क्यासिनो सञ्चालक सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर

क्यासिनो सञ्चालक सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर


झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्रबहादुर सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सिंहलाई प्रमुख प्रतिवादी बनाएर आयोगले चार जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्यासिनोमार्फत विदेशी मुद्रा (भारतीय रुपैयाँ र अमेरिकी डलर)को अवैध कारोबार, जुवालगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तहतहमा रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्ने समेतका निषेधित काम गरेको विभागको ठहर छ । त्यसबाट उनले प्रत्यक्ष रूपमा पुनः प्राप्त भोगचलन, उपयोग, उपभोग र धारणसमेतका कार्य गरेको विभागले जनाएको छ ।

पत्नी जयन्ती थापा मगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायतका कार्य गरी कसुर गरेको विभागको दाबी छ । कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्यहरू शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद–बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको आरोपपत्रमा उल्लेख छ । 

‘कसुर अपराध गरी प्राप्त सम्पत्तिको गैरकानुनी स्रोतको रूपान्तरण र हस्तान्तरणलगायतका निषेधित कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरेन्द्रविरुद्ध विभागले २७ करोड ६७ लाख ७८ हजार बिगो कायम गरेको छ । उनको नाममा रहेका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि विभागले पत्नी शारदादेवी सिंह, छोरा जीवनबहादुरलाई पनि आयोगले प्रतिवादी कायम गरेको छ । सिंहले क्यासिनो पछि जयन्ती थापालाई बेचेका थिए । यस मुद्दामा करिब तीन वर्ष लामो अनुसन्धान टुंग्याएर विभागले अदालतमा मुद्दा दायर गरेको हो । 

Logo