सर्वाधिक गोलकर्ताको सूचीमा मेसी कि रोनाल्डो अघि ? [भिडियोसहित]

सर्वाधिक गोलकर्ताको सूचीमा मेसी कि रोनाल्डो अघि ? [भिडियोसहित]


फुटबल खेलको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी को–को छन् ? यो धेरैको चासोको विषय हो । समकालीन फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको दौडमा अहिलेका केही चर्चित खेलाडीहरु नै अघि छन् । जसमा साउदी अरेबियाबाट खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, फ्रेन्च क्लब पीएसजीबाट खेलिरहेका अर्जेन्टाइन स्टार खेलाडी लियोनल र हालै भौतिक शरीर त्यागेका पेले नै अग्रस्थानमा छन् । फिफाले कहिल्यै पनि गोलकर्ताहरूको आधिकारिक विवरण सार्वजनिक नगर्ने भएकाले हामीले फुटबलको इतिहास तथा तथ्याङ्क राख्ने अन्तर्राष्ट्रिय महासंघ (आइएफएफएचएस) लाई आधार मानेर एक रिपोर्ट तयार गरेका छौं—  

१०. जो बम्ब्रिक (६१६ गोल)
सूचीको दशौं नंबरमा छन् उत्तर आयरल्याण्डका जो बम्ब्रिक । सन् १९२६ देखि १९३९ सम्म उत्तर आयरल्याण्डका लागि खेलेका बम्ब्रिकले आफ्नो करिअरमा ६१६ गोल गरेका थिए । व्याबसायिक खेल जीवन चेल्सी र वाल्सलका लागि खेलेका बम्ब्रिकले आफ्नो करियरको धेरै समय घरेलु क्लब ग्लेन्टोरन र लिनफिल्डका लागि खेलेका थिए । बम्ब्रिकको सबैभन्दा प्रभावशाली प्रदर्शन भने क्लब लिनफिल्डलाई नै मान्न सकिन्छ । उनले क्लबका लागि १८३ खेलमा २८६ गोल गर्न सफल भएका थिए । बम्ब्रिकले आफ्नो करिअरको सुरुवात अर्थात सन् १९३० मा वेल्सका लागि एक खेलमै ६ गोल गरेर नयाँ रेकर्ड राख्न सफल भएका थिए । 

९. युसोबियो (६१९ गोल) 
यस्तै सूचीको नौं नम्बरमा छन् युसोबियो । क्रिस्टियानो रोनाल्डोभन्दा पहिले पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने व्यक्ति थिए युसोबियो । युसोबियोले आफ्नो करिअरमा ६१९ गोल गरे । क्लब बेन्फिकाका लागि १६ वर्ष खेलेका युसोबियोले आफ्नो करिअरको अन्त्यमा मोजाम्बिकको घरेलु क्लब स्पोर्टिङ डे लोरेन्को मार्केसमा बिताएका थिए । जहाँ उनले ४२ खेलमा ७७ गोल गर्न सफल भएका थिए ।  सन् १९६१ देखि १९७३ सम्म १३ वर्ष पोर्चुगलका लागि खेलेका युसोबियोले देशका लागि भने ६४ आधिकारिक खेल मात्रै खेलेका थिए । तैपनि, उनले सो अवधिमा देशका लागि ४१ गोल गरेका थिए । सन् १९६६ मा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याएका युसोबियोले ले सोही वर्ष व्यक्तिगत प्रदर्शनीका आधारमा बालोन डी’ओर जितेका थिए । 

८. गर्ड मुलर (६३४ गोल)
यस्तै सूचीको आठौं नम्बरमा छन् –गर्ड मुलर । महान खेलाडीहरुमा समावेश जर्मनीका सफल खेलाडी गर्ड मुलरले आफ्नो करिअरमा ६६४ गोल गरेका थिए । जर्मनीकै घरेलु क्लब बायर्न म्युनिखमा तीन सिजन बिताएका गर्ड मुलरले बुन्डेसलिगामा ५६३ गोल गर्दै धेरै रेकर्डहरु क्लबका नाममा राखेका थिए । जसमध्ये केही रेकर्ड भने पोल्याण्डका स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले तोडिसकेका छन् । लेवान्डोस्कीको नाममा अहिले ७ गोल्डेन बुट, चार बुन्डेसलिगा कप र तीन युरोपियन कप जित्दै रहेको छ । मुलरकै प्रेरणामा पश्चिम जर्मनीले सन् १९७२ को युरोकप र सन् १९७४ को विश्वकप जित्न सफल भएको थियो । 

७. जिमी जोन्स (६४७ गोल)
यस्तै सातौं नम्बरमा अर्का आइरिस खेलाडी जिमी जोन्स रहेका छन् । सन् १९४४ मा व्याबसायिक करिअर सुरु गरेका जिमी जोन्सले सन् १९६५ मा सन्यास लिएका थिए । तर सन्यास लिनुअघि जिमीले आफ्नो करिअरमा ६४७ गोल गर्न सफल भएका थिए । सन् १९५० को समर ट्रान्सफर विन्डोमा फुलह्यामसँग अनुबन्धित भएका जिमीले कागजी त्रुटिका कारण सिनियर टोलीसँग खेल्न पाएनन् । जिमीले दोस्रो रोजाइको टोलीसँग खेल्नुपरेकाले उनको गोललाई इङ्गल्याण्ड फुटबल टोलीले आधिकारिक मान्यता दिएन । यदि उनको गोलले आधिकारिक मान्यता पाएको भए अझै गोल सङख्या बढी हुने थियो । फुलह्याममा कागजी त्रुुटि मिलाउन असफल भएपछि जिमी आफ्नै देशको घरेलु क्लबमा १२ वर्ष खेले जहाँ जिमीले ५ सयभन्दा बढी गोल गर्न सफल भएका थिए । 

६. जोसेफ बिकान (७२० गोल)
छैटौ नम्बरमा छन् रसियन खेलाडी जोसेफ बिकन । फुटबल इतिहासमा पेलेको गोल सङख्यालाई विबादित मानिन्छ । तर पेलेभन्दा पनि गोलका हिसाबले अघि छन् जोसेफ बिकन । स्पोर्ट सकर फाउन्डेसनका अनुसार भियनामा जन्मिएका जोसेफ बिकनले सन् १९३१ देखि १९५७ सम्ममा ६२४ खेलमा ९४८ गोल गरेका थिए । तर फिफाका अनुसार बिकनले ८०५ गोल मात्र गरेका छन् । रसियामा विन्टरमा भएको खेललाई पनि आधार मानेर फिफाले बिकनको गोल सङख्या जारी गरेको थियो । तर फुटबलको इतिहास तथा तथ्याङक राख्ने अन्तर्राष्ट्रिय महासंघ(आइएफएफएचएस) का अनुसार रसियाको सो खेल आधिकारिक नभएकाले बिकनले आफ्नो करिअरमा ७७२ खेल खेल्दै ७२० मात्र गोल गरेका थिए । 

५. फ्रेन्च पुस्कास (७२९ गोल)
सातौं नम्बरमा छन् हंगेरी तथा रियल मड्रिडका पूर्व सुपरस्टार फ्रेन्च पुस्कास । पुस्कास राष्ट्रिय टोलीमा समावेश हुनुअघि नै क्लबका लागि ३८३ गोल गरिसकेका थिए । पुस्कासले सन् १९४३ मा क्लब किस्पेस्टबाट आफ्नो व्याबसायिक करियर सुरु गरेका थिए । पुस्कासकै प्रेरणामा हंगेरीले सन् १९५३ र १९५४ मा इङ्ल्यान्डलाई ६–३ र ७–१ गोलले पराजित गरेको थियो । पुस्कासले हंगेरीका लागि ८५ खेलमा ८४ गोल गर्न सफल भएका थिए । सन् १९५६ मा क्रान्तिका लागि आन्दोलन भएकाले पुस्कास हंगेरी छोडी स्पेन गएका थिए । त्यसैको फलस्वरुप पुस्कासले स्पेनका लागि सन् १९६२ को विश्वकपमा ४ खेल खेलेका थिए । स्पेनमा रहँदा पुस्कासले घरेलु क्लब रियल म्याड्रिडका लागि २६२ खेलमा २४२ गोल गर्दै ला लिगा र युरोपियन कप जिताएका थिए । 

४. रोमारियो (७५५ गोल)
ब्राजिलियन लिजेन्ड खेलाडी सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुमध्ये चौथो स्थानमा छन् । रोमारियोले आफ्नो करिअरमा कति गोल गरे ? यसको यकिन तथ्याङक कसैसँग छैन् तर फुटबलको इतिहास तथा तथ्याङ्क राख्ने अन्तर्राष्ट्रिय महासंघ (आइएफएफएचएस)का अनुसार रोमारियोले आफ्नो करिअरमा ७५५ गोल गरेका छन् । जसमा ब्राजिलका लागि गरेको ५५ गोल पनि समावेश छ । रोमारियोकै संलग्नतामा ब्राजिलले सन् १९९४ मा विश्वकप जितेको थियो । ९४ को सो विश्वकपमा रोमारियोले प्रतियोगिताकै उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल जितेका थिए । 

३. पेले (७६२ गोल)
केही साता अघि मात्र निधन भएका ब्राजिलियन लिजेन्ड तथा महान खेलाडी पेले सर्वाधिक गोल गर्ने खेलाडीको समूहमा तेस्रो स्थानमा आउँछन् । गोल रेकर्डको मामलामा पेलेको नाम सबैभन्दा बढी लिइन्छ । किनकी पेलेले गरेका धेरै गोललाई सहकर्मीहरु बिकान र रोमारियोको झै आधिकारिक मान्यता दिइएको छैन । पेलेकै अनुसार पेलेले आफ्नो करियरमा कुल १२ सय ८३ गोल गरेका थिए । गिनिजबुकले पनि पेलेको दाबीलाई मान्यता दिएको छ । यद्यपि फुटबलको इतिहास तथा तथ्याङ्क राख्ने अन्तर्राष्ट्रिय महासंघ (आइएफएफएचएस)का अनुसार पेलेले आफ्नो करिअरमा ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल र ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । बाँकी गोल पेलेले अमेरिकी क्लबका लागि गरेका थिए । आइएफएफएचएस का अनुसार पेलेले समग्रमा ७६२ गोल मात्र गरेका छन् । 

२. लियोनल मेसी (७९४ गोल)
१६ वर्ष विश्व विश्व फुटबल क्षेत्रमा राज गरेका अर्जेन्टाइन सुपरस्टार खेलाडी मेसी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा पर्छन् । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताएका मेसीले बार्सिलोनाका लागि सबै ट्रफी र व्यक्तिगत रुपमा ७ बालोन डी’ओर जितेका थिए । मेसीले बार्सिलोनाका लागि ७७८ खेलमा ६६२ गोल गर्दै कुनै एक खेलाडीले एक क्लबमा गरेको सबैभन्दा धेरै गोलको रेकर्ड राखेका छन् । मेसीले बार्सिलोनाका लागि मात्रै होइन अर्जेन्टिनाका लागि पनि ९८ गोल गरेर अर्को रेकर्ड राखेका छन् । हाल फ्रेन्च क्लब पीएसजीबाट खेल्दै आएका मेसी अझै केही वर्ष क्लब र देशका लागि खेल्ने बताएका छन् । 

१. क्रिस्टियानो रोनाल्डो (८१९ गोल)
फुटबलको इतिहासमै सबैभन्दा धेरै गोलको रेकर्ड पोर्चुगलका सुपरस्टार तथा लियोनल मेसीका सबैभन्दा ठूलो प्रतिद्धन्द्वी क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । क्रिस्टियानो रोनाल्डोले गत अक्टोबरमा इङलिस प्रिमियर लिगमा एभर्टन बिरूद्ध गोल गर्दै ७ सय क्लब–गोल बनाएका थिए । क्लब करिअरमा रोनाल्डोको गोल आफैँमा एक रेकर्ड हो । रोनाल्डोले क्लबका लागि मात्र होइन राष्ट्रका लागि पनि सबैभन्दा धेरै गोल गरेका छन् । रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गर्दै अलि दाईको नाममा रहेको अन्तर्राष्ट्रिय गोल सङख्या आफ्नो नाममा लेखाएका हुन् । हालै म्यान्चेस्टर युनाइटेडबाट साउदी क्लब अल नासरमा अनुबन्ध भएका रोनाल्डोले सन् २०२४ को युरोकपसम्म फुटबल खेल्नसक्ने खेल पण्डितहरु बताउँछन् । रोनाल्डोको खेल शैली हेर्दा लाग्छ उनीमा अझै पनि गोल गर्ने भोक हराएको छैन् । यदि रोनाल्डोले साउदी क्लब अल नासरमा अनुबन्ध भएबमोजिम २ वर्ष पूर्ण रुपमा खेल्न पाएमा ९ सय गोलको रेकर्ड राख्न सक्ने धेरैको अनुमान छ ।
 

Logo