आजदेखि दशैं सुरू: के छन् दशैंका माैलिक र सांस्कृतिक पक्षहरू?

आजदेखि दशैं सुरू: के छन् दशैंका माैलिक र सांस्कृतिक पक्षहरू?


हिन्दू धर्मसँग सयौं पर्व र संस्कृतिहरू जोडिएर आउँछन्। सबैको आआफ्नै महत्व र विशेषता छन्। जसमध्ये एक हो दशैं। हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड हो यो। दशैं आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइन्छ। यी १५ दिन सबैको फरक फरक विशेषताहरू छन्।

विशेषगरि दशैंसँग हाम्रो मौलिक पक्ष, धार्मिक पक्ष र साँस्कृतिक पक्ष जोडिएर आउँछन् । महिषासुर राक्षसको वध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्यहरू चण्ड–मुण्ड। रक्तबीज तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा दशैं मनाउने गरिएको मान्यता छ । के छन् त दशैंका भित्री कुरा ? यसपटक हामीले यसलाई खोतल्ने प्रयास गरेका छौं ।

दशैंको साँस्कृतिक पक्ष

दशैं वा बडा दशैं (दशहरा, विजयादशमी, नवरात्र) पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैं हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी मनाउँछन् ।

दशौं दिन बिहान आफूभन्दा ठूला मान्यजनको हातबाट टीकाप्रसाद ग्रहण गरेर (विशेष रूपमा पूर्णिमासम्म प्रसाद ग्रहणका लागि) मनाउने गरिन्छ । घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्रविधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै दुर्गासप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ।

हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो। दशैंले दश प्रकारका पापहरू (काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी) त्याग्ने प्रेरणा दिने विश्वास गरिन्छ।

दशैंका महत्वपूर्ण दिनहरू

घटस्थापना

भागवत महापुराणअनुसार मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजययात्रा गरेर रावणमाथि विजय प्राप्त गरेका थिए। त्यहाँ आश्विन शुक्ल पक्षको नौ अहोरात्रलाई नवरात्र व्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवीदेवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन नमिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि दशैंको नवरात्र आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः कालमा मात्र यो व्रत समापन हुन्छ। यसै दिन जमरा राखिन्छ। यस दिन घट (कलश) को स्थापना गरी देवीदेवतालाई आह्वान गरिन्छ।

घटस्थापनाका दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवाअथवा पञ्चमाटो ल्याई दसैँ घर वापूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ। जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको हो।

महासप्तमी (फूलपाती)

नवरात्रको सातौं दिनलाई फूलपाती भनिन्छ । दशैंमा यो दिनको महत्व अधिक रहेको छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभो, अनार, अदुवाको बोट, कचु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन राजधानीको टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पूजा गरी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।

यी नौ पातमा क्रमशः ब्रह्मायणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आह्वान गरेर सोह्र सामग्रीले पूजिन्छ । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ।

महाष्टमी

नवरात्रको आठौं दिन महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ। देवीभागवतअनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली वीरभद्रका साथ भद्रकाली अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ। पूजापश्चात यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन मात्र सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यति नै बोका बलि दिइन्छ। त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पूजाआजाका साथै राँगा, बोकाको बलि पनि चढाइन्छ। यसै दिन सुदूूरपश्चिमको प्रमुख शक्तिपीठ निङ्गलाशैनी मन्दिरमा लगभग १ हजार ३ सय राँगो र ४ सयवटा बोकाको बलि चढाइन्छ।

महानवमी

नवरात्रको नवौ दिनविशेष गरी सिद्धिदात्री देवीको पूजाआजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधन आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।

बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागि दिनु। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन्। विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ। नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो। कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ।

यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ। त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊँ अर्थात त्यागौं भन्ने शास्त्रीय मान्यता दशैंको छ। तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थालेपछि दशैंमा बलिको शुरुवात भएको हो।

विजयादशमी

नवरात्रको दशौ दिनलाई विजयादशमी भनिन्छ। कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन् तर विजयनाम गरेको योग नै सबै कार्यकानिम्ति सिद्धिदायक हुन्छ। यस सम्बन्धमा श्रीमद्देवीभागवत भन्छ–‘नवरात्रमा नवरात्रपर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभ साइतमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजया दशमी भनिएको हो।’ यस दिन आफूभन्दा ठूला र मान्यजनका हातबाट टीका तथा प्रसाद ग्रहण गरिन्छ। नातासम्बन्ध स्थायी राख्न र आशीर्वाद ग्रहण गर्नका लागि मामाघर, ससुराली आदिमा गइन्छ। टीका लगाउने चलन ५ दिनसम्म रहन्छ । कतै कतै एकै दिनमा दशैंको टीका सक्ने गरिएको पनि पाइन्छ।

टीका लाउँदा दिने आशिष (पुरुषहरूका लागि)

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्चपवने मानञ्च दुर्योधने ।
शैर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्चनारायणे ।

महिलाहरूका लागि दशैंको आशिष

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
जयत्वं देवी चामुण्डे जयभूतार्तिहारिणि ।
जय सर्वगते देविकालरात्रिनमोऽस्तु ते ।।

कोजाग्रत पूर्णिमा

दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गर्दछन् । यसरी १५ दिन सम्म मनाइदैं दशैंको समापन गरिन्छ ।

भारतका विभिन्न प्रदेशहरूमा दशैं

विजया दशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवै रूपमा यो शक्तिपूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्षोल्लास तथा विजयको पर्व हो। संसारका कुनाकुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ। सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजयादशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै दशैं मनाउने अन्य स्थानहरूमध्ये पश्चिम बङ्गालका उत्तरी जिल्लाहरू (जसमा दार्जीलिङ्ग, जलपाईगुडी पर्छन्) छन्।

भारतका उत्तरपूर्वी नेपाली बसेका राज्यहरू मेघालय, आसाम, अरुणाचल प्रदेश, नागालैंड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदि स्थानमा पनि दशैं मनाइन्छ । यस्तै भूटान र म्यानमार लगायत विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्दछन् त्यहाँ त्यहाँ दशैं मनाइन्छ।

Logo