१८ असार २०७९ शनिबार
1
1
1
1
सन्दर्भ कांग्रेस महाधिवेशन

महाधिवेशन विशेषः कांग्रेसका दिवंगत यी नेता, जसको अभाव पार्टीमा सधैं रहनेछ

1
1
1
1

हरेक राजनीतिक पार्टीका आआफ्नै इतिहास छन् । नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो । स्थापनादेखि अहिले सम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली कांग्रेस नै हो । आफू सत्तामा रहँदा कांग्रेसले के गर्न सक्यो वा सकेन त्यो इतिहास साक्षी छ । जतिबेला कांग्रेसको जन्म भयो, आजका दिनसम्म आइपुग्दा धेरैले नेतृत्व पनि गरे । ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त ? अनि आजको कांग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त ? आज हामी कांग्रेसका ती दिवंगत नेतृत्वहरुलाई सम्झँदै छौं। जसको कांग्रेसमा अझै अभाव छ। र रहन्छ सधैं सधैं। को हुन् त ती नेतृत्वहरु , हेरौं यो रिपोर्टमा 

सुर्वणशमशेर
सुवर्ण सम्शेर राणा नेपालका २०औं प्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासनविरूद्धको आन्दोलनमा व्यापकरूपमा लागेका थिए। यिनी नेपाली कांग्रेसको कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी. पी. कोइराला नजरबन्दमा हुँदा कार्यवाहक सभापति बनेका थिए। यिनी नेपालका विद्वान राजनीतिज्ञ कहलाउँछन्।

२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो ।

२००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपाल जस्तो मुलुकमा राणा शासन फाल्ने सशस्त्र संघर्ष मात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म बी.पी. कोइराला पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमति पश्चात पार्टी एकीकरण भयो र एकीकृत पार्टीको नाम नेपाली कांग्रेस बनेपछि सुवर्ण कोषाध्यक्ष बने ।

२०१२ माघमा वीरगन्जमा सम्पन्न महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित गर्‍यो। यो महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गर्‍यो। त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए।

गणेशमान सिंह
गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणाशासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रबास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो । 

विसं. २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ०३९ सालमा बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायतबिरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । पार्टीभित्र कुनै पनि पदको लोभ नभएका निडर र हक्की स्वभावले गणेशमान सधैं सबैका प्रिय बने । जीवनको उतरार्धतिर उनी पार्टीबाट केही असन्तुष्ट रहँदै पार्टीका कुनै पनि भूमिकामा रहन चाहेनन् । उनको निधन ०५४ असोज २ गते भएको थियो । उनका छोरा प्रकाशमान सिंह अहिले नेपाली कांग्रेसमा उपसभापति छन् ।

विश्वेश्वरप्रसाद कोइराला
विश्वेश्वरप्रसाद कोइरालाको जन्म विसं १९७१ भदौ २४ मा भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् उनी । नेपाली राजनीतिज्ञ तथा साहित्यकार पनि थिए उनी । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, विसं २०१५ मा नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । 

विश्वेश्वरप्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई इ.सं. १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद ग¥यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजीक रहेका थिए । इ.सं. १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना ग¥यो । त्यहाँबाट छुटेपछि उनले इ.सं. १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । इ.सं. १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे । अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने । नेपाली साहित्यमा दर्जन भन्दा बढी कृति दिएका कोइरालाको मृत्यु २०३९ साउन ६ गते भयो ।

कृष्णप्रसाद भट्टराई 
कृष्णप्रसाद भट्टराई नेपालका २९ औं प्रधानमन्त्री हुन् । उनको जन्म जन्म विसं.१९८१ पौष ०८ गते भएको थियो । कृष्णप्रसाद भट्टराईको राजनीतिक नाम किशुनजी हो । नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका पहिलो प्रधानमन्त्री थिए, उनी । भट्टराई वि.सं. २००३ सालमा नेपाली काँग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए । यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं.२०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।

उनी विसं.२०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व यिनले सफलतापूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौंबाटै पराजित भए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ । आजीवन नेपाली काँग्रेसमै रहेर राजनीतिमा होमिएका उनको मृत्यु २०६७ फागुन २० गते भएको थियो । कांग्रेसमा उनको अभाव अहिले पनि उत्तिकै छ ।

गिरिजाप्रसाद कोइराला
गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते भएको थियो । उनी नेपाली कांग्रेसका ५ औं सभापति थिए । बि.सं. २०४८ जेठ १२ देखि २०५१ मंसिर १४, २०५५ वैशाख २ देखि २०५६ जेठ १७ सम्म, २०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि कोइराला चार पटक प्रधानमन्त्री भएका थिए । उनी नेपाली काँग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए । उनी ६० वर्षभन्दा धेरै समयदेखि राजनीतिमा संलग्न भएका थिए । उनले आफ्नो राजनीतिक जीवनको सुरूवात, आफ्नो गृहनगर विराटनगरको जुटमिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए । 

नेपालमा ०५२ सालदेखि तत्कालिन माओवादीले शुरु गरेको जनयुद्धलाई शान्तिपूर्ण ढंगले अवतरण गराउने श्रेय कोइरालालाई छ । उनले ०६३ मंशिर ५ गते माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विस्तृत शान्ति सम्झौता गरेपछि नेपालमा जनयुद्धको विधिवत अन्त्य भयो र गणतन्त्रको विउ रोपिएको हो ।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनीतिक जीवनमा कोइरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा २०६३ साल मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका थिए । शान्ति सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सो सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने विषयलाई प्राथमिकता दिइएको थियो । शान्ति सम्झौताले प्राथमिकतामा राखेका विषय नेपालका लागि त महत्वपूर्ण थियो नै अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई चासोका साथ हेरेको थियो ।

सेना समायोजन भइसकेको छ । जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान पनि कार्यान्वयनमा आइसकेको छ । तर संक्रमणकालीन न्यायको काम भने हुन सकेको छैन । संक्रमणकालीन न्यायको कार्यभार टुंग्याउन अझै कति वर्ष लाग्ने हो भन्न सक्ने अवस्था छैन । द्वन्द्वपीडितलाई न्याय दिन र संक्रमणकाल अन्त्यका लागि ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्र गठन गर्ने उल्लेख शान्ति सम्झौतामा थियो ।

सम्झौतामा हस्ताक्षर गर्ने मध्येका एक कोइरालाको निधन भए पनि अर्का हस्ताक्षरकर्ता दाहाल अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्षको भूमिकामा छन् । सम्झौता अनुसार संक्रमणकालीन न्याय संयन्त्र गठन हुन नसक्दा पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। 

विसं. २०६६ साल चैत ७ गते गिरिजाप्रसाद कोइरालाको निधन भयो । गिरिजा पत्नी सुष्मा कोइराला थिइन् भने सुजाता कोइराला छोरी हुन् । कांग्रेस नेतृ सुजाता अहिले सांसद पनि हुन् । नेपाली काँग्रेसमा मात्र होइन नेपाली राजनीतिमा गिरिजाप्रसादको अभाव सधैं रहने छ भने नेपाली कांग्रेसले अब उनी जस्ता सभापति पाउन निकै कठिन छ।

सुशील कोइराला
सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति थिए । कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि.सं. २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । सुशीलको जन्म सन् १९३९ मा भएको थियो । उनका ६ भाइ र एक बहिनी थिए । वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो ।

उनी विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विसं २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन् । विसं. २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए । उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए । विसं. २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल ०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र वि. सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलन मा सक्रियरूपमा लागेका थिए।

बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनोकास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए ।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए । पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे । त्यतिबेलासम्म सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित छन् ।

उनले स्वदेश र प्रवासमा नेपाली काँग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन् । उनले विसं २०४६ सालपछि पार्टीको परराष्ट्र सम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए । पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए । सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए । कोइरालाले सन् २००१ मा संसदीय दलको नेतामा भने शेरबहादुर देउवासँग हारेका थिए ।

कोइराला सन् २०१० सेप्टेम्बर २२ मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिए । सुशिलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो । उनका निकट प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मत मात्रै ल्याए । पाँच दशक राजनीतिमा बिताएका कोइरालाले विसं. २०४६ सालपछि कांग्रेस नेतृत्वमा पटकपटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए ।

०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटकपटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए । ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवासमा बिताएका थिए । ०७२ सालको नेपालको संविधान उनकै नेतृत्वको सरकारको समयमा जारी भएको थियो ।

सुशील कोइरालाको विसं.२०७२ माघ २६ काठमाडौको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो । केही दिनबाट सामान्य ज्वरोको कारण अस्वस्थ भएका उनलाई चिकित्सकहरूका अनुसार निमोनियाको कारण आकस्मिक निधन भएको बताइएको थियो ।

शैलजा आचार्य
निडर र मान्यताप्रति अडिग नेत्री शैलजा आचार्य वि.सं. १९९८ वैशाख २० गते मोरङको विराटनगरमा जन्मिएकी थिइन् । माता इन्दिरा र पिता पिनायकीप्रसाद उपाध्यायको पहिलो सन्तानका रूपमा जन्मेकी आचार्यको सिंगो जीवन राजनीतिक सेरोफेरोमै बित्यो ।

संघर्षपूर्ण जीवनगाथा बोकेकी नेत्री आचार्यले पद्मकन्या कलेजबाट बिए तथा बनारस हिन्दू विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी थिइन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यदेखि उपसभापतिसमेत बनेकी नेत्री आचार्य मुलुकको पहिलो महिला उपप्रधानमन्त्रीसमेत बनेकी थिइन् ।

स्व. आचार्य बिपी कोइराला र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी आफ्नै भान्जी हुन् । लामो समयसम्म पार्टीको केन्द्रीय समितिमा रहेकी आचार्य ११ औं महाधिवेशनबाट समेत केन्द्रीय समितिमा निर्वाचित भएकी थिइन् ।

आचार्यले ७ फागुन ०१७ मा प्रजातन्त्र राजाले अपहरित गरेको विरोधमा पहिलोपटक तत्कालीन राजा महेन्द्रलाई काठमाडौंको टुँडीखेलमा कालोझन्डा देखाउने साहसिक कार्य गरेकी थिइन् । राजालाई कालोझन्डा देखाएकै कारण आचार्यले तीन वर्ष काराबासमा बस्नु पर्यो । बी.पी. एवं गिरिजाका पिता कृष्णप्रसाद कोइरालाले दुई विवाह गरेका थिए । पहिली पत्नी मोहनकुमारी कोइरालाबाट जन्मिएका मातृका प्रसाद कोइराला देशको प्रधानमन्त्री भए । कृष्णप्रसादकी पहिली पत्नीकै छोरी इन्दिराकी छोरी शैलजा हुन् । कान्छी श्रीमती दिव्या कोइरालाबाट बी.पी.कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मिएका हुन् ।

वि.सं. २०१७ सालमा राजा महेन्द्रलाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालको आमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई करीब १ वर्ष कृषि वन तथा भूसंरक्षण मन्त्री रहिन् । वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा उनी पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधि सभामा निर्वाचित भईन् । मृत्युपर्यन्त बीपीका विचार र नेपाली काङ्ग्रेस प्रति निष्ठासाथ उभिइन् । शान्तिपूर्ण सङ्घर्ष होस् वा सशस्त्र आन्दोलन, शैलजाको उपस्थिति अग्रपङ्क्तिमा हुन्थ्यो । 

१६ पुस २०३३ मा बीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै उनीसँगै नेपाल फर्कने केही व्यक्तिमा शैलजा पनि थिइन् । काठमाडौं आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि उनले पहिलो डफ्फामै नेपाल आउन रुचि देखाइन् । उर्लंदो अवस्थाको पञ्चायती व्यवस्थामा सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेको तथ्यलाई पत्याउन जो कोहीलाई कठिनाई थियो । त्यो पृष्ठभूमिमा नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो ।

महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्ने अवसर पाएकी शैलजालाई मन्त्रालयहरूमा नीतिगत रूपमा ठूलो प्रभाव पार्ने नेताको रूपमा सम्झिने गरिन्छ । भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट उनले दिएको राजीनामा नेपाली राजनीतिमा विरलै हुने घटना हो । जलस्रोतमा सामुदायिक बिद्युतिकरण नीति उनकै देन हो ।

महिला हकहितको सवालमा पनि शैलजाले प्रेरणादायी भूमिका निर्वाह गरिन् । मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा शैलजाको योगदान ठूलो छ । आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर उनी त्यसलाई विधेयकको रूप दिन सफल भएकी थिइन् । जीवनमा कहिले सफलता र कहिले असफलता हात लाग्नु स्वाभाविक हो । त्यस मानेमा शैलजा पनि अपवाद भइनन् । तर, प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान शैलजाले देखाइन् त्यो भावी पिँढीका लागि समेत अनुकरणीय छ । 

मंगलादेवी सिंह
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंको न्हैकन्तलामा भएको हो । वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भयो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानियाँ राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । २००४ सालमा उनी काठमाडौं म्हैपीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहिन् ।
विसं २००५ सालमा पद्मशमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुगेकी थिइन् । सिंहले २००७ सालको क्रान्तिमा पनि ठूलो भूमिका निर्वाह गरिन् । श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् । 

२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उनी सक्रिय रहेकी थिइन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन् । उनले नारी संघर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तक लेखेकी छिन् । २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भएको थियो।

छुटयो कि ? राजनीति

प्रकाशित: २४ मंसिर २०७८ ०६:३४ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी