मुस्ताङ: जित दोहोर्‍याउने एमाले र पुनरागमन हुने कांग्रेसको दाउ

मुस्ताङ: जित दोहोर्‍याउने एमाले र पुनरागमन हुने कांग्रेसको दाउ


मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । 

मुस्ताङमा एमालेले जित दोहो¥याउने र कांग्रेस पुनरागमन हुने रणनीतिका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीनपटक र एमालेले दुईपटक संसदीय निर्वाचन जितेका छन् । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचन र कांग्रेसका गण्डकी प्रदेश सदस्य योगेश गौचन प्रमुख प्रतिस्पर्धी छन् । विसं २०७० को चुनावमा कांग्रेसका रोमी गौचन थकालीले कांग्रेसबाट बागी उठेका प्रेमलाई पराजित गर्दै निर्वाचित भएका थिए। 

विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेमले रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरे । विसं २०७० मा १३ मतले चुनाव जितेका गौचन र २०७४ मा तुलाचनसँग चार सय ८५ मतान्तरले पराजित भए । गौचन २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७३ मा वाणिज्यमन्त्री बनेका रोमीका छोरा योगेश यसपालि उम्मेदवार बनेका छन् । 

तुलाचन ६२ र योगेश २९ वर्षका छन् । योगेश कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने कान्छा उम्मेदवार समेत हुन् । रोमी र प्रेम मामा–फूपूका छोरा भएको बताइएको छ । थकाली संस्कारअनुसार उनीहरूबीच सोल्टीको साइनो छ । प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् 

निर्माण व्यवसायी पृष्ठभूमिका तुलाचन जिल्ला विकास समितिको पूर्व सदस्य, थासाङ स्पोर्टस् क्लबका पूर्वअध्यक्षका साथै विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्व गरेको अनुभव छ । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । 

गत वैशाखको स्थानीय तह निर्वाचनमा मुस्ताङका पाँच स्थानीय तहमध्ये चार पालिकाको अध्यक्ष एमालेले जितेको छ भने एउटा पालिकाको अध्यक्ष र दुई उपाध्यक्ष कांग्रेसले जितेको छ । पालिका अध्यक्षको मतभार हेर्दा एमाले करिब चार सय मतले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ । विस २०७४ को चुनावमा जिल्लाको प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । 

तीन सिटका लागि १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनान्चालीस मतदान केन्द्र र १९ हजार नौ सय ५७ मतदाता छन् । राप्रपाका मानबहादुर विश्वकर्मा, राप्रपा नेपालका प्रवीणकुमार शेरचन, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शेरचन, सुरज लालचन र सुदेश शेरचनले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका छन् । 

प्रदेशसभा क्षेत्र (१) मा एमालेका इन्द्रधारा विष्ट, कांग्रेसका नम्डु गुरुङ, (२) मा एमालेका चन्द्रमोहन गौचन, कांग्रेसका विकल शेरचन, राप्रपाका जेम्स हिराचन र राप्रपा नेपालकी कर्मडोल्कर गुरुङ उम्मेदवार छन् । यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका एमालेका नेता चन्द्रमोहन गौचन यसपालि प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न कांग्रेसले प्रदेशसभामा पनि ४० वर्ष मुनिका युवालाई चुनावी मैदानमा उतारेको छ ।

त्रिपन्न वर्षका एमालेका उम्मेदवार विष्टको प्रतिस्पर्धामा कांग्रेसले ३३ वर्षका गुरुङलाई उतारेको छ । एमालेका उम्मेदवार ५५ वर्षीय गौचनको प्रतिस्पर्धामा कांग्रेसबाट ३९ वर्षका शेरचन उत्रिएका छन् । कांग्रेसका उम्मेदवारलाई सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सर्मथन गरेका छन् ।  

लामो समयदेखि राजनीतिमा क्रियाशील रहेको, विगतमा पनि चुनाव जितेको अनुभव, स्थानीय तहको मतपरिणाम र प्रभावशाली सङ्गठन जितको आधार भएको एमाले उम्मेदवार तुलाचनको भनाइ छ । कांग्रेसका उम्मेदवार गौचनले नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आवद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने बताउँछन् । 

राजनीतिक दलहरूले सभाको विकल्पमा घरदैलो र मतदाता भेटघाट तथा कार्यकर्ता परिचालनलाई चुनाव प्रचारको माध्यम बनाएका छन् । उम्मेदवारले चीनको सिमानामा रहेको कोरलानाका सञ्चालन गर्ने र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिएर भोट मागेका छन् । 

जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदातासमक्ष प्रतिबद्धता गरेका छन् । कोरलानाका खुलाउन सकेमा मुस्ताङमात्र नभएर गण्डकी प्रदेशकै आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उम्मेदवारहरूको भनाइ छ ।
 

Logo