काठमाडौं,
सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गीसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण अनुसन्धानको फाइल झिकाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले विहीबार सम्पत्ति शुद्धिकरणको विषयमा उनीमाथि गरिएको फाइल विभागबाट मगाएको हो ।
सुमार्गीले नेपाल स्याटलाइट टेलिकममा लगानी गर्ने उद्देश्य देखाएर विदेशबाट ल्याएको करिब ४ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धिकरणको विषयमा गरेको अनुसन्धानको फाइल मगाएको हो । नेपाल राष्ट्र बैंकले रोक्का गरी राखेको खाताको रकमबारे विभागको अनुसन्धानको फाइल मगाइएको हो ।
सो विषयमा सर्वोच्च अदालतमा दुई बर्षदेखि मुद्दा विचाराधिन छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको छ । आफ्नो खाताको रकम रोक्का भएपछि २०७४ को माघ २१ मा सुमार्गी सर्वोच्च अदालतमा पुगेका थिए ।
सुमार्गीले वैदेशिक लगानी ल्याउँदा राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा रोक्का राखेको भन्दै नेपाल स्याटलाइट टेलिकमका तर्फबाट ती निकायले आफूलाई हैरानी दिएको दावीसहित रिट दर्ता गराएका थिए ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले माघ २३ गते सुमार्गीले चाहेको बेला रकम निकाल्न पाउनेगरी अन्तरिम आदेश जारी गरेको थियो । रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धिकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न पाउने उक्त आदेशमा उल्लेख थियो । पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो ।
नागरिकबाट
प्रकाशित: २४ साउन २०७६ ०६:३१ शुक्रबार