किर्ते गरी जग्गा पास गर्ने पक्राउ

किर्ते गरी जग्गा पास गर्ने पक्राउ


ओखलढुंगा,

वडा कार्यालयका सरकारी कागजात किर्ते गरी जग्गा पास गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन् । सुनकोसी गाउँपालिका–९ ककनीका कर्णबहादुर तामाङलाई सोही वडाको छाप, लेटरप्याड, मालपोत रसिद लगायत किर्ते गरी जग्गा पास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी नायब निरीक्षक पुष्पराज मल्लले बताए । पक्राउ परेका तामाङलाई बिहीबार जिल्ला अदालतमा पेस गरिएको मल्लको भनाइ छ । उनीविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले सबै विवरण सार्वजनिक गरेको छैन ।

 

यसअघि सोही मुद्दामा स्थानीय ४४ वर्षीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परिसकेका छन् । कर्णबहादुरको अगुवाइमा सबै कागजात किर्ते गरेर २०७६ जेठ १ गते अम्बरबहादुरको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कागजात किर्ते गरी जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेस गर्ने क्रममा पञ्चबहादुर परेसँगै घटना सार्वजनिक भएको थियो।

सरकारी कागजात किर्ते गरी जग्गाको समेत कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर फरार थिए । पक्राउ परेका अन्य व्यक्तिहरूले समेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान प्रहरीसमक्ष दिएका थिए ।
नागरिकबाट

Logo