कोरोना संक्रमित विश्वका चर्चित व्यक्तित्वहरु (भिडियोसहित)

कोरोना संक्रमित विश्वका चर्चित व्यक्तित्वहरु (भिडियोसहित)


काठमाडौं ।

यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । यो सामाग्री तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १६ लाख ४१ हजार नाघेको छ । त्यस्तै यो भाइरसको संक्रमणबाट ७ लाख ६९ हजार भन्दा बढीको मृत्यु भएको छ भने १ करोड ४३ लाख ५० हजार भन्दा बढी निको भएका छन् । विश्वभर टाउको दुखाईको विषय बनेको कोरोना भाइरसले धनी गरिव, कनिष्ठ वरिष्ठ कसैलाई पनि छोडेको छैन । आज हामीले कोरोनाबाट संक्रमित वरिष्ठ व्यक्तित्वहरुका बारेमा चर्चा गर्दैछौं ।

भिडियोमा :

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमण भएका मुखर्जी हाल कोमामा पुगेका छन् । मुखर्जीको हाल दिल्लीस्थित आर एन्ड आर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले उनको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको र भेन्टिलेटरकै सहयोगमा रहेको बताएका छन् ।

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेकलाई गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो । अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवालाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनीहरुलाई ११ जुलाईमा मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । हाल दुवैले भाइरसलाई जितेर घर फर्किसकेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना भाइरस संक्रमणबाट अछुतो रहेनन् । १० दिन घरमै सेल्फ आइसोलेसनमा बसेका उनको स्वास्थ्यस्थिती गम्भीर भएपछि उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालको सघन उपचारकक्षमा समेत राखिएको थियो । अन्ततः उनले कोरोनालाई जितेर आफ्नो सरकारी निवास ‘चेकर्स’ मा फर्किसकेका छन् ।

त्यस्तै बेलायती स्वास्थ्यमन्त्री नदिन डोरीजमा पनि कोरोना संक्रमण देखिएको थियो । कनिष्ठ स्वास्थ्यमन्त्री डोरीजले घरभित्रै क्वारेन्टाइनमा बसेर कोरोनालाई जितेकी थिइन् ।

इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यान

इजरायलका स्वास्थ्यमन्त्री ७१ वर्षीय याकोभ लिजम्यान र उनकी श्रीमती भाइरसबाट संक्रमित भएका थिए । उनीहरु संक्रमित भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो । सरकारी निर्देशिका बमोजिम आइसोलेसनमा बसेर हाल दुवै जना ठिक भइसकेका छन् ।

बेलायती राजकुमार चाल्स

७१ बर्षे बेलायतका राजकुमार चाल्सलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनी स्कटल्यान्डस्थित एक दरवारमा आइसोलेसनमा बसेका थिए । चाल्स सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा संक्रमित भएका थिए । हाल उनी संक्रमण मुक्त भइसकेका छन् । चाल्स नेपालसँग धेरैअघि देखि भावनात्मकरुपमा नजिक रहेका छन् । धनकुटा भेडेटारमा उनी सधैं स्मरणिय हुनेगरी एउटा अग्लो स्थानको नाम ‘चाल्स प्वाईन्ट’ राखिएको छ ।

उल्लेखित व्यक्तिहरु उदाहरण मात्र हुन् । विश्वमा अरु को को छन् त यसरी कोरोना संक्रमित उच्च व्यक्तिहरु ? थप विवरण माथिकाे भिडियोमा हेरौं ।

 

Logo