१३ मंसिर २०७८ सोमबार

0 Shares

विपन्‍न जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं । वायु कम्पनीहरूले विपन्न वर्गका जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छूट दिने निर्णय गरेका छन् । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने निर्णय गरेका हुन् । यो छुट असोज १२ घटस्थापनाको दिनबाट लागु हुनेछ ।

वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने निर्णय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने संघका अध्यक्ष क्या. रामेश्वर थापाले जानकारी दिए ।

साना विमानस्थलमा भने प्रतिदिन प्रतिसेक्टर १ जनालाई यो सुविधा दिइनेछ । अब जेष्ठ नागरिकले छूट पाउन भने हवाई कम्पनीको काउन्टर मै उपस्थित भई आफू विपन्न भएको स्वघोषणा गर्नुपर्ने शर्त कम्पनीहरुले राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छूटको घोषणा गरेका थिए । मन्त्रीको घोषणालाई शुरुमा विरोध गरेका वायुसेवा कम्पनीले अहिले भने शर्तसहित समर्थन गरेका हुन् ।

यसअघि नेपाल एयरलाइन्सले सबै आन्तरिक उडानमा ५० प्रतिशत छूटको घोषणा गरेको थियो । श्री एयरले समेत ८५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र ५ सय र ७५ वर्षभन्दा माथिका दुई जनालाई एक उडानमा छूट घोषणा गरेको थियो ।

प्रकाशित: १० असोज २०७६ १९:१८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी