प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न, ‘छोराछोरीका नाममा प्रतिष्ठान चलाउनेलाई मदन भण्डारी प्रतिष्ठानप्रति वैरभाव किन ?’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न, ‘छोराछोरीका नाममा प्रतिष्ठान चलाउनेलाई मदन भण्डारी प्रतिष्ठानप्रति वैरभाव किन ?’


काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् । केन्द्रबिन्दु अनलाइनसँगको विशेष सम्वादमा बोल्दै सल्लाहकार थापाले उक्त प्रश्न गरेका हुन् ।

मदन भण्डारी प्रतिष्ठानप्रति यति धेरै वैरभाव राख्नेले आफ्ना सन्तानप्रति यतिका धेरै मोह राख्न नहुने उनको भनाइ छ । उनले भने–‘मदन भण्डारी फाउण्डेसन न पार्टीले बनाएको हो न यो पार्टीसँग सम्बन्धित छ । न पार्टीले सञ्चालन गर्छ । मदन भण्डारी प्रतिष्ठान र मदन भण्डारीप्रति यो वैरभाव किन ? प्रज्ञा फाउण्डेसन प्रज्ञा स्मृति प्रतिष्ठान के हो त ? अहिले भर्खर प्रचण्डले दुई वटा पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठानमार्फत प्रकाशित गर्नुभएको छ । प्रकाश र ज्ञानुको नाम होइन त्यो ? मदन भण्डारीप्रति यत्रो वैरभाव किन । छोरा छोरीप्रति यत्रो मोह किन ? पुष्पलाल मिलाप केन्द्र प्रज्ञा प्रतिष्ठान के हुन् ?’ आफ्ना छोराछोरीका नाममा प्रतिष्ठान चलाउनेले मदन भण्डारी छोरी उषा किरणको अध्यक्षतामा संचालित फाउण्डेसनप्रति पनि आशंका गर्न नहुनेमा उनको जोड छ ।

त्यस्तै आफूभन्दा बढी स्थापित नेताहरुलाई खुइल्याउने कार्यकारी अध्यक्ष दाहालको बानी भएको इतिहासले पुष्टि गरेको प्रेस सल्लाहकार थापाको भनाइ छ ‘उहाँको ऐतिहासिक विकास क्रमलाई हेर्दा आफूभन्दा बढी स्थापित नेताहरुलाई खुइल्याउने देखिन्छ’–उनले भने ‘सुरुको बेलादेखि नै पुष्पलालको विरुद्धमा मोहन विक्रमले । चाहे मोहन विक्रमको विरुद्धमा उहाँहरुको संलग्नतामा भरत दाहालले यस्ता प्रस्तावहरु राख्दै आएको पाइन्छ । चाहे गद्दार पुष्पलाल होस् । चाहे अराजकवादी व्यक्तिवाद वा अवसरवादको नेपाली आयाम होस् ।’ साथै अहिले पनि यी चिजहरुकै निरन्तरताका लागि कार्यकारी अध्यक्ष दाहालले विवाद सृजना गर्ने गरेको उनको आरोप छ । कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सैद्धान्तिक, वैचारिक, राजनीतिक, नेतृत्व वा हरेक प्रकारको प्रतिस्पर्धा गर्न नसकेकाले तेजोवध गरिएको उनको भनाइ छ ।

त्यस्तैगरी कार्यकारी अध्यपक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताप्रति गैरजिम्मेवार रहेको उनको आरोप छ । उनले भने–‘एक वर्षदेखि पार्टी एकताका कामहरु स्थगित छन् । मंसिर ४ गते क. प्रचण्डले पार्टी एकताका काम गर्ने क. ओलीले पूरै पाँच वर्ष सरकार चलाउने सचिवालयले सहमति गरेको थियो । त्यसपछि स्थायी र केन्द्रीय कमिटी बैठक बसेपछि जारी गरिएको विज्ञप्तिमा १०, १५ वा एक महिनामा पार्टी एकताका बाँकी काम टुंग्याउने भनिएको थियो । पार्टीका कार्यकारी अध्यक्ष दाहाललाई पार्टी एकताका काममा लागेको देख्नु भएको छ ? यो पार्टी एकताप्रतिको गैरजिम्मेवारीपन हो ।’

पार्टी एकताका काम गर्न कोरोना कहरले रोके पनि दिनहुँ गुट र उपगुटका बैठक गर्न नरोकेको सल्लाहकार थापाको आरोप छ । कोरोना कहरले पार्टी एकताका काम गर्न रोकेको भन्नु नजर एकातिर तीर अर्कोतिर भएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई अयोग्य र असफल भएको व्यक्तिको रुपमा चित्रित गर्ने पात्रहरु आफू बसेको पद वा जिम्मेवारी पूरा गर्न नसक्नेहरु नै भएको उनको दाबी छ । साथै, कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल पक्षले पार्टीभित्र जति विधि र पद्धतिका कुरा गरे पनि अन्तत विवाद भागबण्डामा नै गएर मिल्ने गरेको उनको भनाइ छ ।

Logo