मकर संक्रान्तिमा स्नानको धार्मिक तथा वैज्ञानिक महत्व

मकर संक्रान्तिमा स्नानको धार्मिक तथा वैज्ञानिक महत्व


  • ज्योतिषी सुरेशचन्द्र रिजाल

हरेक वर्ष सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति भन्ने गरिएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले पनि आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । सूर्यले एक वर्षमा महत्त्वपूर्ण दुइटा रेखा पार गर्नुपर्नेछ, जसमध्ये मिथुन राशिलाई छोडेर कर्कट राशि अर्थात् कर्कटरेखामा प्रवेश गर्ने दिन र धनु राशिलाई छोडेर मकर राशि अर्थात् मकर रेखामा प्रवेश गर्ने दिन । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले दुईवटै विन्दुलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । कर्कट रेखामा प्रवेश गरेपछि दक्षिणायण सुरु हुन्छ भने मकर रेखामा प्रवेश गरेपछि उत्तरायण सुरु हुन्छ ।

शास्त्रीय नियमअनुसार दक्षिणायण देवताहरुको रात्रि अर्थात् नकारात्मकताको प्रतिकक तथा उत्तरायण देवताहरुको दिन अर्थात् सकारात्मक प्रतिकारुपमा व्याख्या गरिएको छ। त्यसकारण यस दिन जप, तप, दान, स्नान, श्रद्धा, तर्पण तथा भोजन आदि धार्मिक क्रियाकलापको विशेष महत्व रहेको छ । यस्तो अवस्थामा दिइएको दान अक्षय लामो समयसम्म रहिरहने शास्त्रमा व्याख्या गरिएको छ। आजका दिन शुद्ध घ्यू तथा मक्बल दान गरेमा मोक्ष प्राप्ति हुने पनि जनविश्वास रहिआएको छ।

मकर संक्रान्तिबाट अग्नि तत्व सुरु हुन्छ भने कर्कट संक्रान्तिबाट जलतत्व सुरु हुन्छ । अग्नि तत्व सुरु हुने हुँदा हाम्रो शरीरमा कुनै पनि प्रकारका समस्या नपरोस् सधैंभरि जलतत्व र अग्नितत्व सन्तुलनमा रहिरह्योस भन्नका लागि आजको दिन गंगा, नदी तलाउमा स्नान गर्नुपर्ने धार्मिक जनविश्वास सदियौंदेखि रहिआएको छ । पुराणहरुमा व्याख्या गरिएअनुसार देवलोकबाट पनि देवताहरु मकर स्नान गर्न पृथ्वीमा आउने उल्लेख गरिएको छ। विशेष देवघाटमा देवताहरुको स्नान गर्ने मुख्य स्थान भएकाले उक्त स्थानलाई देवघट्ट देवताहरु भेट हुने स्थान भनेर व्याख्या गरिएको छ । यसका अतिरिक्त देशैभरिका धार्मिक स्थानहरुमा भक्तहरु स्नान गर्ने भक्तहरुको उल्लेख्य रुपमा उपस्थिति हुने गर्दछ।

वेदमा सूर्य उपासनाको सर्वोपरि मानिएको छ र उत्तरायण प्रारम्भ भएपछि विशेष मांगलिक कार्यहरु प्रारम्भ गर्न सकिन्छ। विवाह, ब्रतबन्ध, गृहप्रवेश, देवप्रतिष्ठा, मुन्डनकार्य आदि विशिष्ट यज्ञहरु पनि गर्न मिल्ने शास्त्रमा उल्लेख गरिएको छ। यस वर्षको मकर संक्रान्तिका वाहन बाघ, उपवाहन घोडा रहेको छ। शनिबार सङ्क्रान्ति पर्नुलाई शास्त्रमा नकारात्मक संकेतका रुपमा व्याख्या गरिएको छ। विशेष राजनीतिमा मतभेद, आर्थिक अवस्था कमजोर बन्नेछ । जनतामा नैराश्यताको भावना उत्पन्न हुने छ। बाहिरी शक्तिको चलखेल उल्लेख्य रुपमा रहनेछ । छिमेकीसँगको सम्बन्घमा नकारात्मक भावना पैदा हुने जस्ता फलहरु भोग्नुपर्नेछ।

(लेखक रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन्।)

Logo