अन्य

भूकम्पबाट क्षति भएका ३८० सम्पदाको पुनःनिर्माण सम्पन्न

15 Shares

काठमाडौं,

चार वर्ष अघिको भूकम्पबाट क्षतिभएका ८९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका सम्पदामध्ये ३८० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सम्पन्न भएका मध्ये विश्व सम्पदा सूचीमा सूचीकृत नौ सम्पदास्थलका ९६ वटा मूर्ति, मठमन्दिरको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको जानकारी अनुसार, भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ७५३ र अन्य भूकम्प प्रभावित १७ जिल्लाका १३८ वटा सम्पदा क्षतिग्रस्त भएका थिए । यी सम्पदाको पुनःनिर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार, हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनःस्थापना तथा तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी, नारायण, शङ्रख नारायण लगायत मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएका छन् ।

यस्तै चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाको पनि पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनः स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनःनिर्माण भएको छ । ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्यसमेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जङ्गहीरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरूको पुनःनिर्माण भइसकेको छ ।
गोरखापत्रबाट

प्रकाशित: २३ श्रावण २०७६ ०६:४० बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी