घना बस्ती भएको काठमाडौंमा पर्याप्त पार्क खै ?

घना बस्ती भएको काठमाडौंमा पर्याप्त पार्क खै ?


मैले संसारका थोरै मात्र मुलुकको छोटो भ्रमण गर्ने अवसर पाएको छु । यस क्रममा युरोपका डेनमार्क र स्वीडेन देखेको छु । छिमेकी भारतको पनि केही क्षेत्रको भ्रमण गरेको छु । उत्तरको छिमेकी चीन र भियतनाम भ्रमणको पनि सामान्य अनुभव  छ । पछिल्लो समयको अनुभव भनेको अस्ट्रेलियाको हो ।  

यी  देश घुम्दा  हामी नेपाली र उनीहरुको जीवनशैलीलाई मैले तुलना गर्ने कोसिस गरेको छु । यी सबै देश हामीभन्दा निकै विकसित छन् । प्राविधिक ज्ञान, सीप र शिक्षामा अगाडि छन् । भौगोलिक बनोट, भौगोलिक अवस्थिति  हाम्रोभन्दा भिन्न छ ।  समुद्र जोडिएको हुँदा जीवनशैली हाम्रोभन्दा भिन्न हुनु स्वाभाविकै हो । भौगोलिक स्वरुप र प्राकृतिक सुन्दरताको दृष्टिकोणले हाम्रो देश नेपाल ती देशभन्दा पनि निकै सुन्दर छ । 

बाहिरी विभिन्न देशको भ्रमण गरिसकेका नेपालीको अनुभवमा र त्यहाँबाट नेपाल आउने विदेशी स्वयंले पनि नेपाललाई संसारकै सुन्दरतम् मुलुक भनेर प्रशंसा गरेकोबाट पनि यो तथ्य प्रमाणित हुन्छ । तर, प्रकृतिलाई प्रयोग गर्ने, आधुनिक मेसिन र औजारलाई काम लगाएर जीविकोपार्जन सहज बनाउने, आम्दानी बढाउने, मानव श्रम र सीपले कुँदेर सिंगो परिवेशलाई आकर्षक र चटक्क बनाउने  विषयमा भने हामीभन्दा उनीहरू कैयौं गुणा अगाडि रहेछन् । विकसित अधिकांश देशको मूल आकर्षण भनेको त्यहाँको सबै क्षेत्रको वैज्ञानिक व्यवस्थापन हो । त्यसमध्ये यहाँ अहिले प्रसंग उठाउन खोजेको विषय चाहिँ पब्लिक पार्कसम्बन्धी मात्र हो । 

ती देशलाई सुन्दर बनाउन यस्ता पार्कले असाध्यै ठूलो भूमिका खेलेका छन् । ठुल्ठूला सहरदेखि सामान्य गाउँघरमा समेत मनोरञ्जन स्थल, सार्वजनिक बगैंचा, पार्कहरू आवास क्षेत्रको अभिन्न अंगका रूपमा रहेका  छन् । जसले त्यस क्षेत्रको महत्व र सुन्दरतालाई कैयौं गुणा अभिवृद्धि गरेको छ । यस्ता पब्लिक पार्कहरुको उपादेयताबारे हामी नेपालीहरुको भने बिल्कुलै ज्ञान र ध्यान पुगेको  रहेनछ। 

फराकिला बाटा, झिलिमिलि पार्क र शोभायमान बगैंचाहरु र सरसफाइ नै ती देशहरुलाई सुन्दर, स्वस्थ्य  आकर्षक बनाउने मुख्य आधार स्तम्भ हुन् भन्दा पनि हुन्छ । पार्कबिनाको विकसित मुलुक कल्पना पनि गर्न सकिँदैन । अझ अस्ट्रेलियालाई त जंगलै जंगल, पार्क नै पार्क अनि बगैचै–बगैंचाको देशभन्दा पनि फरक पर्दैन  । त्यसो त क्षेत्रफलको तुलनात्मक आधारमा हेर्ने हो भने जंगलको दृष्टिकोणले नेपाल अस्ट्रेलियाभन्दा  समृद्ध छ । नेपालमा कूल भूभाग १४७,५१६ वर्ग किलोमिटरमा ४० प्रतिशतभन्दा माथि अर्थात् ५.५ मिलियन हेक्टरभन्दा बढी जमिन जंगलले ढाकेको छ । जबकि अस्ट्रेलियाको  जंगल १७ प्रतिशत भूभागमा मात्र सीमित छ  ।  

फराकिला बाटा, झिलिमिलि पार्क र शोभायमान बगैंचाहरु र सरसफाइ नै ती देशहरुलाई सुन्दर, स्वस्थ्य  आकर्षक बनाउने मुख्य आधार स्तम्भ हुन् भन्दा पनि हुन्छ । पार्कबिनाको विकसित मुलुक कल्पना पनि गर्न सकिँदैन । अझ अस्ट्रेलियालाई त जंगलै जंगल, पार्क नै पार्क अनि बगैचै–बगैंचाको देशभन्दा पनि फरक पर्दैन  ।

अर्को तर्फ हेर्ने हो भने  अस्ट्रेलियालाई  मरुभूमिको देश भन्दा पनि हुन्छ । हाम्रो देशभन्दा झन्डै ९ गुणा ठूलो भूभाग १३,७१००० वर्ग किलोमिटर क्षेत्रफल त मरुभूमिले नै ढाकेको छ । तर, यो अस्टे«लियाको कूल भूभागको १८ प्रतिशत मात्र भएको हुँदा यसले केही फरक पारेको छैन । हाम्रो समस्या कहाँनेर छ भने हरियाली र जंगल एकातिर छ, शहरबजार र बस्तीहरु रुख–बिरुवाविहीन मरुभूमि जस्ता बनेका छन्। जबकि उनीहरुका शहर बस्ती हरियालीपूर्ण छन् र मरुभूमि भएको  जमिनलाई पनि हराभरा बनाउने प्रयत्न निरन्तर जारी छ । उनीहरुको जहाँ जहाँ मानव बस्ती छ, सबैतिर पब्लिक पार्क र बगैचाको अनिवार्य व्यवस्था गरिएको छ । त्यहाँ सरकारी अनुमतिबिना रुखहरु काट्न पनि सख्त मनाही गरिएको छ ।

नेपालमा पनि देशको क्षेत्रफल अनुसार नेसनल पार्क, आरक्षण क्षेत्रहरु नभएका होइनन् । तर पब्लिक पार्कहरु भने एकदमै कम मात्रमा नगन्य नै छन् । काठमाडौंको उपत्यकाको स्थायी बासिन्दाको संख्या पच्चिस लाखभन्दा माथि पुगिसकेको छ । बाहिरबाट अस्थायी रुपमा बसोबास गर्नेहरुको समेत गणना गर्ने हो भने यहाँको जनसंख्या तीन गुणा ७०\७५ लाखभन्दा बढी भैसकेको छ । तर यस्तो घना बस्ती बीचमा एक दर्जन पनि पब्लिक पार्क छैनन् ।  

अस्ट्रेलियामा एउटा घरमा एक दुइ वटा रुख रोप्न अनिवार्य गरिएको छ  ।  बीच बजारका केही घरहरुलाई छाडेर अधिकांश बंगला र घरहरुमा राम्रा–राम्रा फलफूलहरुको बगैचा छ ।  सिड्नीको जनसंख्या ५३ लाख जति छ तर पब्लिक  पार्कहरुको संख्या अनगिन्ती रहेको छ । सिड्नी एक्लैमा मात्र चार सयभन्दा बढी पब्लिक  पार्कहरु छन् । कैयन् पार्कहरु हाम्रो काठमाडौंको टुँडिखेलभन्दा पनि ठुल्ठूला छन् । 

क्विन्स पार्क, सेंटेनियल पार्क, हाइड पार्क, बोटानिक पार्क आदिलाई यहाँका प्रसिद्ध पार्क मानिन्छ । जमिनको प्राकृतिकता जोगाउन, शहरको सुन्दरता बढाउन, स्वच्छ वातावरण कायम राख्न, आपतकालीन प्रयोगका लागि, अस्तव्यस्त शहरी जीवनबाट एकैछिन सुस्ताउन, फुर्सदिलो समयमा टहलिन, शारीरिक व्यायाम गर्न खेल्न, बच्चाहरुलाई घुमाउन अनि परिवार, साथीभाइ र आफन्तहरुसँग जमघट रमाइलो गर्न पार्कहरु अत्यन्त उपयुक्त स्थल हुन सक्छन्। त्यहाँ  बालबालिकाहरुका लागि विभिन्न किसिमका खेल सामग्री (पिङ्ग, सी स, स्लाइड, हाइड एन्ड सीक आदि) हुन्छन् भने बुढापाका र युवा वर्गका लागि  शारीरिक व्यायाम  गर्ने र खेल्ने  अनेकन सामग्री उपलब्ध छन् । सुस्ताउने ठाउँ सफा ट्वाइलेट हात धुने ठाउँ र  राम्रो पिउने  पानीको समेत व्यवस्था गरिएको हुँदा आफ्नै घरको जस्तै वातावरण हुन्छ । 

मलाई यतिबेला काठमाडौँका पूर्वमेयर अहिलेको प्रदेश सांसद् केशव स्थापितको त्यति बेलाको भनाइको सम्झना आउँछ । उनले काठमाडौँमा एउटासम्म पनि राम्रो पार्क भएन,  युवायुवती, प्रेमिल जोडीलाई एकान्त प्रेम गर्ने ठाउँ भएन, कुरा गर्ने घुमघाम भेटघाट गर्ने थलो  छैन भन्ने प्रसंग उठाउँदा धेरैले हस्सीमा उडाइएका थिए । वास्तवमै उनको यो भनाइमा  सत्यता रहेछ । 

मलाई यतिबेला मात्र खड्कँदै छ, यति बाक्लो बस्ती भएको काठमाडौँका शहरहरु असन, इन्द्रचोक, न्युरोड, बागबजार, क्षेत्रपाटी, ठमेल अनि ललितपुर र भक्तपुरका बाक्लो बस्तीहरुको आसपासमा मनोरञ्जन गर्ने भनेजस्तो पब्लिक पार्कहरु एउटा पनि रहेनछन् ।  पार्कहरुका लागि फराकिलो र उपयुक्त ठाउँ  काठमाडौंको टुँडिखेललाई पनि पहिलेदेखि सेना प्रहरीको परेड खेल्ने ठाउँ मात्र बनाएको रहेछ । अझ यो ठाउँलाई कतिपय समय फोहोरमैलाको डम्पिङ साइट पनि बनाइएको हुन्छ । कोही बेला मनपरी टहराहरु बनाएर भाडामा लगाउनेसमेत काम भएको देखिन्छ । धेरै समय यो ठाउँ बिना उपयोग त्यत्तिकै रहने गरेको छ ।

यी सबै स्थानलाई सुन्दर पब्लिक पार्क बनाउने अनि त्यसको मुनि अन्डरग्राउण्ड बस र गाडीहरुको पार्क बनाउने, भृकुटी मण्डपको बजारलाई त्यहाँबाट अन्यत्र सारेर  त्यसलाई सुन्दर पार्कको रुपमा विकास गर्ने हो भने मात्र काठमाडांैलाई अलि बस्न लायक र आधुनिक भानुभक्तको कान्तिपुरी नगरी जस्तो हुन सक्छ। अन्यथा यो अस्वस्थ्यकर र अझै अस्तव्यस्त हुँदै जाने देखिन्छ ।

त्यसो त अहिले काठमाडौ उपत्यकामा पब्लिक पार्कहरु विल्कुलै हुँदै नभएका चाहिँ होइनन् ।  उपत्यकाको डाँडा वरिपरि विशाल जंगल छ । काठमाडौ उपत्यकामा भएको पार्कको क्षेत्रफल ४,४८६ रोपनी छ । तर शहरको भित्री भागतिर भने पार्क भन्न योग्य सीमित क्षेत्र मात्र छन्, जुन हात्तीको मुखमा जिराजस्तै मात्र भएको छ । यत्रो मानव बस्ती विकास भएको ठाउँमा यसो नाम लिन मिल्ने झण्डै ८÷१० वटा मात्र पार्कहरु होलान् । यस्ता पार्कहरुमा भूगोल पार्क, रत्नपार्क, शंखपार्क, युएन पार्क, स्वीट्जरल्यान्ड पार्क, बालाजु पार्क, त्रिभुवन पार्क, नारायण चौर, शंखमुल पार्क, स्वयम्भु बुद्ध पार्क, मित्र पार्क आदि हुन् । कुनै कुनै त नाम मात्र पार्क रहेको छ । निजी क्षेत्रबाट सञ्चालित उपी ल्यान्ड, भ्याली फन पार्क, भृकुटी मण्डप आदि जस्ता केही फन पार्कहरु पनि रहेका छन् । तर, यी व्यावसायिक प्रयोजनको निमित्त भएको हुँदा यसबाट केही व्यक्तिले दाम कमाउलान्, आम सर्वसाधारणको जीवनमा भने कुनै तात्विक परिवर्तन आउँदैन । 

म यतिबेला काठमाडौँ उपत्यकाभरिका  सबै अस्तव्यस्त बहाल, पोखरीहरुको अवस्था सम्झन्छु। उपत्यकाभित्र झन्डै एक सय भन्दा बढी परम्परागत पोखरीहरु छन् भनिन्छ । यसमा काठमाडौमा १६, ललितपुरमा ३९ र भक्तपुर र साँखुमा क्रमश ४२ र ५ वटा रहेछन् । त्यसलाई समाज र राज्य  मिलेर कति राम्रा सुन्दर पोखरी सहितका  पार्कहरु बनाउन सकिन्थ्यो होला । कमल पोखरी, नाग पोखरी, गहना पोखरी भक्तपुरका, ललितपुर र काठमाडौंका  अनगिन्ती यस्ता हिटी र पोखरीहरुलाई कति सुन्दर बनाउन सकिन्थ्यो होला ।

काठमाडौं उपत्यकाभित्र बग्ने नदीहरु बागमती, विष्णुमती, मनहरा, इक्षुमती, रुद्रमती, बल्खु, हनुमन्ते लगायतका नदीहरुलाई व्यवस्थित बनाइ सफा गर्न सके र त्यसको दायाँबायाँ फूलको बगैंचा लगाउने हो भने काठमाडौ उपत्यकाको साँच्चै हेर्न लायक मात्र होइन, बस्न उपयोगी ठाउँ हुनेछ ।  जनतालाई आस्वस्त बनाउन सके शहरभित्र टाउको निहुराएर छिर्नुपर्ने अनगिन्ति पुराना टेको लगाएर अड्याइएका खण्डहर जस्ता घरहरुको ढेरलाई पनि मिलाएर सबैका लागि स्वस्थ्यकर आवास र त्यहाँ सुन्दर फराकिला पार्कहरुसमेत बनाउन सकिन्छ । 

दरबार हत्याकाण्डपछि खाली भएको नारायणहिटी सिंगो परिसरलाइ पुरा सुन्दर म्युजियम र पार्क बनाउन सकिन्छ ।  बालुवाटार र शितल निवासबाट प्रधानमन्त्री,  राष्ट्रपतिलगायत सबै विशिष्ट व्यक्तिहरुको आवास भवनहरु पनि चक्रपथबाहिर खुला स्थानमा स्थानान्तरण गर्न सके ती खाली स्थानमा भव्य पब्लिक पार्कहरु बनाउन सकिन्छ ।

अति विशिष्ट व्यक्तिहरूको बसोबास बाक्लो बस्ती बाहिर खुला ठाउँतिर व्यवस्थापन गर्न सक्दा सवारीबाट हुने बाटो जामको समस्या कम भएर जनसाधारणको दैनिक काममा समेत सहजता हुने थियो । यसले अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन हुन सक्थ्यो । टुँडिखेलसँगैको खुलामञ्चको उत्तरपट्टि केही भाग रत्नपार्कलाई छाडेर बाँकी  सैनिक मञ्चसम्म नै वीर अस्पतालसम्म विस्तार गरेर सुन्दर भव्यपार्क र त्यसैसँग जोडिएको शहर भित्रका लागि इमर्जेन्सी अस्पताल बनाउन सकिन्थ्यो । 

अरु नियमित र साधारण उपचारका लागि अस्पताल  चक्रपथबाहिर वा पहाडको फेदीतिर बनाउनु राम्रो हुन सक्छ । नेपाली सेनाको व्यवस्थापन शहरको भित्री भागबाट बालाजु, नागार्जुन, थानकोट, साँगा, दक्षिणकाली वा सुन्दरीजल आदि आवश्यक नाका–नाकामा राम्ररी म्यापिङ गरेर राखिनु राम्रो हुन्छ भन्ने लाग्छ । आर्मीको हेड क्वाटरलाई  शहरको बीच भागबाट हटाएर टुँडिखेल पूरै क्षेत्र दशरथ रंगशाला छेउसम्म नै पार्क बनाउँदा काठमाडौंको सुन्दरता दशौं गुणा वृद्धि हुन सक्छ । 

महाराजगन्ज प्रहरी तालिम केन्द्र हटाएर त्यस ठाउँमा प्रहरी अस्पताल र टिचिङ अस्पताललाई बिस्तार गरी  रानीबारीसम्म नै विशाल पार्कसहितको  अस्पताल बनाएमा काठमाडौं उपत्यका साँच्चैको सुन्दर उपत्यका हुन्छ  । सीमित जनसंख्या भएको र सीमित क्षेत्रमा बसोबास गरेको पुरानो समयका लागि गरिएको यो संरचनागत व्यवस्थामा समयअनुसार बृहत् परिवर्तन गर्न निकै ढिलो भैसकेको छ । काठमाडौं, भक्तपुर, ललितपुरजस्ता  मानव समुदायको बाक्लो बस्ती भएको शहरको बीच भागमा प्रहरी तालिम केन्द्र  वा सैनिक क्याम्पहरु  राख्नु  उपयुक्त हुँदैन । ती ठाउँहरुलाई खाली गराएर पब्लिक पार्क बनाउने हो भने शहरभित्रको  बाक्लो बस्तीको लागि मनोरञ्जन गर्न पर्याप्त खुला ठाउँ  हुन्छ ।  यसले शहरलाई अस्तव्यस्त बनाउनबाट पनि जोगाउन सकिन्छ । 

राम्ररी आर्किटेक्ट गर्ने हो भने नेपालका हरेक शहर र गाउँहरुका केन्द्रहरुमा व्यवस्थित आवास क्षेत्र, सबैले उपयोग गर्न मिल्ने गरी सुन्दर पार्क र मनोरन्जन स्थलहरु निर्माण गर्न सकिन्छ । अहिले त नेपालमा जननिर्वाचित  सरकार छ । स्थानीय सरकारहरु क्रियाशील छन् ।  विकास निर्माणको लागि  परस्पर प्रतिस्पर्धा पनि भैरहेको देखिन्छ । यतिबेला उनीहरुलाई गाउँ–शहरलाई कसरी सुरक्षित, स्वस्थ्य, सुन्दर र बस्न योग्य बनाउने भन्ने सही दृष्टिकोण, ज्ञान र सीप दिनु एकदमै महत्वको कुरा हुन सक्छ । 

महाराजगन्ज प्रहरी तालिम केन्द्र हटाएर त्यस ठाउँमा प्रहरी अस्पताल र टिचिङ अस्पताललाई बिस्तार गरी  रानीबारीसम्म नै विशाल पार्कसहितको  अस्पताल बनाएमा काठमाडौं उपत्यका साँच्चैको सुन्दर उपत्यका हुन्छ  । सीमित जनसंख्या भएको र सीमित क्षेत्रमा बसोबास गरेको पुरानो समयका लागि गरिएको यो संरचनागत व्यवस्थामा समयअनुसार बृहत् परिवर्तन गर्न निकै ढिलो भैसकेको छ ।

विकास भनेको परम्परा, विश्वास, चाहना र अभ्यास सँगसँगै हिँड्ने कुरा पनि हो, सपना नदेखी विपनामा सम्भव हुने कुरा पनि होइन । यो दुई–चार जनाले चाहेर मात्र तुरुन्तै अगाडि ल्याउन पनि सहज छैन । राजनीतिक नेतृत्वले चाहिं बुझ्यो भने जनतालाई बुझाउन र सजिलै  अगाडि बढाउन सक्छ । नयाँ सुबिधायुक्त सीप, शैली, ज्ञान र प्रबिधि थाहा नपाउन्जेल मान्छेलाई आफूले गरिरहेका सबै किसिमका काम, अभ्यास र अप्ठ्यारा पनि सहज, स्वाभाविक  र प्राकृतिक जस्तो भैराखेको हुन्छ ।
 
युगौंदेखि यातायातको सुविधा नभएका ठाउँका मान्छेले त्यहाँ गाडीको असुविधा  महसुस गरिरहेकै  हुँदैन र तीन दिनको बाटो पनि सहजसाथ पिठ्युमा  भारी बोकेर भिर, पाखा, उकाली ओराली  पैदल यात्रा रमाइ–रमाइ गरिरहेको हुन्छ । बिजुली नभएको युगमा आगो बालेर अगुल्टो हल्लाएर, राँको र दियालो बालेर पनि अन्धकार हटाउने प्रयास हुन्थ्यो । तर, वर्षौंदेखि यातायात सुविधा उपभोग गरिरहेको मान्छेले पाँच मिनेट मात्र पनि कुनै कारणवश सम्म बाटो र सजिलो  ठाउँमा  पैदल हिँड्नुपर्यो भने वा बिजुलीको उज्यालोमा बाँच्ने बानी परेको मान्छे एकछिन अन्धकारमा बस्नुपर्यो भने  उसका लागि जीवनको बिर्सी नसक्नु घटना हुन जान्छ । पार्कसहितको जीवन बाँचेकाहरु र पार्कबिनाको जीवन बाँचेकाहरुबीच यस्तै किसिमको भिन्नता बोध हुन सक्छ । 

पार्कको महत्व जब ब्यूँझिन्छ र पार्कको सुविधा जुन दिन उपभोग गरिन्छ तब थाहा हुनेछ हामी कस्तो युगमा बाँचिरहेका रहेछौं । जुन दिन हामी विकासलाई जीवन,  जमिन, सिँगो प्रकृति र वातावरणसँग जोडेर बुझ्दछौं,  त्यसदिन धेरै कुरा सुधार गर्न सजिलो हुने छ । तर, हामी ब्यूँझिन जति ढिलो गर्छौं, हाम्रो विकास पनि त्यति नै अप्ठ्यारा अनगिन्ती गाँठा परेर जेलिने छ र यसलाई संग्ल्याउन समाज र देशले त्यति नै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । उदाहरण खोज्न अन्त जानु पर्दैन, पछिल्लो समय उपत्यकाभित्र बढेको अस्तव्यस्त बसोबास संग्ल्याउन अरु दुई–चार शताब्दी लाग्न सक्छ ।
[email protected]

Logo