कोरोना रिटर्न्स २ : के फेरि नेपालमा लकडाउन हुन सक्छ ?

कोरोना रिटर्न्स २ : के फेरि नेपालमा लकडाउन हुन सक्छ ?


यक्षप्रश्न पुनः उपस्थित भएको छ, देशमा के फेरि 'लकडाउन' हुन्छ ?

युधिष्ठिर जस्तो तत्वबोध र दूरदृष्टि भएको प्रज्ञासम्पन्न मस्तिष्कधारी कोही छ जस्तो प्रतीत हुन्न यक्ष प्रश्नको विवेकसम्मत ढंगले निराकरण गर्न सक्ने !

महामारीको संत्रासले 'डोरबेल' नथिची नै खुल्लम खुल्ला वातायनबाट देशको वक्षस्थलमा पदार्पण गरिसकेको छ। सबै नेपालीको मनमा एउटै प्रश्नले 'हैम्बरिंग' गरिरहेको छ – के देशमा फेरि लकडाउन हुने अवस्था आऊन  सक्छ ?

नेपाल राष्ट्रका स्वमहिमामंडित अर्थ मन्त्रीज्युले केही दिन उद्घोष गरिदिनु भयो-देशमा कुनै पनि हालतमा लकडाउन हुँदैन र साथै महामारीको विभीषिकाबाट आक्रान्त एवं निढाल हुँदै गइरहेको मित्र देश भारतसँग रहेको सिमानाका पनि बन्द गरिदैँन ।

'यूके भेरिएन्ट' पुरानो कोभिड-१९ भन्दा झण्डै ४० देखि ७० गुनासम्म घातक रहेको अध्ययन रिपोर्ट प्रकाशित भइसकेका छन्।

उहाँले  महामारी नियन्त्रण तथा व्यवस्थापनमा कहाँबाट विद्यावारिधि गर्नु भएको हो, यो कुरा उहाँबाहेक सायद अन्य कसैलाई थाहा छैन । तमाम पत्रपत्रिकाले पनि आ-आफ्नो एंगलबाट लकडाउन हुँदैन र लकडाउन गर्नु हुन्न भन्ने आशयका सामाग्री प्रकाशित गरिरहेका छन् ।  विपद व्यवस्थापनमा सामान्य जानकारी हुने व्यक्ति बाहेक अधिकाँश व्यक्ति आ-आफ्ना धारणा पस्किरहेका छन् । स्थिति बडो विचित्र छ ।

लकडाउन कसैको रहर होइन ।  कसैको इच्छा अथवा सन्काहा प्रवृतिले लकडाउन लाग्ने होइन ( हुन त नेपालका सन्दर्भमा यसको पनि विपुल सम्भावना रहेको देखिन्छ )। महामारी नियन्त्रणभन्दा बेकाबू हुने स्थितिमा पुग्यो भने लकडाउन बाध्यताका रूपमा अंगिकार गर्नु बाहेक अन्य कुनै विकल्प रहदैँन । भाइरस बारे अलिक चर्चा गर्दै यस सम्भावनाको चिरफार गरौँ ।

यदि नेपालमा विश्वमा देखिएका कोभिड-१९ भाइरसका अन्य प्रारूप  (भेरिएन्ट ) पसेका छैनन् भने स्थिति सन्तोषजनक अवस्थामै छ भन्न सकिन्छ । आम नेपालीको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर ) ले कोभिड-१९ भाइरसको मुकाबिला डटेर नै गरेको थियो । कोभिड-१९ का अन्य नयाँ प्रारूपको  यदि नेपालमा  प्रवेश भएको छैन र सरकारले अविलम्ब सबै किसिमका तदारूकता देखाई भाइरसका नयाँ प्रारूप लाई देशमा छिर्नबाट बन्देज लाउन सक्छ भने मान्न सकिन्छ आम नेपालीले कोभिड-१९ को मुकाबिला गर्न सक्छन । अहिले आइरहेका 'दैनिक १०० भन्दा बढी संख्याका संक्रमित'  कोभिड-१९ कै संक्रमित हुन् भने कसैले पनि त्रसित हुने आवश्यकता छैन ।

तर, यसबारे कसैलाई केही थाहा छैन, नेपालमा कुन भाइरसको प्रकोप चलिरहेको छ ? केही महिना पहिला नै नेपालमा 'यूके भेरिएन्ट' भित्रिएको प्रमाणित भइसकेको थियो। 'यूके भेरिएन्ट' पुरानो कोभिड-१९ भन्दा झण्डै ४० देखि ७० गुनासम्म घातक रहेको अध्ययन रिपोर्ट प्रकाशित भइसकेका छन् । यदि नेपालमा संक्रमणको ग्राफ उकालो लागेको कारण 'यूके भेरिएन्ट' हो भने पनि आत्तिने नै अवस्था छैन। हो, यो पुरानो संस्करण कोभिड-१९ भन्दा घातक भए पनि राहतको कुरा के छ भने एस्ट्रेजेनेका – कोभीशिल्डको कोभिड-१९ भ्याक्सिन यसमाथि प्रभावी छ। 'यूके भेरिएन्ट'ले  भ्याक्सिनलाई 'ओभरटेक' गरेको छैन।

तर विश्वमा देखिएका कोभिड-१९ का अन्य प्रारूप जस्तै दक्षिण अफ्रीकी भेरिएन्ट, ब्राजीलियन भेरिएन्ट  , भारतमा देखिएका २-३ वटा भेरिएन्ट  र भारतमा भर्खरै मात्र देखिएको 'डबल म्युटेन्ट भेरिएन्ट'बारे केही भन्न सक्ने अवस्था छैन । ब्राजिलकै उदाहरण हेरौं – ब्राजिलियन भेरिएन्टको कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र अघिल्लो संक्रमणपछि विकास भएको रोग प्रतिरोधात्मक (एन्टीबडी) क्षमतालाई पनि आकस्मिकरूपमा छल्न सक्ने क्षमता सम्पन्न  भएको भनिएको छ । जसले गर्दा ‘रि–इन्फेक्सन’को सम्भावनालाई  बढाएको देखिन्छ । ब्राजिलको एक सहरमा गतवर्ष कोरोनाले ठूलो प्रभाव पारेको थियो, जसमा झन्डै अनुमानित ७६ प्रतिशत जनसंख्या संक्रमित भएको अर्थात् त्यहाँ ‘हर्ड इम्युनिटी’ विकास भइसकेकाले फेरि संक्रमणले ठूलो प्रभाव पार्न नसक्ने  भनेर अनुमान गरिएको थियो ।

तर, यस अनुमानको ठीक विपरीत सात महिनापछि फेरि त्यसै सहरमा अर्को लहरले ठूलो जनसंख्या प्रभावित भएको हालै प्रकाशित एक अनुसन्धानले देखाएको छ। यही बेला ब्राजिलमा नयाँ भेरिएन्टको कोरोना भाइरस विकास भएको र त्यो बढी आक्रामक देखिएको अनुसन्धानबाट पत्ता लागेको थियो, जुन भेरिएन्ट अहिले भारत पुगिसकेको छ ।

यसैगरी दक्षिण अफ्रिकी भेरिएन्टको कोरोना भाइरस पनि तीव्रगतिमा फैलने र हाल उपलब्ध भ्याक्सिनलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। विशेष गरेर नेपालले प्रयोग गर्दै आइरहेको ‘कोभिशिल्ड’ भ्याक्सिनलाई पनि चुनौति दिनसक्ने क्षमता देखिएको छ दक्षिणी अफ्रिकी कोरोनाको नयाँ भेरिएन्टमा ।

दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानले यस भेरिएन्टको कोरोना भाइरसविरुद्ध ‘कोभिशिल्ड’को  प्रभावकारिता विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (थ्रेसहोल्ड) भन्दा अत्यधिक कम देखिएको भनिएको छ । यो भेरिएन्टको कोरोना भाइरस हाल कम्तिमा पनि विश्वको ४० देशसम्म पुगीसकेको छ । कोरोनाका यी दुबै भेरिएन्ट भारत आइसकेकको प्रमाणित भइसकेको छ। यसका अतिरिक्त भारतमै देखिएका कोरोनाका अन्य नयाँ भेरिएन्ट अति घातक रहेको र यी नयाँ भेरिएन्टका कारण भारतमा संक्रमित हुनेको संख्या तथा मृत्युदर अति तीव्र गतिले बढ़न गएको छ ।

नेपालमा अहिले कोरोनाका कुन कुन संस्करण छन / छैनन भन्ने बारे कसैलाई थाहा छैन । नेपालमा फेरि  'लकडाउन' हुन्छ हुँदैन  भन्ने प्रश्नको जबाब कोरोनाका नयाँ प्रारूपसँग मात्रै छ। यदि नेपालमा उपरोक्त वर्णित कुनै पनि संस्करणको प्रवेश भइसकेको छ भने बढीमा २०-२५ दिनमै यसको व्यापक प्रभाव देखिने छ । भारतमा दोस्रो लहरको (नयाँ भेरिएन्टको प्रकोप का कारण) उत्कर्ष भइसके पछि त्यहाँबाट फर्केका नेपालीको निर्बाध आगमनले कोरोनाका नयाँ घातक भेरिएन्ट नेपाल पसिसकेको
सम्भावनालाई इन्कार गर्न सकिदैन । कुनै एउटा पनि नयाँ घातक भेरिएन्ट नेपाल पसेको छ भने बढीमा यस महिनाको अन्त्यसम्ममा नेपालले फेरि लकडाउनको नियति ब्योहरनै पर्ने सम्भावनालाई इन्कार गर्न मिल्दैन ।

देशमा नयाँ भेरिएन्टको भाइरस भित्रिएको छ भने 'कोभिड-१९ संक्रमण भएर निको भएका अर्थात  एंटीबडी बनिसकेका' अथवा कोभिशिल्डको एक डोज भ्याक्सिन लिइसकेकाहरु पनि जोखिम  भित्रै आउछन । कसैले ढुक्क हुने अवस्था छैन । आफ्नो सुरक्षा आफै गर्नु बाहेक अन्य कुनै उपाय छैन । संक्रमण हुन नदिनु नै बुद्धिमानी हो । संक्रमणबाट जोगिने हर सम्भव प्रयास र उपाय गर्नु होस् । 

Logo