलाई पनि संक्रमणबाट जोगाउनु आफ्नो जिम्मेवारी हो भन्ने कुरा कत्तिको बोध छ भन्ने कुराले पनि मानिसले खोपप्रति कस्ता धारणा बनाउँछ भन्ने निर्धारण गर्छ। 

सन् २०१८ माकोर्नेलिया बेस्चले मानिसलाई विभिन्न धारणाप्रति प्रतिक्रिया जनाउन लगाएर माथि उल्लिखित पक्षकोे परीक्षण गरेका थिए। परीक्षणको नतिजालाई हेपाटाइटिस खोपप्रति ती मानिसको धारणासँग तुलना गर्दा उक्त मोडल मानिसको हिच्किचाहटको व्याख्या गर्न प्रभावकारी हुने गरेको पाइयो। कोभिड–१९ खोपबारे मानिसको धारणा र निर्णय बुझाए पनि सोही मोडलको परिधिमा रहेको पाइयो। 

त्यसो त खोप लगाउन नचाहने जनसंख्याको १० प्रतिशतसम्म सुईको डरजस्ता साधारण कारणले खोप लगाउँदैनन् भन्ने एक अध्ययनले देखाएको छ। 

निश्चितताको पूर्वाग्रह
खोपप्रति हिच्किचाहटका विभिन्न कारणको चर्चा गर्दा संज्ञानात्मक कारणको चर्चा गर्नु महत्वपूर्ण हुन्छ। मानिसले फाइदा र बेफाइदाबारे बुझाइ उनीहरूमा हुने ‘नकारात्मकता पूर्वाग्रह’ र ‘आत्मविश्वास पूर्वाग्रह’ बाट प्रभावित हुने जेसिका सालेस्का बताउँछिन्। 

‘तपाईंलाई कुनै नकारात्मक जानकारी प्राप्त हुँदा त्यस्तो जानकारी लामो समयसम्म दिमागमा रहन सक्छ,’ सालेस्का भन्छिन्। ‘आत्मविश्वास पूर्वाग्रह’मा भने ‘म अरूभन्दा स्वस्थ छु, चुस्त छु’ भन्ने बुझाइ पर्दछन्। यी दुवै पूर्वाग्रह एकसाथ कसैमा हावी हुन पनि सक्छन्। खोपमा ‘साइड इफेक्ट’ बारे चिन्ता गर्दै (नकारात्मकता पूर्वाग्रह) आफू चुस्त छु भन्ने मान्यता राख्ने (आत्मविश्वास पूर्वाग्रह) प्रवृत्तिले खोपलाई नजरअन्दाज गर्न सहयोग गरिरहेको हुन सक्छ। 

त्यसपछि आउँछ ‘निश्चितताको पूर्वाग्रह’। गलत सूचनाको सागरले खोपको ‘साइडइफेक्ट’ लाई अतिरञ्जित तवरले पनि प्रस्तुत गरिरहेका हुन्छन्। यस खालको गलत सूचना विद्यमान हुँदा सूचनाको आधारमा आँकलन गर्ने मानिस नगर्नेभन्दा खोपप्रति कम विश्वास गर्ने भइदिन सक्छन्। 

‘यदि खोपको ‘साइडइफेक्ट’ हुन्छ भन्ने तपाईंलाई थाहा छ भने तपाईंले इन्टरनेटमा त्यो खोप कत्तिको खतरनाक छ भनेर खोज्नुहुन्छ। त्यसपछि तपाईं गलत सूचनाको सागरमा पुग्नुहुन्छ,’ बेस्च भन्छन्। 

यस किसिमको मनोवैज्ञानिक प्रवृत्ति सबैमा हुने गर्छन्। यदि तपाईंले खोपलाई स्वीकार्नु भएको छ भने पनि यो प्रवृत्तिले तपाईंको निर्णयलाई कुनै न कुनै बेला प्रभाव पारेको हुन सक्छ। त्यसैले खोपप्रति पूर्ण विश्वास नभएका मानिस मूर्ख वा अज्ञानी हुन् भन्ने धारणा आफैंमा अज्ञानी छ। 

(बीबीसी फ्युचरमा प्रकाशित यो लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले भावानुवाद गरेका हुन्।)

Logo