गुलाबको फूल दिएपछि ‘आइ लभ यू’ भन्नै पर्दैन

गुलाबको फूल दिएपछि ‘आइ लभ यू’ भन्नै पर्दैन


‘रोज डे’बाट सुरु भएको प्रेम सप्ताह ‘प्रपोज डे’, ‘चक्लेट डे’, ‘टेड्डी डे’, ‘प्रमिस डे’, ‘हग डे’, ‘किस डे’ र ‘भ्यालेन्टाइन डे’सम्म पुगेर टुङ्गिन्छ।

७ फेव्रुअरीबाट सुरु भएर १४ फेव्रुअरीसम्म चिसो–चिसो मौसममा चल्ने यो सप्ताह प्रेमिल जोडीका लागि उत्साह अनि पर्वको सप्ताह हो।

तर मेरा लागि यो सप्ताह चैत मासको खडेरीजस्तै फिका हुन्छ। चोक चोकका फूल पसलहरूमा देखिएका पातसहितका राता गुलाफ अनि छेउमा हिँडिरहेका मायालु जोडीले मलाई कता–कता गिज्याइरहेको आभाष हुन्छ ।

मेरा आँखाले नजिकबाट टिपिरहेका यस्ता दृष्यले कल्पनाको सागरमा मनको लड्डु खाँदै यात्रालाई निरन्तर दिन विवस मेरा पाइलाहरू कता–कता अल्झिएजस्तो महसुस हुन्छ।

हरेक दिन नयाँ वानेश्वर हुँदै नक्सालसम्म पुग्दा प्रेमको सप्ताहभरि अनेक प्रेमिल जोडीको बिम्व प्रतिबिम्व मेरा आँखालाई टिप्न भ्याइ–नभ्याइ हुन्छ ।

मनै त हो कान्छा कहाँ बाँध्न सकिने रहेछ र बाटोमा देखिएका परेवा जोडी देख्दा सो स्थानमा आफैंलाई कल्पना गर्न आतुर मेरो मन जानी– नजानी इष्र्या प्रकट गर्न उत्सुक हुन्छ ।

तरै पनि प्रेमिल कल्पनाको गतिले मलाई तिनै परेवा जोडीको यात्रामा लैजान भने रोकेको छैन ।

‘जो होचो, उसकै मुखमा घोचो’ भन्ने उखानझैँ गुलाफका थुँगाले समेत मलाई गिज्याई रहेको जस्तो भान भइरहेको हुन्छ ।

‘प्रपोज डे’ को दिन साढे तीन बजेको समय । सधैं जस्तै त्यो दिन पनि म ‘नेपाल यातायात’ कुरेर नागपोखरी छेउ उभिइरहेको थिएँ । त्यही छेउमा एक प्रेमिल जोडी पनि बसिरहेका थिए । उनीहरूबीच चलेको कुराकानीतिर मेरो ध्यान खिचिन पुग्यो ।

पहेँलो जम्पर, कालो पाइन्ट, हल्का सिल्की कपाल भएकी सुन्दरी प्रेमिका, अनि पहेँलै जम्पर, कालै पाइन्ट लगाएका एक तन्नेरी जोडी नागपोखरीको पार्कमा एक अर्कालाई हेर्दै रमाइरहेका हुन्छन् । म केही समय गाडी कुर्नु पर्ने भएकाले पार्क नजिकै रोकिएको हुन्छु ।

‘बेबी हामी बिहे कहिले गर्ने ?,’  प्रेमीको काँधमा टाउको राख्दै प्रेमिकाले सोध्छिन् । मेरो ध्यान उनीहरूनजिक अझ तानिन्छ ।

‘पर्ख न केही समय लाग्ला,’ प्रेमीले केही भावुक मुद्रामा उत्तर दिन्छ्न् । यही बेला नेपाल यातायात आइपुग्छ र मेरो यात्रा अघि बढ्छ। बाटोमा त्यही प्रेमिल जोडीको रमाइलो कुराले ध्यान खिचिरहन्छ।

हुन त विवाह र प्रेम अलग कुरा हुन् भनिन्छ । तर विवाह र प्रेम अलग–अलग भएर बस्न पनि सक्दैनन् । यदि विवाह र प्रेम अलग बस्थे भने त यो सृष्टिमा सिर्जना नै कहाँ हुन सक्थ्यो र ? प्रेम छ र नै विवाहसम्मको बाटो बनेको छ। विवाह छ र त्यहाँभित्र पनि त प्रेम हुन्छ।

तर हरेक प्रेमिका र प्रेमीबीचको आपसी प्रेम–विवाहसम्म पुग्न सकेको हुँदैन। सायद, उनीहरू सबैले यो नचाहेका पनि होलान् । या चाहेर पनि सम्भव नभएको होला ।

प्रेमको परिभाषा प्रेममा परेकालाई मात्र थाहा हुन्छ भन्छन् । त्यो भएर पनि होला, मलाई खास सुहाउँदो भाषामा प्रेमको परिभाषा गर्नै आएन ।

कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो । मेरो मुटुको कुनै कुनामा उत्पन्न भएको प्रेमिल तरङ्गलाई आफ्नो मनले खाएको कसैलाई अभिव्यक्त गर्ने चाहना गर्दो होला । मनै त हो नि कान्छा, मनलाई कहाँ बाँध्न सकिने रहेछ र ?

संसारका हरेक प्राणीहरूका लागि प्रेम दोस्रो जीवन हो । प्रेमले मानिसको जीवन पूर्ण र परिपक्व बनाउने गर्छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको इतिहास हेर्दा हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा सैनिकलाई विवाह नगर्न उर्दी गरेका थिए । राजाको सोच थियो–  विवाहको झन्झटमा सेनाहरू फसे भने युद्ध गर्न सक्दैनन् । तर भ्यालेन्टाइनले राजाको सो आज्ञाको उल्लंघन गर्दै धेरै सेनाको विवाह गराए, फलस्वरूप राजाले उनलाई फाँसी दिए । १४ फेब्रुअरीका दिन भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । आफू फाँसीमा चढेकै दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस ‘सेन्ट भ्यालेन्टाइन डे’ का रूपमा विख्यात भएको कथन छ ।

पश्चिमी सभ्यताबाट आयातित यो प्रचलन पछिल्लो समय सामाजिक सञ्जालमार्फत युवा–युवतीहरुले आपसमा प्रेम प्रकट गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन भनेर चलिआएको छ।

हुन त विवाह र प्रेम अलग कुरा हुन् भनिन्छ । तर विवाह र प्रेम अलग–अलग भएर बस्न पनि सक्दैनन् । यदि विवाह र प्रेम अलग बस्थे भने त यो सृष्टिमा सिर्जना नै कहाँ हुन सक्थ्यो र ? प्रेम छ र नै विवाहसम्मको बाटो बनेको छ। विवाह छ र त्यहाँभित्र पनि त प्रेम हुन्छ।

सामान्यतया प्रेम गर्नेहरूका लागि कुनै पनि विशेष दिनको आवश्यक पनि पर्दैन। तर पनि पछिल्लो दिनहरूमा प्रेमी जोडीहरू आफूलाई एक किसिमको मजबुत र बलियो जोडी सावित गर्नका लागि यो दिनलाई विशेष दिनका रूपमा लिने गर्छन्।

प्रेमी जोडीले मात्र होइन विवाह बन्धनमा बाँधिइसकेका जोडीहरूले पनि यस दिवसलाई उत्साह, हार्दिकता र प्रेमिल दिनका रूपमा लिने गरेका छन्।

प्रेम दिवसको दिन यदि आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्न रातो गुलाफको फूल उपहार दिँदै हुनुहुन्छ भने– मलाई लाग्छ– गुलाफको फूल मात्र दिए पुग्छ। ‘आइ लभ यू’ भन्न पर्दैन।

यदि, गुलाफको फूल स्वीकार गरे प्रेम प्रस्ताव स्वीकार गरेको मान्ने र फूल अस्वीकार गरे प्रेम प्रस्ताव नै अस्वीकार गरेको ठहर्छ। यो पनि एउटा रमाइलै पाटो हो।

तर आफूले न गुलाफको फूल पाइयो । न ‘आइ लभ यू’ नै भनियो । के संसारमा सिङ्गल मै मात्र हो ? किन गुलाफको फूलले मलाई मात्र गिज्याएको होला? किन बाटोमा भेटिएका जोडीले मलाई हेरेका होलान्? यो प्रश्न कति पटक आफूले आफैंलाई गर्न भ्याइरहेको हुन्छु । तर मनले दिएको उत्तरमा चित्त बुझ्दैन मनले उत्तर दिन्छ–तेरो नि समय आउँछ। आखिर कहाँ गयो त समय ? मनमनै प्रश्नको वर्षात् अनि अपूर्ण उत्तरले दोहोरी खेलिरहेको हुन्छ।

मनको मझेरीमा मायाको साथ भए त जीवन कस्तो सुन्दर हुने थियो हगि? मलाई प्रेमको रमाइलो पक्ष के लाग्छ भने–साँच्चै गुलाफको फूल दिएपछि ‘आइ लभ यू’ भन्नु पर्दैन नि कान्छा, तर न प्रेम न गुलाफ हामीले त सम्झने अनि पानी छम्कने मात्र रहेछ। कति पटक यस्ता प्रश्न मनमा तेर्सिए, तेर्सिए।

आफू स्कुले विद्यार्थी हुँदा लाग्थ्यो–प्रेम भनेको निकै क्लिष्ट र जटिल चिज होला। तर जब म कलेजका सुरुवाती दिनमा थिएँ। त्यहाँ पनि धेरै साथीहरूको लभ परेको र कसैको त केही समयमा नै ‘ब्रेकन अप’ भएको पनि देख्न र सुन्न पाएँ। अनि लाग्यो– प्रेम कुनै नौलो वस्तु होइन रहेछ।

उच्च शिक्षा अध्ययनका लागि अहिले म काठमाडौंको पोलिगन कलेजमा अध्ययनरत छु। यहाँ हामी धेरै साथीहरूबीच प्रेम चलिरहेको छ। एउटा हार्दिक प्रेम। मित्रताको प्रेम। कति फरक छ हामीबीच चल्ने प्रेम र बजारमा र पार्कहरूमा मैले देखेको कथित प्रेमी–प्रेमिकाबीचको प्रेममा। 

पूर्वदेखि पश्चिमसम्मका सहपाठीहरू हामीहरूबीच सहृदयी प्रकारको आत्मीय प्रेम–सम्झिँदा पनि मन पुलकित हुन्छ।

यसैले मलाई लाग्छ कसैले कसैलाई–‘आइ लभ यू’ भन्नु, गुलाफको फूल दिनु र त्यो स्वीकार गर्नु मात्रै प्रेम होइन । प्रेम त एउटा जीवन्तता हो। र, यो प्रेमका नाममा कसैलाई गुलाफको फूल दिनु पर्दैन । यो नै वास्तवमा जीवन्त र नटुङ्गिने सच्चा प्रेम हो।

Logo