सीमा विवाद समाधान गर्न सरकार गम्भीर नभएको सांसदहरुको आरोप

सीमा विवाद समाधान गर्न सरकार गम्भीर नभएको सांसदहरुको आरोप


काठमाडौं । सांसदहरुले नेपालको अद्यावधिक नक्सा जारी गरेपनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाएका छन । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गरिएको छलफलमा सांसदहरुले त्यस्तो आरोप लगाएका हुन् ।

स्ट्रिप नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोग चलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन । सांसद देवेन्द्रराज कँडेलले नयाँ नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ कि छैन भन्ने प्रश्न गरेका थिए । द्वन्द्वकालमा नेपाली टोली समेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएकाले गम्भीरता देखाएर यो विषयमा अध्ययन गर्नुपर्नेमा उनको जोड छ ।

त्यस्तै सांसद रामसहायप्रसाद यादवले सीमा सम्बन्धि वास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्याङ्क सम्बन्धित मन्त्रालय लगायत सरोकारलाहरुसँग छ कि छैन भन्ने प्रश्न गरेका थिए । नयाँ नक्सा जारी भएपनि सीमा समस्या समाधानका लागि सरकार तयार नभएको उनको आरोप छ । सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनाको अनुसन्धानमा सरकार चुकेको बताए । साथै, जग्गाधनी पुर्जा समेतको भूमि भारततर्फ जाँदा समेत सरकार गम्भीर नभएको उनको आरोप छ । नेपालभित्र हात–हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतंकित बनाउने गरेको कुरा पटक पटक संसदमा उठाउँदा पनि सरकारले वास्ता नगरेकोमा उनको गुनासो छ ।

त्यस्तैगरी सांसद रेखा शर्माले दीर्घकालीनरुपमा सीमा समस्या समाधान गर्नेतर्फ सरकार अग्रसर हुनुपर्नेमा जोड दिइन् । उनले द्वन्द्वकालीन समयमा सीमा निर्धारण टोलीमा को को थिए भन्ने सत्यतथ्य पत्ता लगाएर उनीहरुलाई नै समितिमा बोलाउनुपर्ने माग गरिन । बैठकमा सांसद देवेन्द्रराज कँडेलको प्रश्नको जवाफ दिँदै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताएकी थिइन् । स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान भएको उल्लेख गर्दै मन्त्री अर्यालले भारतको केही भूमि नेपालतर्फ समेत भएको बताइन् ।

बैठकमा कोभिड—१९ का सन्दर्भमा पनि छलफल गरिएको थियो । प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस रोकथामका लागि सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति आपत्ति समेत जनाएका थिए । मन्त्री ढकालले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सरकारको आलोचना गर्नेहरुप्रति मति सप्रियो भन्दै शुभकामना दिएका थिए ।

Logo