महामारीविरुद्ध भारतलाई चीनको साथ : छिमेकी ‘शत्रु’ नै भए पनि टुलुटुलु हेर्न सकिँदैन

महामारीविरुद्ध भारतलाई चीनको साथ : छिमेकी ‘शत्रु’ नै भए पनि टुलुटुलु हेर्न सकिँदैन


भारतको काशी निवासी मनिष मोरोलियाले पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको फोटोसमेत बनाएको तस्बिर पोष्ट गर्दै उल्लेख गरे–
‘डा. मनमोहन सिंहको एम्स से छुट्टी–
कोरोना को मात देकर घर लौटे,
आप सभी की दुआएं काम आईं’

दक्षिण छिमेकी भारत अहिले कोरोना भेरियन्टको दोस्रो चरणविरुद्ध सबैभन्दा ठूलो लडाइँमा छ। यस्तो बेला यो पोष्टले केही उत्साह थप्न सक्छ भनेर मोरोलियाले सोसल मिडियामा राखेका होलान्।
भारतमा दैनिक लाखको संख्यामा नयाँ संक्रमित तथा हजारको संख्यामा अक्सिजन सिलिन्डर अभावले उपचार नपाएर मृत्युको खबर सुनिरहँदा पूर्वप्रधानमन्त्री एम्स अस्पतालबाट कोरोना उपचारपछि घर फर्किएको खबर सुखद नै मान्नुपर्छ।

कोरोना संक्रमण देखिएपछि ८८ वर्षीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई गत १९ अप्रिलमा उपचारका लागि दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो। भारतभर नकारात्मक समाचार आइरहेका बेला सिंहको स्वास्थ्यलाभले सकारात्मक सन्देश दिएको छ।

सिंहले गत ४ मार्चमा पहिलो र ३ अप्रिलमा दोस्रो भारतमा निर्मित कोभिशिल्ड खोप लगाएका थिए। खोप लगाएका व्यक्तिमा पनि कोरोना हुन्छ तर खोप लगाएको कारण कोरोना संक्रमणसँग जुध्न केही सहयोग अवश्य गर्छ भन्ने चिकित्साशास्त्रीय बहस पनि हुन थालेको छ। 

भारतमा अहिले  विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिडविरुद्धको लडाइँमा सहयोग गर्ने आश्वासन दिएका  छन्। भारतका विदेश सचिव हर्षबद्र्धन शृंगलाले ती देशहरुबाट भारतलाई अत्यावश्यक औषधि र स्वास्थ्य उपकरण सहयोग आउने बताएका छन्। अन्य देशबाट पनि सहयोग आउने क्रम जारी छ, भारतमा हरेक दिन संक्रमित बढ्दै छन्, मृत्यु संख्या पनि थपिँदैछ।

भारतमा सहयोगको वाचा गर्ने शक्तिमान देश अमेरिकाले भारतमा रहेका आफ्ना नागरिकलाई तुरुन्त भारत छाड्न आह्वान गर्दै ट्राभल्स एडभाइजरी नै जारी गरेको छ। भारतमा रहेका अमेरिकी नागरिकहरु देश फर्कन थालेका छन्। 

उनीहरुले मे ४ भन्दा अघि नै भारत छाडने भएका छन्।  भारतलाई सहयोग गर्ने अर्को राष्ट्र अस्ट्रेलियाले  आफ्ना नागरिकलाई स्वदेश फर्काउने होइन, भारतबाट स्वदेश फर्किएका पाँच वर्ष जेल र ६६ हजार डलर जरिवाना घोषणा गरेको छ। घोषणाको भारत र अस्टेलिया दुवै देशका सञ्चारमाध्यमले विरोध जनाएका छन्। भनिन्छ, भारतभर ९ हजार अस्ट्रेलियन नागरिक रहेका छन्।

अमेरिका र अस्ट्रेलियाको घोषणाले भारतलाई साथ सहयोग होइन, हतोत्साही गरेको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन्।

संयुक्त राष्ट्रसंघले भारतलाई सहयोग गर्ने घोषणा गरेमुताविक सहयोग गर्न थाले पनि शक्तिराष्ट्र अमेरिका र अस्ट्रेलियाको निर्णयले भारतलाई दुःखमा साथ दिन नसकेको भन्दै आलोचना गरिएको छ।

उत्तरप्रदेशमा साइकलमा श्रीमतीको शव लिएर घुमिरहेका श्रीमान्ला‍ई शवदाह गर्न गाउँलेले नदिएपछि प्रहरीको सहयोगमा दाहसंस्कार भयो। अहिले दिल्लीलगायत भारतका कैयौं राज्यमा शवदाहका लागि घन्टौं लाइन लाग्नुपर्ने हृदयविदारक दृश्य हेर्न सकिन्छ।

कोरोना महामारीका केही कारुणिक दृश्य देखाइरहेका छन् भारतीय सञ्चारमाध्यमले। केही दिनअघि उत्तरप्रदेशमा साइकलमा श्रीमतीको शव लिएर घुमिरहेका श्रीमान्ला‍ई शवदाह गर्न गाउँलेले नदिएपछि प्रहरीको सहयोगमा दाहसंस्कार भयो। अहिले दिल्लीलगायत भारतका कैयौं राज्यमा शवदाहका लागि घन्टौं लाइन लाग्नुपर्ने हृदयविदारक दृश्य हेर्न सकिन्छ।

शुक्रबार मात्र भारतीय चर्चित टेलिभिजन ‘आजतक’मा कार्यरत पत्रकार रोहित सरदानाको कोरोना संक्रमणका कारण मृत्यु भएको खबरले सिङ्गो आमसञ्चार जगत स्तब्ध भएको थियो।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका परिवारका सदस्य पनि कोरोनाका कारण निधन भएपछि उनी आशौचमा परेका छन्। मोदीका काकी नर्मदाबेनको गत मंगलवार संक्रमणका कारण गुजराजस्थित अहमदावादको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

चीनको साथ भारतलाई

एसियाका दुई महारथी चीन–भारतबीच सीमा–विवादका कारण आएको चिसोपनाका बीच चिनियाँ राष्ट्रपति सी चिन पिङले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सन्देश पठाउँदै भारतमा फैलिरहेको महामारीप्रति चासो व्यक्त गरेका छन्। 

महामारीविरुद्ध जुध्न आफू र चिनियाँ जनताको तर्फबाट सहयोग गर्न तयार भएको सन्देश उनले पठाएका छन्। छिमेकी शत्रु नै भए पनि अप्ठेरो पर्दा साथ दिनुपर्छ भन्ने सन्देश दिन चिनियाँ राष्ट्रपति सफल भएका छन्।

यतिबेला चीन भारत फैलिरहेको कोरोना महामारीमा सहयोग गर्न आतुर देखिन्छ । विगतमा भएका मनमुटाव भुलेर यस्तो कठिन अवस्थामा चीनबाट अक्सिजन, स्वास्थ्य सामगी सहयोगमार्फत् दिन चीन चाहन्छ। तर, भारत चीनको सहयोग लिन नपरे हुन्थ्यो भन्ने मनस्थितिमा देखिन्छ।

विहीबार चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय समकक्षी एस जयशंकरलाई  पत्र लेखेर महामारीविरुद्व लड्न पूर्ण रुपमा साथ दिने आश्वासन दिएका थिए।

चिनियाँ विदेशमन्त्रीले महामारीसँग लड्न आवश्यक स्वास्थ्य सामग्री छिटोभन्दा छिटो भारतमा पठाउने तयारी गरिएकोसमेत पत्रमा उल्लेख गरेका थिए।

विदेशमन्त्री वाङ यीले भनेका छन्, ‘महामारीविरुद्ध लड्न चीनमा बनेका सामान दु्रत गतिमा भारत पठाइँदैंछ।’

शुक्रबार राष्ट्रपति सीले नरेन्द्र मोदीलाई सन्देश पठाएपछि  चिनियाँ विदेशमन्त्री वाङ् यी र भारतीय विदेशमन्त्री एस.जयशंकरबीचको कुराकानीले पनि चीन भारतलाई महामारी अभियानमा प्रत्यक्ष र छिटोभन्दा छिटो सहयोग दिन चाहन्छ र, भारतमा भइरहेको महामारीविरुद्धको अभियानमा सहयोगी बन्न चाहन्छ भन्ने सन्देश दिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पत्रमा लेखेका छन्, ‘कोरोना भाइरस मानवताका लागि खतरनाक भएको र यसविरुद्ध अन्तर्राष्ट्रिय समुदायको सहकार्य गर्नुपर्ने आवश्यकता छ।’

चीन सरकारको साथ सहयोगलाई सहजता गर्ने काम भारतका लागि चीनका राजदूत सन बिडोङले गरेका छन्। चीनले भारतका लागि कम्तिमा २५ हजार अक्सिजन कन्सन्ट्रेटर, मास्क, स्वास्थ्य उपकरण  दिने तयारी गरेको उनले जानकारीसमेत दिएका छन्।

चीनले उपलब्ध गराउने सहयोग सामग्रीका साथै भारत सरकारले  ४० हजार अक्सिजन जेनरेटर्स चीनको निजी कम्पनीबाट मगाउने निर्णय गरेका छन्। त्यसका लागि चिनियाँ कम्पनी २४ सै घन्टा काम गरी छिटोभन्दा छिटो पठाउने र भारतीय जनता बचाउने काममा लागेका छन् ।

गत वर्ष मे महिनामा भारत चीन बीच पूर्वी उद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) को तनाव र सीमा क्षेत्रमा दुवै देशका सैनिक भीडन्तपछि भारत–चीन सम्बन्धमा आएको चिसोपना एक वर्षपछि चीनले पत्र, र सन्देशमार्फत् सम्बन्ध विस्तारमा गरेको कामलाई संकटमा छिमेकी आफन्त हुन्छन् भन्ने सन्देश दिन खोजेको छ ।

चीन गुमाने र  भारत धनजिते पात्रमा देखिएको छ। चीन भारतलाई गुमानेले जस्तै गरी मनैदेखि साथ र सहयोग दिन चाहन्छ। विगतमा के भए पछि समीक्षा गरौंला तर अहिलेका लागि महामारीविरुद्व साझा लडाइँमा चीन–भारत एक हुनुपर्ने सन्देश दिन खोजेको छ।

नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथा निकै मार्मिक छ । कथामा दुई पात्र गुमाने र धनजिते दुईजना छिमेकी छन्। गुमानेको गोरुले धनजितेको धान खेतको बिउमा बस्दा धनजितेले गोरु पिटेको देखेपछि दुईबीचको झगडा हुन्छ। 

दुवै छिमेकीबीच अर्म–पर्म र असल व्यवहार बन्द हुन्छ। तर, केही समयपछि गाउँमा ‘आँठे रोगको महामारी’ फैलिन्छ। यसको चपेटामा धनजिते परिवार पर्छ।

आँठे महामारीको दयनीय अवस्थापछि गुमानेको मन पग्लिन्छ। गुमानेले धनजितेको मनैदेखि सेवा गर्छ। दुवैलाई विगतप्रति पछुतो लाग्छ कथा सकिन्छ।

कथा अनुसार आज चीन गुमाने र  भारत धनजिते पात्रमा देखिएको छ। चीन भारतलाई गुमानेले जस्तै गरी मनैदेखि साथ र सहयोग दिन चाहन्छ। विगतमा के भए पछि समीक्षा गरौंला तर अहिलेका लागि महामारीविरुद्व साझा लडाइँमा चीन–भारत एक हुनुपर्ने सन्देश दिन खोजेको छ।

भारतीय सञ्चारमाध्यमले चीनले देखाएको साथ सहयोगप्रति त्यति खुलेर लेख्न र बोल्न सकेका छैन। किनकि भारतीय सञ्चारमाध्यममा चीनविरुद्ध लेख्न र बोल्न तँछाडमछाड हुने गर्दछ। एक महिनामा कसले कति चीनविरुद्ध समाचार  लेखे र टेलिभिजनमा कथा बनाए भन्ने प्रतिस्पर्धा हुने भारतमा चीनले सहयोग गर्न खोजेको समाचारले प्राथमिकता पाएका छैन।

चीनलाई के थाहा छ भने, अहिलेको अवस्थामा विगतका कुरा सम्झेर बस्ने  होइन, भारतलाई साथ सहयोग दिनुपर्छ, महामारीमा अभियानमा चीन स्वास्थ्य सामग्री र अक्सिजनका सिलिन्डर भारत पठाउन आतुर देखिन्छ। शक्तिसम्पन्न दुई देशबीच आपसी मनमेद, मतभेद थाती राखेर चीनले भारतलाई मात्र होइन दक्षिण एसियाली देशलाई सहयोग गर्ने सोच अघि सारेको छ। 

केही दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यीले भिडियो कम्फेरेन्स गरी नेपाल, पाकिस्तान, श्रीलका, अफगानिस्तान र बंगलादेशका विदेशमन्त्रीसँग छलफल गरे । यद्यपि, त्यो छलफलमा भारतको सहभागिता थिएन।

 भारतले नचाहेर हो वा चीनले नै भारतलाई अनुरोध नगरेका कारण सहभागी नभए पनि चीन–भारतका विदेशमन्त्री  वाङ यी र एस.जयशंकर दुवै घनिष्ठ मित्र हुन्। एस जयशंकर चीनका लागि भारतीय राजदूत भएर चीनमा निकैं बर्ष बसेका र चीनलाई नजिकबाट बुझेका हालका भारतीय विदेशमन्त्री हुन्।
मित्र देश भारतमा आपत परेका बेला चिनियाँ विदेशमन्त्री वाङ यीले  पत्राचार गरी भारतलाई साथ दिने खबरले भारतमा भित्रै मनले खुसी छाएको छ। अहिले भारतमा अक्सिजन लेभल जाँच गर्र्ने मेसिन सबैजसो चीनमा अड्किएको खबर आएका बेला चीनले भारतलाई  दिएको साथलाई साधुवाद भन्न कन्जुस्याइँ नगर्दा राम्रो होला ।

चीनले नेपाललाई पनि केही दिनभित्र २० हजार थान अक्सिजन सिलिन्डर र केही थप स्वास्थ्य सामग्री दिने प्रतिबद्धता जनाएकोमा हामीले पनि धन्यवाद भन्नुपर्छ ।

 नवभारत टाइम्सको शनिबारको हिन्दी संस्करणमा चीनले भारतलाई सहयोग गर्ने समाचार प्राथमिकताका साथ छापिएको छ। समाचार पढेपछि  एकजना भारतीय पाठकले लेखेको प्रतिक्रिया जस्ताको तस्तै राख्नु उचित होला । 

‘ओहो, माइ गड! चीन हमारे लिए आक्सिजन जेनरेटर बना रहा है। भक्तो सुना कुछ तुमने??? फेकु ने हम बच्चो का गेम एप्स बंद कर के बढी बहादुरी दिखाई थी। लेकिन काम मे चीन की आया।। अब थूक…। 
–सेयमी मुम्बईकर       

 

Logo