अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी

अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी


सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सो जानकारी गराएका हुन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको २४औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौंताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पारे । 

बाह्य पर्यटकहरुको संख्या नेपालमा बढ्दै गएकाले पनि ती देशहरुमा सिधा हवाई उडानको आवश्यक्ता रहेकाले सरकारले सो कामलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाई थियो । 

उनले भने, ‘अमेरिकासँगको एयर सर्भिस एग्रिमेन्ट, स्वीजरल्याण्डसँगको, रुवान्डासँगको एयर सर्भिस एग्रिमेन्टको प्रोसेस अगाडि बढेको छ । हामी अरु देशहरुसँग पनि जहाँ धेरै सम्भावना छ । त्यहाँ एयर सर्भिस एग्रिमेन्ट गर्दै जाऊ । एउटा एयरलाईन्सहरुबीचको एलाईन्स यसले निर्माण गर्छ । हाम्रो यात्रुहरुको संख्या बढछ । किनकी टुरिज्म सेक्टर रिभाईभ हुँदैछ । टुरिष्टहरुको संख्या बढिरहँदाखेरी एभिएशन मार्केट पनि बढदै जान्छ । त्यसका लागि हामीले ग्लोबल्ली र सम्भावित देशहरुसँग एयर सर्भिस एग्रिमेन्ट गर्दै जानुपर्ने आवश्यक्ता रहन्छ ।’ 

साथै कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका  महानिर्देशक प्रदीप अधिकारीले दूर्गम क्षेत्रहरुमा उडान भर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पु-याउनका लागि अतिरिक्त समय संचालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताए । उनले दूर्गम क्षेत्र हवाई कोष संचालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरुको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइएको पनि बताए । 

उनले भने, ‘नेपालगंज विमानस्थलबाट दुर्गम क्षेत्रमा यात्रा गर्दा हवाई यात्रुहरुले सधैं महंगो भाडा तिरी चार्टर उडानमा यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा हाल वायु सेवा कम्पनीहरुलाई वायु यानको संख्याको आधारमा ९५ प्रतिशत सेड्युल उडान गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ भने बाँकि ५ प्रतिशत कार्गो उडानलाई चार्टर उडानको रुपमा यात्रुको नियमित उडान भएपश्चात मात्र गर्ने व्यवस्था लागू गरिएको छ ।’ 

प्राधिकरणले नेपालगंज विमानस्थलबाट दूर्गम क्षेत्रहरुमा महंगो भाडा तिरी चार्टर उडान गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउँदै आएको छ । 

कार्यक्रममा बोल्दै क्याप्टेन रामेश्वर थापाले हवाई सेवालाई अझै बलियो बनाउने गरी काम गर्न ट्रेड युनियनहरुलाई आग्रह गरे । उनले हवाई सेवाको कामले गति लिने वित्तिकै त्यसबाट आउने मुनाफा ट्रेड युनियनहरुको हितमा हुने समेत स्मरण गराए । नेपाल नागरिक उडड्यन प्राधिकरणले हवाई उडानलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता क्याप्टेन थापाले औंल्याए । 

Logo