उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन उपत्यका फोरमको आग्रह

उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन उपत्यका फोरमको आग्रह


काठमाडौं ।

उपत्यका नगरपालिका फोरमले उपत्यकामा जारी निषेधाज्ञा आगामी भदौ १५ गतेसम्म थप्न जिल्ला प्रशासनलाई आग्रह गरेका छन् ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो आग्रह गरेको हो । उपत्यकामा समूदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको टीमसहित भोलिबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढउछौं,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौं । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टीम पनि हाम्रो साथमा रहने छ ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नु पर्ने हुन सक्ने बताए। उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने तथा पीसीआर औषधि होइन त्यसैले रहरले परीक्षण गर्नेहरुलाई होइन कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजी खोजी परीक्षण गरिने उनले जानकारी दिए ।

त्यस्तै बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्यकबाहेकका सेवालाई भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उनका अनुसार उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ ।’ उनले भने, निषेधाज्ञाको अवधि भित्रै कन्ट्राक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढ्छौं।

बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनु पर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनु पर्ने जस्ता माग गरेका छन् ।

Logo