गण्डकी प्रदेश सभाका एक मात्रै पिएचडी सांसद डा. टकराज गुरुङ

गण्डकी प्रदेश सभाका एक मात्रै पिएचडी सांसद डा. टकराज गुरुङ


लमजुङबाट निर्वाचित सांसद डा. टकराज गुरुङ गण्डकी प्रदेशसभा सदस्यका पहिलाे र एक मात्रै पिएचडी गर्ने सांसद हुन् ।  प्रदेश सभा सचिवालयबाट सार्वजनिक विवरणअनुसार प्रदेश सभाका ६० सदस्यमध्ये लमजुङ (क) १ बाट निर्वाचित सांसद गुरुङको शैक्षिक योग्यता सबैभन्दा बढी रहेकाे उल्लेख छ । 

डा. गुरुङले पर्यटन अर्थशास्त्रमा पिएचडी गरेका हुन् । संघीयता कार्यान्वयनपश्चात दुई पटक निर्वाचन भएकाे र यसरी निर्वाचित हुनेमध्ये विद्यावारिधी उपाधी अर्थात पिएचडी गर्ने गुरुङ पहिलो हुन् । अघिल्लो कार्यकालमा पनि गण्डकी प्रदेशका सांसदहरूको उच्चतम शैक्षिक योग्यता स्नातकाेत्तर मात्रै थियो । 

राजनीतिमा नीति, नियम, ऐन बनाउनेदेखि प्रदेशको समृद्धिका लागि शैक्षिक योग्यता महत्वपूर्ण हुने सरोकारवालाहरुको बुझाई छ । बदलिदो परिस्थितीलाई समयानुकुल नीति निर्माण, आधुनिक प्रविधिको प्रयोग, विकास र समृद्धिका लागि पनि शैक्षिक योग्यता भएको जनप्रतिनिधि आवश्यक पर्ने सरोकारवालाहरू बताउँछन् ।  

काग्रेस लमजुङको सभापति समेत रहेका डा. गुरुङ पर्यटनविद् र कुशल योजनाकार हुन् । पर्यटन क्षेत्रको विकासका सम्भावनाहरू र ग्रामीण पर्यटनको विषयमा डा. गुरुङसँग विशेष विज्ञता छ । ग्रामीण पर्यटनमार्फत अर्थतन्त्रको विकास गर्न सकिने विभिन्न किसिमका योजनाहरू आफूसँग रहेको डा. गुरुङ बताउँछन् । 

आफू गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै लमजुङसहित प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका पर्यटकीय श्रोत र सम्भाव्यताको पहिचान, प्रवर्द्धन र विकास गरी अर्थतन्त्र सुदृढिकरणका लागि ज्ञान क्षमताको सदुपयोग गर्ने डा. गुरुङले बताए । ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा विज्ञतालाई प्रयोग गरी पर्यटकीय क्षेत्रको विकासमा फड्को मार्न सकिने डा. गुरुङको विश्वास छ । 

गण्डकी प्रदेश सभामा लमजुङबाट निर्वाचित डा. गुरुङ बाहेक नौ जना सांसद स्नातकोत्तर उत्तिर्ण छन् भने १६ जनाले स्नातक हासिल गरेका छन् । यसैगरी प्रमाणपत्र तह र एसएलसी उत्तीर्णमा १६/१६ जना रहेका छन् । दुई सांसद साक्षर छन् । 

प्रदेशसभा सचिवालयका अनुसार एमालेका ६, कांग्रेसका दुई र माओवादी केन्द्रका एकजनाले स्नातकोत्तर गरेका छन् । स्नातकोत्तर गर्नेमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, एमालेकै लिलबहादुर थापामगर, सुधिरकुमार पौडेल, सीताकुमारी सुन्दास, गोविन्दबहादुर नेपाली, देवका पहारी त्रिपाठी रहेका छन् । यसैगरी कांग्रेसका डिल्लीराम सुवेदी, जीतबहादुर शेरचन र माओवादी केन्द्रका फणीन्द्र देवकोटाले पनि स्नातकोत्तर गरेका छन् ।

स्नातक तह उतिर्ण गर्ने सांसदमा कांग्रेसका नौ र एमालेका सात जना छन् । प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गर्नेमा कांग्रेसका नौ, एमालेका पाँच र माओवादी केन्द्रका दुईजना सांसद छन् भने एसएलसी उत्तिर्ण सांसदमा कांग्रेस र माओवादीका पाँच-पाँच जना, एमालेका चार र राप्रपाका दुई जना रहेका छन् । 

प्रदेशसभा सचिवालयले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधिबमोजिम प्रदेशसभा सदस्यको व्यक्तिगत विवरण फाराम भर्ने क्रममा सांसदहरूले आफ्नो शैक्षिक योग्यता खुलाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा सबैभन्दा बढी कांग्रेसका २७, एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् । ०७४ को निर्वाचनमा भने आठ जना स्नातकोत्तर र २१ जना स्नातक उत्तीर्ण थिए । १७ जना प्लस टु तथा प्रमाणपत्र तह र सातजना प्रदेशसभा सदस्य एसएलसी उत्तीर्ण थिए । एसएलसीभन्दा कम पढेकामा सातजना थिए ।

Logo