११ असोज २०७८ सोमबार

थारू बठिन्या (युवती) का नायक श्रीकृष्ण (भिडियोसहित)

कृष्ण अर्थात् कान्हा थारू समुदायका लागि यस्ता पात्र हुन्, जसको चित्र बनाएर, उनको गाथाको गीत गाएर, नाचेर मनाइन्छ। अष्टिम्की अर्थात् कृष्णजन्माष्टमीमा गीत गाउँदै विभिन्न अनुष्ठानका साथ कान्हाको विशेष पूजा हुन्छ। भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको बर्णन हुन्छ। अष्टिम्की काव्यमा पनि सृष्टिको बर्णन पाइन्छ। 

    पहिले टे सिरिजल जलठल ढरटि
    सिरिजे टे गइल हो कुस कइ डाभ । 

अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो। त्यही बिरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखबिरूवा भए, जंगल बन्यो। जसरी हिन्दु परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसैगरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ। सोही सृष्टिकथा पनि अष्टिम्कीमा चित्रित हुन्छ । थारू लोककाब्य अनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ । यहाँ अष्टिम्की काव्यको अन्य विशेषता वर्णन गरिन्छ। 

अष्टिम्की काव्यमा थारूकरण 

अष्टिम्की काव्यमा कान्हाले खेलेको, कुदेको ठाउँको बर्णन यसरी गरिएको छ कि मानौ कान्हा, राधाहरू पनि थारू समुदायकै नै हुन् । हलो बनाउने काठ लिन बन गएको, हलो बनाई सकेपछि कान्हाका बाबु इशरू आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ । यहाँ कृष्णकी आमा जसलाई जासु (यशोदा) भनिएको छ । उनले बिहानको खाना (कलवा) बनाउन बनाउँछिन् । खेती गर्दा खेतमै खाजा खानु थारूहरूको दिनचर्या हुन्छ। डेलवामा राखेर खेतमै खाना पुर्याउन जासु गएकी छन्। 

भिडियाे

जासु गर्भवती भएपछि इसरू आफै डंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ । सुडेनीले जासुको प्रसुती गराउदा कुशल नर्सझै जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई प्रसुती सेवा दिइएको प्रसंग छ । थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुती गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ। थारू समाजमा आफै न्वारान गर्ने चलन भएपनि अष्टिम्कीमा सुडेनीले नाम राख्न जैसी बोलाउन पठाएको प्रसंग छ। जैसीले कृष्णको नाम ‘कन्हैया बीर’ राखेका छन्। 

यस काब्यमा कृष्ण बस्ने घर थारू जातिमा प्रचलित परम्परागत घर जस्तै छ । कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ । ससाना ग्वालाहरू शुरूमा भेडा बाख्रा चराउन जान्छन् । सख्यामा कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ। थारूहरूको भोजनमा माछा, मासु प्रिय हुन्छ । श्रीकृष्णको आमाले बनाएको भोजनबारे यस्तो बर्णन छ: 
    
    झलरि मकुनियाके भटवा बनाए
    उरुडा, मुँगियाके डलवा बनाए
    रोहुवा भगेनवाके मुरिया निढाए
    घुटरु परेउनाके मसवा निढाए ।

    
अर्थात् झलरि मकुनिया धानको भात, उर्द, मुँगको दाल, रोहु माछाको टाउको र परेवाको मासु उनले पकाउन थालिन् । त्यसबाहेक सागपात, घीउले झानेको दाल, खानलाई सुनकै थालमा भात, सुनकै कटोरामा तरकारी पस्केर दिएका आदिको बर्णन पनि छ।

कृष्णको बाँसुरीको धुनले बनका जीवजन्तु, पशुपंक्षीसमेत मोहित हुन्छन् भने बठिन्या (युवती) हरू झन मोहित नहुने कुरै भएन। कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन्, तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्– 

बसिया र सुननु हो सासु, सुनटि सुहावन रि
सखि र ! बसिया बजुइया भैया कौन रुप बा।

अर्थात बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने बाँसुरी बजाउनेको रूप झन कस्तो पो होला ? उनी बाँसुरी बजाउनेको रुप हेर्न आतुर हुन्छिन्।

अष्टिम्की कला
कृष्णजन्माष्टमीमा थारूहरूका घर घरमा अष्टिम्की कला घरको भित्तामा बनाएको पाइन्छ, जसमा सृष्टिकथालाई प्रमुखता दिनुका साथै कृष्ण चरित्रबारेका कलाले ठाउँ पाएका हुन्छन् । जस्तो चित्रको शीर्ष भागमा कृष्णले बाँसुरी बजाउँदै गएको चित्र हुन्छ । त्यस्तै चारकुने आकारमा छुट्टै बनको छुट्टै चित्र हुन्छ । कजरीक् बन्वा भनिने यही बन वृन्दावन हुनुपर्छ । कृष्णले आफ्ना प्रेमिकाहरूलाई दिने प्रेमका प्रतीकका रूपमा फूलको चित्रले स्थान पाएको हुन्छ। 

पूजा गर्दा युवतीहरूको माग कान्हाजस्तो मायालु पति पाऊँ भन्ने हुन्छ। युवतीहरूले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ। आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरू तँछाडमछाड गर्छन्।      

सख्या गीतमा जासुले रैनी मछरिया पकाएको प्रसंग आउँछ। अष्टिम्की काव्यमा वर्णित रैनी माछा एक अद्भूत माछा हो, जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ। सृष्टिकर्ता गुर्बाबाले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल, स्थल बनाए । र, पृथ्वीमा मत्स्य अवतारको रूपमा रैनी माछाको जन्म भयो। अष्टिम्की चित्रमा पनि यसको चित्र बनाउने गरिएको छ। ईसरुको भोजनमा रैनी माछाको परिकार पाकेको छ । यसैको विम्व अष्टिम्की चित्रमा माछाले स्थान पाएको छ।

अष्टिम्की काव्यमा सृष्टिको सिर्जनापछि ईसरु हलोको लागि काठ काट्न गएका छन् । वनबाटै हलोको लागि चाहिने सबै सरसमान पनि तयार पारेर ल्याएका छन् । हलो तयार भएपछि बसाहा र सिलाहा सेडुर गोरु लिएर खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको बिम्बको रूपमा हलो जोत्दै गरेको हलीले अष्टिम्की चित्रमा स्थान पाएको छ । यसरी खेतीपाती मूल पेशा अपनाएका थारूहरू द्वापर युगमै कान्हा परिवारलाई पनि खेतीपातीको काममा होमेका छन्। 

कृष्ण आफ्ना गाई–गोरु चराउन लैजाने बृन्दावन होस् या बारी फुलवार जाँदा बाटोमा छिचोलेका बनजंगल हुन्, त्यसलाई ‘कजरिक बन्वा’ को प्रतीकको रूपमा चित्र बनाइन्छ । कृष्णले आफ्नो मुरलीको धूनले चरा–चुरुङ्गी, जनावर सबैलाई मोहित बनाउने हैसियत राख्थे । अष्टिम्की काव्यमा कोइली, ढुकुर तथा गरुड चरासँग कृष्णको वार्तालाप भएको प्रसंग छ। अष्टिम्की चित्रमा मयूरको चित्रले ती सबै चराको प्रतिनिधित्व गर्दछ। 

डुङ्गा शयर प्रेमलाई उत्कर्षमा पुर्याउने साधनको रूपमा मानिन्छ। अष्टिम्की/सखिया काव्यमा राधा दही बेच्न जाँदा होस् या फर्किदा कान्हाले डुङ्गा तारेर सहयोग गर्छन् । कान्हालाई डुङ्गा बनाउने तरीका राधाले नै बताएकी छिन्। तर डुङ्गा तार्दा होस् या दहीको भाँडा उचाल्दा कान्हाले राधासंग रसरंगमा सहभागी हुनुपर्ने बाध्यता तेर्स्याउँछन् । यसरी कान्हाले राधासँगको प्रेम बिटुल्याएका छन् । 

सोह्र सय गोपिनी नुहाउने ठाउँ जहाँ सुन्दर कमलका फुलहरू पनि थिए । फुलसँगै कञ्चन पानी, त्यही पानीमा गोपिनीहरू नुहाउन मस्त हुन्थे। त्यसैबला कृष्ण उनीहरूको कपडा लुकाएर आनन्द लिने गर्थे । लाज ढाक्न त्यही कमलको पात प्रयोग गर्ने भएकोले त्यसैको प्रतीकको रूपमा पुरैनिक पटिया (कमलको पात) चित्रमा बनाइन्छ।

श्रीकृष्णले महाभारतको युद्धमा पाँच पाण्डवहरूलाई सघाएको प्रसंग गीतामा छ। यस चित्रमा पाँच पाण्डवले पनि स्थान पाएका छन् । हुँदा हुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्रकलामा अचम्म लाग्दो गरी स्थान पाएको देखिन्छ। बाह्र टाउके रावणलाई बरमुरुवा भनिन्छ । तर पूजा गर्दा सिन्दुर टीका रावणको चित्रमा लगाइदैन। बरमुरुवाकोमा झुक्किएर सिन्दुर टीका लगाइए टीका लगाउने युवतीका छोराछोरी रुन्चे हुने भनाई छ। 

यीबाहेक डुंगा, डोली, सूर्य, चन्द्रमा, लगायतको चित्र पनि अष्टिम्की कलामा देख्न पाइन्छ । डोलीभित्र बनाइएको एक चित्रमा एक ब्यक्तिको टाउको अपूर्ण छोडिएको हुन्छ । बिहान पूजा गर्ने बेला चिचिन्डो काटेर त्यसैलाई अपूर्ण मानव चित्रको टाउको बनाइन्छ । यसले रातभरिमा कृष्णले पूर्ण जीवन पाएको मिथक छ । 

मूल चित्र बनाउने व्यक्ति निराहार बस्नुपर्छ । त्यसबाहेक अर्को छुट्की (सानो) अष्टिम्की चित्रमा स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन्, उनीहरू निराहार बस्नु पर्दैन । छुट्की अष्टिम्की चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणको लागि राम्रो माध्यम भएको छ। 

निराहर व्रत बसेका डंगौरा मूलका युवतीहरू बेलुकी अष्टिम्की चित्र बनाएको घरमा पूजा गर्न जाँदा सेतो गुन्यु, रातो चोलो पहिरेका हु्न्छन् । चुल्ठोमा झोबन्ना, रिबन, कसैले घुन्यासरको फूल सिउँरेका हुन्छन्। सम्पन्नहरूले निधारमा सुनको टिकुली, कानमा चाँदी वा गिलटको झिमल्या, गर्दनमा सुट्या, माला, गटैया, रातो हरियो पहेँलो पोते, पाखुरामा बाँक, बिजायठ लगाएका हुन्छन् । नाडीमा कसैले लाहाको कसैले काँचको चुरा, औंलामा एकबिटे या दुईबिटे खप्टाको औँठी, खुट्टामा पायल, खुट्टाको औँलामा भिछिया लगाएका हुन्छन् । यी गहनाको झञ्कारले नै धेरैलाई लठ्ठ पार्छ। 

पूजा गर्दा युवतीहरूको माग कान्हा जस्तो मायालु पति पाऊँ भन्ने हुन्छ । अझ युवतीहरूले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ । आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरू तँछाड मछाड गर्छन् । पूजा गर्न लगिएको फलको भेट्नो भने थालमा सुरक्षित साथ राखी  दिनुपर्छ ।

पूजा सम्पन्न भएपछि श्रीकृष्णको गाथा समेटिएको अस्टिम्किक् गीत रातभरि गाइन्छ । पहिलो रात नसकिए अर्काे रात पूरा गर्नुपर्छ, अधुरो छोड्न पाँइदैन।

विहान नजिकको खोला, नदीमा अष्टिम्कीको पूजा सामग्री सेलाउन गाउँभरिका युवतीहरू भेला हुन्छन् । उनीहरूको सामूहिक स्नानले राधा आफ्ना सखीहरूसँग जलविहार गरेको झझल्को दिलाउँछ । तर उनीहरूको चीरहरण गर्न त्यहाँ कुनै थारू कान्हा प्रकट भने हुँदैन । थारू लोकराधाहरू कान्हाजस्तो पति पाउन ब्रत बसे पनि राधाजस्तो पत्नी पाउन कुनै थारू लोककान्हा अर्थात युवाहरू ब्रत बसेको पाइँदैन । यसरी थारू लोकसाहित्य, लोकसंगीत र अष्टिम्की लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ ।

प्रेमको उत्कर्ष विवाह हो । अन्य ग्रन्थमा राधा कान्हाको विशुद्ध प्रेमिकाको रूपमा चर्चा गरिए पनि थारूहरूको अष्टिम्की काव्यमा कान्हा र राधा शंख बजिरहेको पृष्ठभूमिमा पिपलको परिक्रमा गर्दै वैवाहिक बन्धनमा बाँधिएका छन् । यसरी कान्हा–राधाको प्रेमकथा संयोगान्तमा टुंगिएको छ ।

(लेखकले थारू संस्कृति र कृष्ण चरित्र परम्पराबारे नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।)

संस्कृति/सम्पदा

प्रकाशित: १४ भदौ २०७८ १२:१६ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी