काठमाडौं,
गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठ जस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । विहिबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो ।
उहाँले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारी जस्ता घटना अत्यधिक हुने भएकाले सोही अनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिनुभयो । गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्न समेत निर्देशन दिनुभएको छ ।
बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित: १७ असोज २०७६ ०६:०० शुक्रबार