३ कात्तिक २०७८ बुधबार
गुलरियाको पौराणिक मातंगी टोल

माता दूर्गाको आशीर्वादले जन्मिएकी मातंगी देवी

बर्दियाको गुलरिया नगरपालिका–५ मा एउटा मतंगा नामक् गाउँ (हालः टोल) छ। २०२१ सालको भूमि सुधारभन्दा पहिले यो मतंगा पदनाहा तप्पा अन्तर्गतको एउटा मौजा थियो। मौजामा एकभन्दा बढी गाउँहरु पनि हुन्थे। तर मतंगा मौजामा एउटै गाउँ थियो। 

एक सय एघार बर्ष अघि बिसं १९६७ सालमा बर्दियामा पहिलो नापी हुँदा यस मतंगा मौजाको सीमा पूर्वमा भादा खोलाको जङ्गल, पश्चिममा भगाहा ताल (हालको कृष्णसार ताल), उत्तरमा सुहेलवा तथा दक्षिणमा कोठिया र गुलरिया मौजाहरु रहेका थिए। 

त्यतिबेला यो मतंगा मौजाको क्षेत्रफल ८० कित्तामा ३ बिगहा थियो। यस मौजाभित्र २७ घरधुरीहरु थिए। जसमा धोबी, अहिर, खटिक, भुजी, मुसलमान, नाउ, साहु, मिसर, मुरलीधर पण्डित जातिका मानिसहरुको बसोबास थियो । त्यतिवेला यस मौजाका जमिनदार थिए, नवाब बाबु साब अली खान। यी जमिन्दार बर्दियाको त्यतिबेलाको सबैभन्दा ठूला जमिन्दार थिए, पछिल्ला जमिन्दार हरिहर गौतमभन्दा पनि ठूला थिए ।

मातंगी मन्दिर 

मतंगा टोलमा अहिले एउटा सानो परिसर सहितको मातंगी मन्दिर छ र मन्दिरको पूर्वपट्टि एउटा मातंगी कुवा पनि छ। यो कुवा अहिले सडक विस्तारको कारण मातंगी परिसरबाट बाहिर सडकको पश्चिम छेउमा परेको छ। 

करिब १८/१९ बर्ष अघिसम्म मतंगा टोलमा मातंगी देवीको न कुनै मन्दिर थियो, न कुनै प्रतिमा थियो। त्यहाँ मात्र थियो केवल त्यो मातंगी कुवा। त्यही कुवामा परम्परादेखि आसपासका गाउँलेहरुको अटुट आस्था, श्रध्दा र भक्तिले निरन्तरता पाउँदै आएको थियो। त्यसै कुवामा माता मातंगी कल्याणमयी रुपमा रहेकी आम जनविश्वास रहदै आएकोमा १७ बर्ष अघि स्थानीय भक्तजनहरुको सत्प्रयासबाट त्यहाँ मातंगी भगवतीको एउटा सानो मन्दिरको निर्माण र मन्दिर गर्भगृहमा मातंगी भगवतीको प्रतिमा प्रतिष्ठापन भएको थियो। त्यतिबेलासम्म परम्परादेखि कुवाको होचो पर्खाल रहदै आएकोमा त्यसैबेला कुँवाको पर्खाल उचालिएको हो।

कुवाको सत

परम्परादेखि स्थानीय गाउँलेहरु पहिले पहिले कुनै पनि रोग दुःख विराम पर्दा विरामीलाई त्यसै मातंगी कुवाको जलले स्नान र जल सेवन गर्ने गराउने गर्दथे, यसले सञ्चो भएको अनुभूति गर्दथे। 

पहिले कुवाको पर्खाल होचो भएको कारण त्यस कुवामा कैयौं बालबालिकाहरु खस्थे। तर तिनीहरु कसैको पनि मृत्यु हुदैनथ्यो, चाहे बर्षातको बेला कुँवा पानीले जतिसुकै टम्म भरिएको किन नहोस्।

यो स्थानीय जनआस्था, विश्वास, श्रध्दा र भक्ति के कारणले र कहिलेदेखि शुरु भयो कसैलाई थाहा छैन। तर परापूर्वकालदेखि यो चल्दै आएकोमा अब यो कुवाबाट मन्दिर स्थानान्तरित भएको छ। जे होस्, मातंगीप्रतिको जन आस्था र भक्ति भावनाले निरन्तरता पाएको छ। मतंगा टोलको मातंगीको अध्ययन र चिन्तन मनन गर्दा यो पौराणिक कालदेखि रहेको भान हुन्छ।

मातंग ऋषिको आश्रम

मलाई बगनाहका एक दुई जना धर्म संस्कृति अनुरागी विद्वत्जनहरुले भनेका छन्, प्राचीन कालमा बबई ब्यारेजको समिपस्थ उत्तरको परेवा ओडारमा बरद ऋषि र गुलरियाको आसपासमै कतै मतंग (मातंग) ऋषिको आश्रम थियो रे। यो कुरा उहाँ वा उहाँका पूर्वजहरुलाई काठमाडौंको त्रिपुरेश्वरको कालमोचनघाटमा साधनारत कुनै साधु महात्माले बताएका थिए रे। उनले त यो पनि भनेका थिए रे कि बर्दिया जिल्लाको नाम बर्दु वा बर्दिवाबाट नभई बरद ऋषिको नामबाटै नामकरण भएको हो रे।

मलाई यो जानकारी गराउनेमध्येका एक जना नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाका पूर्व सभापति स्वर्गीय प्रमोद बिक्रम राणा हुन्।

को हुन् मतंग ऋषि ?

मतंग ऋषि रामायणकालीन एकजना महातस्वी, योगी, त्यागी, वितरागी एवं सिध्द महात्मा हुन्। उनी हजारौं बर्षसम्म समाधिमा रहन्थे। उनी एउटी ब्राह्मणीको गर्भबाट उत्पन्न एक जना नापितको पुत्र थिए। यिनले ब्राह्मणत्व प्राप्त गर्न घोर तप गरेका थिए। ईन्द्रको वरदानले यी मतंग वा मातंग ऋषि ‘छन्दोदेव’को नामले पनि प्रसिध्द छन्। 

यिनी रामभक्त बृध्द महिला शबरीको पनि गुरु हुन्। मतंग भगवान शिवको नाम पनि हो। साथै एक मान्यताका अनुसार सूर्य र नारदको अलावा ऋषि मातंग पनि हनुमानजीको गुरु थिए। 

ब्रह्माण्ड पुराण ४।३१।९०, वायु पुराण ७७।९८, महाभारत, अनुशासन पर्व २७।८।२४ र वाल्मीकीय रामायण, अरण्य पर्वको सर्ग ७३(७४ मा यसको उल्लेख छ। साथै महाकवि तुलसीदासको रामचरितमानसमा पनि उल्लेख छ।

मातंगी भगवती

मातंग ऋषिको आश्रममा माता दूर्गाको आशीरवादले जुन कन्याको जन्म भएको थियो, तिनी मातंगी देवी थिइन्। दश महाविद्याहरुमध्ये नवौं महाविद्यालाई मातंगी देवी मानिन्छ। 

मातंगी देवीको आराधना बौध्द धर्ममा पनि ‘मातागिरि’को रुपमा गरिन्छ। यो कुरा बोधीसत्व मातंग जातक् कथामा उल्लेख छ।

ब्लग संस्कृति/सम्पदा

प्रकाशित: २७ असोज २०७८ १३:५१ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी