खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि, सबैभन्दा बढी खानेतेलमा बढ्यो

खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि, सबैभन्दा बढी खानेतेलमा बढ्यो


पछिल्लो ६–७ महिनामा भान्सामा अनिवार्य खपत हुने खानेतेलको भाउ प्रतिलिटर ८० रुपैयाँसम्म बढेको छ। राजनीतिक अस्थिरता बढ्दै जाँदा व्यवसायीले मनोमानी ढंगले मूल्यवृद्धि गरेपछि उपभोक्ता चर्को महँगीको मारमा परेका छन्। अत्यधिक मूल्यवृद्धि भइरहँदा पनि सरकारी निकायले नियन्त्रणका लागि ठोस पहल गरेको छैन। आयातकर्ता र उत्पादकहरू अन्तर्राष्ट्रिय बजारलाई दोष दिइरहेका छन् । 

चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ता आयातमा निर्भर रहेको खानेतेलको मूल्य अन्तर्राष्ट्रिय बजारकै कारण बढेको जिकिर गर्छन्। बजार मूल्य नियन्त्रण गर्न सरकारले भन्सार दरमा सहुलियत दिनुपर्ने उनी बताउँछन् । ‘तेल आयातमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सारसहित कुल १८ प्रतिशत मूल्यवृद्धि आयात बिन्दुमै हुन्छ,’ गुप्ताले भने, ‘यसको असर उपभोक्ता मूल्यमा पर्छ। त्यसैले उपभोक्तालाई सहुलियत दिन करका दरमा पुनर्विचार गर्नुपर्छ।’

व्यवसायीको अराजक प्रवृत्तिले बजारभाउ बढेको र नियन्त्रण गर्न सरकारी निकायले उदासीनता देखाएको उपभोक्ताकर्मी माधव तिमिल्सिना बताउँछन्। ‘व्यवसायीले मूल्य बढाइरहेका छन्, सरकार नियन्त्रण गर्न चासो देखाउँदैन,’ तिमिल्सिनाले भने, ‘उपभोक्ताको मर्का बुझ्ने निकाय यहाँ भेटिँदैन।’

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भदौ यता खानेतेलको मूल्य निरन्तर उकालो लागेको छ। सबैभन्दा धेरै (करिब ५० प्रतिशत) खपत हुने सनफ्लावर तेलको मूल्य प्रतिलिटर ७० रुपैयाँ बढेको छ। ‘भदौमा सनफ्लावर तेलको भाउ १ सय ६५ रुपैयाँ प्रतिलिटर थियो । पटक–पटक बढेर अहिले २ सय ३५ देखि २ सय ४० रुपैयाँसम्म पुगेको छ।’

भटमासको तेलको भाउ पनि अस्वाभाविक रूपमा आकासिएको छ । भदौमा १ सय ५० रुपैयाँ रहेको भटमासको तेल अहिले २ सय ३० पुगेको छ। ‘पुसमा भटमासको तेलको भाउ २ सय टेकेको थियो,’ श्रेष्ठले भने, ‘माघ र फागुनमा मूल्य स्थिर नै थियो, तर मध्य चैतदेखि भाउ बढ्न थालेर अहिले २ सय ३० रुपैयाँ प्रतिलिटरसम्म कायम भएको छ।’ 

अहिले सामान्य तोरीको तेलभन्दा सनफ्लावरको भाउ बढी भएको उनले बताए । सामान्य तोरीको तेल प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ। भदौयता प्रतिलिटर ५० रुपैयाँ मूल्यवृद्धि भएको हो । यद्यपि, भदौमा यही तेलको मूल्य १ सय ८० रुपैयाँ थियो । दसैँ र तिहारसम्म तोरीको तेल २ सय रुपैयाँ पुगेर जाडो मौसमसम्म स्थिर थियो । चैतयता तोरीको तेलको भाउ बढेको छ। धारा ब्रान्डको तोरीको तेल भने अहिले २ सय ७० रुपैयाँ पुगेको छ। यसअघि गत भदौमा २ सय ३० रुपैयाँ प्रतिलिटर थियो। 

चामल प्रतिबोरा ५० र केराउको मूल्य दोब्बर बढ्यो

खुद्रा व्यापारीका अनुसार अहिले सबै प्रकारको चामलमा प्रतिबोरा ५० रुपैयाँ बढेको छ। ‘सबैभन्दा धेरै खपत हुने जिरा मसिनो चामल प्रतिबोरा (२५ किलो) १६ सयबाट १६५० रुपैयाँ पुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने । केराउको मूल्य दोब्बर बढेको छ । भदौमा सेतो केराउ ५० देखि ६० र हरियो केराउ ९०–१०० रुपैयाँ प्रतिकिलो थियो । अहिले सेतो केराउको भाउ १ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको श्रेष्ठले बताए । हरियो केराउको मूल्य सेतोको तुलनामा प्रतिकिलो १० रुपैयाँ बढी पर्छ। सरकारले केराउ आयातमा कोटा प्रणाली तोकेपछि कम आयात भएको भन्दै अभावको हल्ला फैलाएर मूल्य बढाएको उनले बताए।

‘डेढ महिनाअघि सेतो केराउ प्रतिकिलो १ सयदेखि १ सय ५ रुपैयाँ थियो । सरकारले आयातमा कोटा प्रणाली तोकेका कारण बजारमा अभाव छ भन्दै ह्वात्तै बढाएर १ सय ५० रुपैयाँ पुर्‍याइएको छ,’ उनले भने। 

केराउ अभावका कारण मूल्य बढेको व्यवसायीले गुनासो गरेपछि सरकारले एक वर्षदेखि कायम कोटा प्रणाली ९ चैतमा राजपत्रमा सूचना प्रकाशित गरी हटाएको थियो । तर, मूल्य अझै घटेको छैन ।

सरकारले एक वर्षअघि वार्षिक ८५ हजार टन केराउ आयात गर्न पाउने गरी कोटा निर्धारण गरेको थियो । तर, त्यसले धान्न नसक्ने भन्दै ३ सयभन्दा बढी व्यवसायीले १ लाख ८० हजार आयातका लागि स्वीकृति माग गरेका थिए । तोकिएको कोटाभन्दा दोब्बर आयातका लागि माग भएपछि सरकार कोटा प्रणालीबाट पछि हटेको थियो ।नयाँ पत्रिकाबाट

Logo