सोलुखुम्बु,
स्थानीयतहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् । ‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा तिङ्लामा कुनै पनि पार्टीले उम्मेदवारी नै दिएका थिएनन् ।
त्यति मात्र होइन, प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा समेत यहाँका बासिन्दा कसैले पनि मतदान गरेनन् । त्यति बेला निर्वाचन आयोगले मतदानका लागि बिहान ७ देखि ५ बजेसम्म मतपेटिका राखे पनि एकै जनाले पनि मतदानमा भाग लिएनन् । राज्य पुनःसंरचनाका क्रममा साविकको तिङ्ला गाविसलाई नेचा सल्यान गाउँपालिकामा समावेश गरेर अन्याय गरेको भन्दै सोलु दूधकुण्ड नगरपालिकामा समावेश गराउन आन्दोलित बनेका तिङ्लावासीले त्यस बेला निर्वाचनमा भाग नलिएका हुन् । अहिले माग पूरा भइसकेको छ ।
तिङ्लाका बालकुमार कार्कीले भन्नुभयो, “अब हाम्रो सबै समस्या समाधान भइसकेको छ । जनप्रतिनिधि नहुँदा कतिपय कुरामा समस्या हुने भएकाले मङ्सिरमा हुने उपनिर्वाचनमा तिङ्लालाई पनि समावेश गर्नुपर्छ ।” पटकपटक आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग उहाँको माग छ ।
निर्वाचनको माग गर्दै सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको ध्यानाकर्षण गराउनु भएको छ । आगामी मङ्सिर १४ मा गर्ने भनिएको उपनिर्वाचनको सूचीमा तिङ्लाको नाम समावेश नभएपछि नगरप्रमुख शेर्पाले मन्त्री पण्डित र मन्त्रालयका सचिव यादव कोइरालालाई भेटी तत्काल निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
यता निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आयोगले गएको स्थानीयतहको निर्वाचनमा त्यहाँ मतदानका लागि मतपेटिका राखेकै हो, मतदान भएन, यसपटक त्यहाँका बासिन्दा मतदान गर्न इच्छुक छन् र मतदान हुन्छ भन्ने प्रत्याभूति सरकारले गराउँछ भने उपनिर्वाचन गराउन सकिने बताउनुभयो ।
गोरखापत्रबाट
प्रकाशित: २२ साउन २०७६ ०८:०० बुधबार