कोरोना महामारीको तेस्रो लहरका लागि कस्तो तयारी आवश्यक छ?: डा.सुवास प्याकुरेल

कोरोना महामारीको तेस्रो लहरका लागि कस्तो तयारी आवश्यक छ?: डा.सुवास प्याकुरेल


कोरोना संक्रमण बढेसँगै महामारीको तेस्रो लहरको सम्भावनाबारे स्वास्थ्य मन्त्रालयदेखि प्रधानमन्त्रीसम्मले चेतावनी दिँदै आएका छन्। उत्परिवर्तनबाट कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परे तेस्रो लहर सम्भावित पनि छ। 

कस्तो होला त तेस्रो लहर? अरू लहरभन्दा कसरी फरक हुन सक्छ? तयारी कस्तो गर्नुपर्ला? यस्ता प्रश्न तेस्रो लहरको चर्चा गर्दै गर्दा जायज छन्। साथै तिनको उत्तर तेस्रो लहरले पुर्याउन सक्ने क्षतिलाई न्यूनिकरण गर्न सहयोगी हुन सक्छन्। 

महामारीका पहिलो र दोस्रो लहरलाई अध्ययन गर्दा सम्भावित तेस्रो लहरबारे सरकारले चेतावनी दिनेबाहेक पनि केही तयारी गर्नु आवश्यक देखिएको छ। 

बालबालिकाको सुरक्षा
कोरोना महामारीको पहिलो लहरले अन्य उमेर समूहको तुलनामा वृद्धवृद्धलाई बढी असर गरेको पाइयो। त्यस्तै महामारीको दोस्रो लहरमा आएको ‘डेल्टा’ भेरियन्टले युवाहरूलाई बढी असर गरेको देखिएको छ। २० देखि ३० वर्षको उमेर समूहबाट दोस्रो लहरमा निधन हुने अधिकांश छन्। 

यसरी हेर्दा आउने लहरमा अझ कम उमेर समूहलाई कोरोना भाइरसले बढी असर गर्ने सम्भावना रहन्छ। १० देखि २० वर्ष उमेर समूह भाइरसको नयाँ ‘तार्गेट’ हुन सक्छन्। त्यसैले तेस्रो लहरको चर्चा गर्दैगर्दा बालबालिकालाई यसबाट बचाउन कस्तो तयारी गरिँदैछ भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ। 

भाइरसविरुद्धको खोप पत्ता लगाउन वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप वर्ष नबित्दै तयार भयो। यसरी आकस्मिकरूपमा तयार भएको खोप बालबालिकालाई जोगाउन लक्षित हुन सकेन। अहिले भने खोप अनुसन्धाता बालबालिकाका लागि पनि उपयुक्त हुने कोरोना खोप विकास गर्न लागेका छन्। 

तत्काल त्यस किसिमको खोप विकास होला वा नहोला, तर बालबालिकालाई संक्रमण हुनबाट जोगाउनु तेस्रो लहरको मुख्य आवश्यकता हुने प्रबल सम्भावना छ। अझ एकपछि अर्को लहरमा भाइरसको संक्रामकता र घातकता बढेको हेर्दा तेस्रो लहर कडैरूपमा प्रस्तुत हुन्छ भन्ने मान्यता राखेर तयारी गर्नुपर्ने देखिन्छ। 

स्थानिय सरकार परिचालन 
स्थानिय सरकार जनताबीच परिचित रहने भएकाले महामारीमा सबैभन्दा छिटो प्रतिक्रिया जनाउन सक्ने स्थानिय सरकार नै हो। महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा स्थानीय सरकार परिचालन फितलो भएको पाइयो। 

पहिलो लहरमा स्थानीय सरकारको तादरुकताका साथ ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएकोमा दोस्रो लहरमा त्यसलाई निरन्तरता दिएको देखिएन। तेस्रो लहरको तयारी गर्ने नै हो भने स्थानीय सरकारलाई ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि तयार गरौँ। अर्कोतर्फ स्थानीय तहमा भएका स्वास्थ्य संस्था त्यस मातहत रहेका मानिसहरूको सहज पहुँचमा हुने गर्छन्। महामारीका दुई लहर आइसक्दा पनि तिनको स्तरोन्नतिमा खासै ध्यान दिइएन। 

तेस्रो लहर सुरु नै भइसकेपछि त्यसबारे तयारी सुरु गरेर पार लाग्दैन। यसकुरामा अहिलेदेखि नै ध्यान दिनुपर्छ।    

(डा. प्याकुरेलसँग केन्द्रविन्दुका कुशल बस्नेतले गरेको कुराकानीमा आधारित)

Logo