ओलीको शीतल छहारी पाउने आशमा एमाले प्रवेश गरेँः पूर्वआइजीपी खनाल

ओलीको शीतल छहारी पाउने आशमा एमाले प्रवेश गरेँः पूर्वआइजीपी खनाल


नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए । आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए । 

देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदा देखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए । 

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए । साथै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्काे पाउन नसकेको बताए ।  

खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएका थिए । जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडाैंकाे मेरियट हाेटलमा राखेकाे जसपाले आराेप लगाएकाे थियाे । खनाल नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका  थिए ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही. १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन् ।

Logo