तीज शुरु : आज दर खाने दिन

तीज शुरु : आज दर खाने दिन


काठमाडौं ।

तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । तीजको अघिल्लो दिन आज दर खाने दिन हो । यसै दिनबाट तीज पर्वको शुरु हुन्छ । दरमा खीर, ढकने वा सेलरोटी आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ । तर यस वर्ष विगत जस्तो तीजको रौनक भने छैन । कोरोनाका कारण छोरीचेलीहरु माइत जान सक्ने अवस्था छैन । तैपनि आफ्नो परम्परा जोगाउनका लागि जो जहाँ छन् त्यहिं तीज मान्ने तयारीमा छन् ।

तीजका दिन पानीसम्म नपिई ब्रत बस्नु पर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि मिठा मिठा परिकार खाने प्रचलन बसेको हो । तर केही वर्ष अघिदेखि तीजको दर खाने नाममा एक महिना पहिलेदेखि भोजभतेर गरेर संस्कृतिका नाममा विकृति सुरु भएको छ । यसवर्ष कोरोनाकै कारण त्यस्तो विकृतिमा पनि कमी आएको छ ।

परम्परा मान्ने हो भने दर खाने मुख्य दिन आज हो । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरु दर खाँदैछन् । भोलिको व्रतमा दिनभर निराहार रहनका लागि भाद्र शुक्ल द्वितीयामा दर खाने चलन छ । आज राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाना खाने परम्परा छ ।

धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न संस्कृतिकर्मीले अनुरोध गरेका छन् ।

Logo