‘काठमाडौंमा देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबैको सहयोग आवश्यक’ -मन्त्री चौधरी

‘काठमाडौंमा देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबैको सहयोग आवश्यक’ -मन्त्री चौधरी


सहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन् । 

मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमती आवश्यक्ता रहेको प्रष्टयाएका हुन् । 

२८औं महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरु संचालन गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराए । 
 
उनले भने- ‘काठमाडौं उपत्यका देखिएको फोहोरमैलाको समस्यालाई समाधान गर्न, दिनप्रतिदिन विभिन्न नदीका किनाराहरुमा बढदै गएको बसोबास एवम् बसोबासीहरुको व्यवस्थापन गर्ने कार्य चुनौति बन्दै गएको छ । सहरको सौन्दर्य प्रत्यक्ष असर पार्ने यस्ता समस्याहरुलाई समयमै समाधान गर्न अति जरुरी भईसकेको छ । जसका लागि सबै पक्षको सहयोग र सहमतीको आवश्यक्ता पर्दछ । आगामी दिनहरुमा यस्ता समस्या एवम् चुनौतिहरुको सामना गर्न काठमाडौं महानगरपालिका समक्ष तथा सफल हुनेछ भन्ने विश्वास गरेको छु ।’
 
मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहारमैलालगायतका समस्या समाधान गरी अघि बढ्न काठमाडौं महानगरपालिका सफल हुने विश्वास समेत व्यक्त गरे । उनले बसोबासयोग्य सहरको रुपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि दोहो-याए । 

Logo