कोरोनासँग लड्ने कि सँग-सँगै बाँच्न सिक्ने?

कोरोनासँग लड्ने कि सँग-सँगै बाँच्न सिक्ने?


पुग नपुग एक महिना हुन लाग्यो देशका अधिकांश भागमा निषेधाज्ञा जारी छ। विभिन्न जिल्लाका प्रशासन कार्यालयले किस्ताबन्दीमा निषेधाज्ञा थप्दै गइरहेका छन। यो क्रम कहिलेसम्म चल्छ कसैलाई थाहा छैन। 

उपत्यकाका तीनवटै जिल्ला प्रमुखले  चौँथोपटक एक साताका लागि पुनः निषेधाज्ञा थपेको छ। यो क्रम अरु कति पटक दोहाेरिने हो जिल्ला प्रमुखहरुलाई नै यसबारे केही ज्ञान छैन। भारतको समुद्र तटबाट प्रारम्भ भएको चक्रवर्ती तुफान 'यास' को प्रभाव नेपालमा पनि पर्याे ।

तपाईंलाई लाग्यो होला कोरोना संक्रमण र  निषेधाज्ञाको चर्चाका बीच पानी पर्ने कुराको के सम्बन्ध ?
यदि मैले अस्ति सर्वोच्च अदालतमा भएको जमघटबारे चर्चा गरें भने तपाईं चर्चामा प्रवेश नगरी नै मलाई केपी ओलीको दत्तक पुत्र  घोषित गर्न बेर लाउनु हुन्न।  तपाईंहरुको विचारमा प्रतिगमनतर्फ गईरहेको मुलुकलाई खै कुन गमनतर्फ हो डोर्याउन अस्ति सर्वोच्च अदालतमा भएको नौटंकी अनिवार्य थियो, अपरिहार्य थियो।

मानौं अदालतले  परमादेश जारी गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा सुशोभित गराई दियो भने कोरोना भाइरस प्रचण्ड, माधव, झलनाथ, बाबुराम, गगन आदिलाई प्रदक्षिणा गरी नेपाललाई बाई बाई गरी चीनतर्फ जान्छ।

नेपालमा दैनिक ९ हजार प्लस संक्रमित देखिने क्रम झरेर हिजो ४  हजार प्लसको ओरालो लागेको अवस्था थियो। जस्तो कि कोरोना संक्रमणको प्रवृति छ संक्रमित हुनलाई ७-१०  दिनको समय लाग्न सक्छ। यदि सर्वोच्च अदालतमा भएको मेलाको ७-१० दिनमा काठमाडाैंमा संक्रमित आउने संख्यामा वृद्धि भयो भने त्यसको जिम्मा शेरबहादुर देउवाको नेतृत्वमा भएको भेलालाई जान्छ। तथ्यांक याद राख्नुहोला आइतबार उपत्यकामा जम्मा १,०९३ ( काठमाडाैं-८०४,भक्तपुर-११३ र ललितपुर-१७६ ) संक्रमित देखिएका थिए।

चर्चा 'यास' तुफानका कारण भएको बर्षाको पनि गरौं- स्वाभाविक छ पानी पर्नाले रुघाखोकी ,ज्वरो, जिउ दुख्ने, पखाला लाग्ने आदि जस्ता लक्षण अथवा व्यथामा व्यापकता आउँछ। यी सबै नै कोरोना संक्रमणका लक्षण हुन् ।  यस्ता लक्षण देखिएका मानिस कोरोना परीक्षणका लागि तत्पर हुन्छन्। र , परम दुर्भाग्यको कुरा के भने संक्रमण परीक्षणका लागि गरिने उपाय पीसीआर परीक्षण अति त्रुटिजन्य छ। यस अन्तर्गत ३० प्रतिशतसम्म त्रुटि हुन्छ। अर्थात ३० प्रतिशतसम्म 'फाल्स पोजेटिभ' आउने सम्भावना रहन्छ।

अब यो मौसमको पनि करामात हुन्छ, आउने ८-१० दिनभित्र नेपालमा पुनः संक्रमितको संख्या वृद्धि हुन सक्छ। सामान्यजनमा कोरोनाको भय यतिसम्म व्याप्त छ कुनै स्वास्थ्य मानिसलाई नै यदि कोरोना संक्रमित भएको रिपोर्ट दिने हो भने उ यसबाट सिकिस्त नै हुन पुग्छ। विगत एक महिनामा ५ जना पोजेटिभ रिपोर्ट आएका मानिसलाई परामर्श र हौसला दिएर ३-४ दिनमै निको भएको पाएको छु। उनीहरु संक्रमित भएको भए मेरो परामर्शले स्वस्थ हुने थिएनन।  उनीहरु स्वस्थ भए, यसको कारण यति मात्रै थियो उनीहरु संक्रमित नै भएका थिएनन् पीसीआर प्रविधिको त्रुटिको शिकार भएका थिए।

सबैले हेक्का राखे हुन्छ अब कोरोना समाप्त हुँदैन।  हामीले यससँग लडेर जित्न सक्दैनौं।  यो सँगसँगै बाँच्न सिक्नु पर्छ। सर्वप्रथम बुझ्नुस अंग्रेजीमा भनिने भाइरस (virus) लाई नेपालीमा विषाणु भन्नु गलत हो। भाइरस विषको अणु अर्थात विषाणु होइन। कोरोना  भाइरस शरीरमा पसेर विष छर्दैन। कथा समग्रमा के हो भने शरीरमा पसेका भाइरसले उपयुक्त स्थान ( होस्ट सेल ) पाउँदा 'रिप्लिका' (फोटोकपी ) गरेर आफ्नो संख्या अति तीव्रताका साथ बढाउँछ। शरीरभित्र भाइरसलाई सखाप बनाउने 'अटो इन बिल्ट' प्रविधि छ।  यसले भाइरसलाई 'डिसइन्टीग्रेट' गर्छ। तर शरीरको 'अटो इन बिल्ट' प्रविधिले ( नयाँ शब्दले भ्रममा नपर्नु होला- यो भनेको इम्यून सिस्टम नै हो ) भाइरसलाई नियन्त्रित गर्न नसक्दा भाइरसको संख्यामा वृद्धि हुन्छ।  र, यो बढेको संख्याले शरीरका विभिन्न अंगमा टाँसिएर ती अंगको कार्य पद्धतिमा व्यवधान खडा गरी दिन्छन्। विस्तारै त्यस  अंगले काम गर्ने क्षमता शिथिल हुँदै जान्छ। र, यसको परिणामस्वरुप मृत्युसम्म हुन सक्छ।

सबैले हेक्का राखे हुन्छ अब कोरोना समाप्त हुँदैन।  हामीले यससँग लडेर जित्न सक्दैनौं।  यो सँगसँगै बाँच्न सिक्नु पर्छ।

अहिलेसम्म आधुनिक चिकित्सा पद्धतिसँग कोरोनाको 'रिप्लिका' रोक्ने कुनै औषधि छैन। भर्खरै भारतको 'डीआरडीओ' भन्ने संस्थाले एउटा नक्क्ली ग्लूकोज बनाएको छ जुन कोरोनाको 'रिप्लिका' रोक्न सक्ने दावी गरिएको छ। संक्रमित व्यक्तिको शरीरमा पसेका भाइरसले 'रिप्लिका' का  माध्यमबाट हुने वृद्धि रोकिना साथ व्यक्तिको इम्यून सिस्टमले एक दुई दिनमै शरीरभित्र रहेका भाइरसलाई 'डिसइन्टीग्रेट' गरी व्यक्तिलाई निको बनाउँछ। अहिले भारतमा यो औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग हुन थालेको छ। यही औषधि बनाउने वैज्ञानिक र संस्थाले अलिक घुमाउरो पाराले  बुद्धि चलाउने बित्तिकै यसै फर्मूलाबाट कोरोना संक्रमित हुन नदिने औषधि नै बन्न सक्छ।

भाइरसलाई नक्क्ली ग्लूकोज खुवाएर 'रिप्लिका' गर्नबाट रोक्ने वैज्ञानिकको दिमागमा ढीलो चाँडो यो कुरा पनि आउनेछ- भाइरसले जुन प्रोटीनको मद्दतले आफ्नो 'रिप्लिका' गर्छ यदि 'होस्ट' कोशिकामा त्यस प्रोटीनको उत्पादन नै रोकी दिने हो भने झण्झट नै रहन्न। संसारको 'बिग फर्मा हाउस र लबीबाट यस कुराको अपेक्षा नगर्नुस्। यो काम नेपाल र भारतको आयुर्वेद जगतबाटै हुन्छ, भई नै रहेको छ।

अन्त्यमा नेपाल सरकारले लगाएको निषेधाज्ञाबारे अनेकाैं पटक लेखिसक्दा पनि केही सुनवाई भएको छैन।  जिल्ला कार्यालयले प्रत्येक पटक अब निषेधाज्ञा झन कडा पारिने भन्दै आएको छ। यो बाहियात हो।  निषेधाज्ञा  कडा होइन व्यवहारिक र वैज्ञानिक किसिमको हुनु पर्छ। अहिले कोभिड नियन्त्रणको समितिमा 'आर्मी पर्सन'को आगमन भएको छ। आशा छ उनले विज्ञहरुसँग सलाह लिई काम गर्नेछन्।

कोरोनाबाट जोगिने मूल मन्त्र २ मिटरको दूरी हो। जबसम्म यो २ मिटरमाथि मन्थन गरिंदैन तबसम्म न कोरोनाबाटै जोगिन सकिन्छ न त निषेधाज्ञाबाटै मुक्ति पाउन सकिन्छ।

हामीले कोरोना सँगसँगै बाँच्न सिक्नु पर्ने बाहेक अन्य केही उपाय छैन। जतिसुकै पीडादायी भए पनि एक महिने निषेधाज्ञाको प्रभावकारिताले कोरोनाको ग्राफ ओरालो लागेको हो। दैनिक ९ हजार प्लस पुगेको संक्रमण संख्या ४ हजार प्लसमा झरेको छ। यो निषेधाज्ञाकै उपलब्धि हो। तर अहिले नै ढुक्क हुने बेला भएको छैन।  

दैनिक ४ हजार प्लसको संख्या पनि डरलाग्दो हो। र,हामीले  बिर्सनु हुन्न देशमा अझै १ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यी मध्ये कोही एकजना पनि तपाईंको छेउछाउ छ भने तपाईं उच्च जोखिममा हुनुहुन्छ। यी प्रमाणित एक लाख र हुन सक्छ यति नै मात्रामा अप्रमाणित संक्रमित पनि छन् देशमा।  यदि हामी यी प्रमाणित र अप्रमाणित संक्रमितबाट जोगिन सक्यौं भने आउने एक महिनामा हामी खतरामुक्त हुन सक्छौं।  कोरोना संक्रमणबाट जोगिन सबैभन्दा ठूलो  महामन्त्र २ मिटरको दूरी हो। यो मास्कभन्दा पनि कल्याणकारी उपाय हो। मास्कको उपयोगिता २ मिटरभन्दा वर आउने स्थितिमा हो। व्यक्ति व्यक्तिकाबीच २ मीटर दूरी कायम रहेमा कोरोना संक्रमणबाट जोगिन अन्य कुनै उपायका लागि मरिहत्ते गर्नु आवश्यक छैन।

कोरोना छ अझै केही वर्ष रहन्छ।  हामीले यस सँगसँगै बाँच्न सिक्नुको अलावा कुनै उपाय छैन।

Logo