अटो क्षेत्रमा कोरोना असर : कतै व्यापार, कतै मन्दी

अटो क्षेत्रमा कोरोना असर : कतै व्यापार, कतै मन्दी


काठमाडौं ।

कोरोना संक्रमणका कारण मुलुकको उद्योग, व्यापार व्यवसाय, पर्यटन, रेमिट्यान्स, लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् ।

जसका कारण मुलुकको अर्थतन्त्र निकै प्रभावित भएको छ । कोरोनाको असरबाट उठ्न र आर्थिक पूनर्उत्थान गर्न सरकारले बजेट तथा मौद्रिक नीतिमार्फत विभिन्न राहत प्याकेज पनि ल्यायो । तर अटो व्यवसायका लागि बजेट तथा मौद्रिक नीतिमा कुनै नीतिगत व्यवस्था नआएकाले यस क्षेत्रको व्यवसाय पूर्ण रुपमा धरासायी भएको व्यवसायीहरुले बताएका छन् । त्यसो त नेपाल राष्ट्र बैंकले सवारी साधन खरिद गर्न ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गरेकाले पनि अटो व्यवसाय खस्किएको थियो । सरकारले महंगा निजी गाडीलाई बिलासिताका बस्तुको रूपमा लिँदै त्यस्ता गाडीको आयातमा निरत्साहित गर्दै आएको छ ।

सरकारले ५० हजार अमेरिकी डलर भन्दा बढीका गाडी खरिदमा रोक लगाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन तथा सहुलियत दिइने भनेको सरकारले बजेट आउँदा विद्युतिय सवारी साधानमा ८० प्रतिशतसम्म भन्सार र अन्तशुल्क लाग्ने व्यवस्था ग¥यो । यसले पनि निजी तथा सार्वजनिक विद्युतिय सवारी साधन खरिदमा ह्रास ल्यायो । त्यसैमाथि अहिले कोरोनाका कारण रोजगारी संकटमा परेकाले खानै समस्या भएका कारण महँगा गाडी खरिदको माग असाध्यै कम हुने गरेको व्यवसायी बताउँछन् । अटो मोबाइल्स एशोसियशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार सरकारको नीतिगत व्यवस्था र कोरोनाले अटो व्यवसायलाई पूर्णरुपमा प्रभावित बनाएको छ । सस्ता र कम मूल्यका सवारी किन्ने बढेका छन् । तर महँगा र नयाँ गाडीमा कम मात्रामा आकर्षित हुने गरेको व्यवसायीहरुको गुनासो छ ।

महँगा गाडी  बिक्नै छाडे

कोरोना संक्रमणका कारण सबै क्षेत्रको व्यापार व्यवसाय अस्तव्यस्त अवस्थामा छ । व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकेका छैनन् । त्यसका साथै तत्काल बैंक तथा वित्तीय संस्थाको ऋण पनि तिर्न सकिरहेका छैनन् । कयौँको रोजगारी गुमेको छ भने कयौँ कामदारहरुले आधा मात्रै तलव सुविधा पाएका छन् । यस्तो अवस्थामा मानिसलाई हात मुख जोड्नु नै ठूलो कुरा भएको छ । त्यसकारण मानिसहरुको क्रय क्षमतामा पनि ह्रास आएका कारण महँगा गाडी किन्न सक्ने अवस्था छैन । उच्च वर्ग र हुने खानेले मात्रै महँगा गाडी किन्न सक्ने भए पनि मध्यम र तल्लो वर्गले महँगा गाडी किन्न सक्ने अवस्था नभएको व्यवसायीको भनाइ छ ।

सस्ता र सेकेन्ड ह्यान्ड गाडीको विक्रिमा आकर्षण

कोरोनाका कारण सस्ता र सेकेन्ड ह्यान्ड गाडीमा सर्वसाधारणको ध्यान आकर्षित भएको छ । मध्यम वर्ग अहिले १५ लाख रूपैयाँसम्ममा पाइने ‘सेकेन्ड हेन्ड’ कारप्रति आकर्षित भएको देखिन्छ । यो वर्गले महँगा तथा नयाँ कार किन्ने क्षमता नभएपछि सस्ता तथा सेकेन्ड ह्यान्ड कार खरिदमा आकर्षित भएका छन् । मध्यम बर्गका व्यक्तिले मोटरसाइकल बिक्री गरेर १५ लाखसम्मको ‘सेकेन्ड ह्यान्ड कार किन्न थालेका छन् । प्रायः मध्यम बर्गले मोटरसाइकल किन्ने गर्छन्, मोटरसाइकबाट स्तरोन्नती गर्न चाहना राख्नेहरु १५ लाखसम्मका कार किन्न आकर्षित भएका छन् । कारमा परिवारसहित हिड्न मिल्ने भएकाले पनि यस्ता गाडी विक्रिमा आकर्षण बढेको हो । धेरै मूल्य पर्ने भन्दा पनि सस्तो मूल्यका सेकेन्ड हेन्ड कार र मोटरसाइकलको माग बढी हुन थालेको व्यवसायीको भनाइ छ । ‘बैंकबाट चर्को ब्याजदरमा ऋण लिएर भाडामा लगाउने उद्देश्यले खरिद गरिएका महंगा कार, जीप भने बिक्री गर्नेको संख्या घटेको छ ।

मोटरसाइकलमा अफरै अफर
होन्डाको १ रुपैयाँ अफर

होन्डाले बाइक वा स्कुटर किन्न चाहने ग्राहकका लागि विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ । पहिलो योजना अन्तर्गत मोटरसाइकल किन्न चाहने ग्राहकले १ रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी रकम बढीमा ३ बर्षसम्ममा तिर्न सकिने योजना ल्याएको छ । कम्पनीको नियम अनुसार ठिक समयमा किस्ता बुझाउँदा १३ प्रतिशत मात्रै ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।

दोस्रो योजना अन्तर्गत एक रुपैयाँ मासिक किस्तामा होन्डा मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यस अन्तर्गत चार किसिमको डाउन पेमेन्ट सुविधा उपलब्ध छ । यो योजनामा ४० प्रतिशत,५० प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टको सुविधा रहेको छ ।

तेस्रो योजना अन्तर्गत एक प्रतिशत ब्याजमा होन्डाका मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ । यो योजनमा ग्राहकले १ प्रतिशतमा ब्याज दरमा ऋण प्राप्त गर्छन् र यसको अवधि एक वर्ष हुन्छ । चौथो योजना अन्तर्गत आफूलाई जुन सहज हुन्छ, त्यही अप्सन ग्राहकले छनोट गर्न सक्छन् । यस अन्र्तगत ग्राहकले ३ वर्ष सम्मको कर्जा अवधि भएको ऋण वा २० प्रतिशत डाउनपेमेन्ट देखिको सुविधा लिन सक्छन् यी सबै योजनामा बिमा वापत लाग्ने सबै खर्च र नामसारी गर्न लाग्ने रकम अग्रिम रुपमा ग्राहकले नै बुझाउन पर्छ ।

टीभीएसको अफर

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लकडाउन खुकुलो भएसँगै नयाँ योजना ल्याएको छ । यस अन्तर्गत नगद रकमका साथ टीभीएसको मोटरसाइकल किन्नेका लागि १२ हजार र स्कुटरका लागि १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

त्यसैगरी तत्काल पैसा नहुनेका लागि शुन्य डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको अफर समेत उपलब्ध छ । शुन्य डाउन पेमेन्ट अन्तर्गत शुरुमा कुनै पनि रकम नबुझाएर पनि मोटरसाइकल वा स्कुटर लैजान पाइनेछ । तर यस स्किम अन्तर्गतको सुविधा सरकारी निकायका कर्मचारी, ए क्लास बैंकका कर्मचारी तथा प्रतिष्ठित संस्थाको कर्पोरेट ग्यारेन्टी लेटरको आधारमा प्रदान गरिने छ ।

अर्को शुन्य प्रतिशत ब्याज योजना अन्तर्गत शुरुमा मोटरसाइकल वा स्कुटरको मूल्यको ५० प्रतिशत बुझाउन सकिने र बाँकी रकम मोटरसाइकल वा स्कुटर अनुसार १२ वा १८ किस्तामा तिर्न सकिने छ । २० वा ३० प्रतिशत डाउन पेमेन्ट बुझाउनेका लागि ३० महिनाको किस्ता अवधि हुनेछ भने त्यो भन्दा माथिको हकमा २४ महिनाको किस्ता अवधि हुनेछ ।

सुजुकी बाइकमा क्यास, एक्सचेन्ज र फाइनान्समा अफरै अफर

सुजुकी बाइकको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले प्रत्येक बाइक तथा मोटरसाइकलको खरिदमा १५ हजार छुट प्रदान गरिने विशेष अफर ल्याएको छ । कोभिड–१९ को महामारीबाट बन्द लकडाउन पश्चात भर्खरै नयाँ सुरुवात हुन लागेको अवसरमा नयाँ जोश, नयाँ जाँगर र नयाँ उत्साह थप्नका लागि यस प्रकारको अफर ल्याएको कम्पनीले बताएको छ ।

हार्लेको ५० हजार बराबरको सर्भिस

हार्ले डेभिडसन बाइक किन्नका लागि नयाँ स्किम ‘सेभ फर फ्युचर, हाफ द प्राइस’ आएको छ । नेपालका लागि हार्ले डेभिडसन बाइकको आधिकारिक वितरक हार्ले डेभिडसन अफ काठमाडौंले सो स्किम अफर सार्वजनिक गरेको हो । यस अन्तर्गत ग्राहकले ४९ हजार ९९९ रुपैयाँ बराबरको कस्टमाइज्ड सर्भिस फाइदा प्राप्त गर्न सक्नेछन् । नेपाली बजारमा हाल हार्ले डेभिडसनका स्ट्रिट ७५०, स्ट्रिट रड ७५० र आइरन ८८३ बाइक उपलब्ध छन् । यी बाइकको मूल्य क्रमशः २३ लाख, २७ लाख र ४० लाख रुपैयाँ छ ।

बीएमडब्ल्यु बाइकमा ६५ हजार बराबर छुट

नेपालका लागि बीएमडब्ल्यु बाइकको आधिकारिक वितरक टर्क मोटर्सले ‘अनलक योर लकडाउन अफर’ अन्तर्गत ६५ हजार रुपैयाँ बराबरको छुट अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत दुई अप्सनमा अफर प्राप्त गर्न सकिने छ । पहिलो अप्सन अन्तर्गत बीएमडब्ल्यु एड्भेन्चर प्याकेज, बीएमडब्ल्यु र अल्पाइनस्टारको आधिकारिक ज्याकेट, ट्राउजर, ग्लोब्स तथा बीएमडब्ल्यु मोटराडका एसेसरिज पाइने छन् ।

त्यसैगरी दोस्रो अप्सन अन्तर्गत एजीभी हेल्मेट, फुल इन्स्योरेन्स र ३ वर्ष सम्मको अनलिमिटेड किलोमिटर अर्थात सर्भिसिङ उपलब्ध गराइने छ । यी बाइकका लागि सहज फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीले बताएको छ ।

भेस्पा र अप्रिलिया स्कुटर किन्दा छुट

भेस्पा र अप्रिलिया स्कुटर किन्दा ५ हजार नगद छुट पाइने छ । त्यसैगरी दुवै ब्रान्डमा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने दुई आर्थिक वर्षको सडक दस्तुर समेत निःशुल्क हुनेछ । एसेसरिज अन्तर्गत हेलमेट, कभर, फुटम्याट र किरिङ उपलब्ध हुनेछ । यी दुवै स्कुटरका लागि एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध भएको कम्पनीले जनाएको छ ।

कायो डर्ट बाइक किन्दा ५० हजार छुट

कायोको डर्ट बाइक के ६ ईएफआई किन्दा ५० हजार छुट अफर ल्याएको छ । कम्पनीले एक जना लक्की उइनरले क्यास ब्याकको रुपमा १ लाख रुपैयाँ छुट पाउनेछन् । नेपाली बजारका लागि कायोको आधिकारिक वितरक शुवानी इन्टरनेसनलले असार मसान्त सम्मका लागि सो अफर उपलब्ध गराएको छ । सो बाइकको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । छुट मूल्य उपलब्ध हुँदा सो बाइक ६ लाख रुपैयाँमै उपलब्ध हुनेछ ।

मोटरहेडको स्किम

मोटरहेडले एउटै बाइक किन्दा २० हजार रुपैयाँ सम्म छुट र अन्य धेरै अफर योजना ल्याएको छ । मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम लागू गरेको छ । कम्पनीले आफ्नो ५ मोडल मध्ये तीन मोडलका बाइक किन्दा सिधै १५ हजार र अन्य दुई मोडलमा २० हजारसम्म छुटको व्यवस्था गरेको छ ।

यी फ्ल्याट डिस्काउन्ट वाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बीमाको साथ खरिदकर्ताको फ्रि कोभिड बीमा पनि गराउने व्यवस्था गरेको छ । यो अफर असार १२ गते देखि नै लागू भएको छ ।

बजाज बाइक किन्दा १२ हजार छुटसहित ५० प्रतिशत डाउनपेमेन्ट

बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले कुनै पनि बजाजका बाइक किन्दा पुरै नगद बुझाउदा १२ हजार छुट दिने अफर ल्याएको छ । त्यसैगरी, मूल्यको ५० प्रतिशत नगद बुझाउँदा बाँकी लाग्ने पैसामा शुन्य प्रतिशत ब्याज लाग्ने भएको छ । बजाजका बाइक किन्नका लागि २० प्रतिशत मात्र नगद बुझाएमा बाँकी पैसा किस्ताबन्दीमा तिर्न सकिने सुविधा समेत उपलब्ध भएको बताइएको छ ।

यामाहाको बाइक र स्कुटरमा १० हजार छुट

यामाहा बाइक तथा स्कुटर किन्दा अब विशेष अफर ल्याएको छ । नेपालमा यामाहाको बाइक तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले असहज परिस्थिति, सहज समाधान भनेर नयाँ स्किम ल्याएको छ । यस अन्तर्गत शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र १० हजार डिस्काउन्ट गरी तीन प्रकारको अफर उपलब्ध गराएको छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसारको स्किम छनोट गर्न सक्ने छन् । शुन्य प्रतिशत डाउनपेमेन्ट अन्तर्गत कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुलाई शुरुमा कुनै पैसा नतिरेरै बाइक वा स्कुटर उपलब्ध गराइने छ । यस्ता ग्राहकका लागि १७ प्रतिशत ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।

यस्तो छ आयातको स्थिती

महँगा गाडीलाई विलासिताका बस्तु मान्दै सरकारले ५० हजार अमेरिकी डलरमाथिका गाडीको आयातमा रोक लगाएपछि गाडीको आयात खस्किएको हो । भन्सार विभागको गत आर्थिक वर्षको सवारी आयातको तथ्यांक हेर्ने हो भने उदेग लाग्दो अवस्थामा छ । विभागका अनुसार गत वर्ष चारपाङ्ग्रे सवारी साधनको आयात झन्डै ४६ प्रतिशतले घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७५ /७६ मा नौ वर्गका कुल ४१ हजार भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएका थिए । गत वर्ष यो २२ हजारको हाराहारीमा मात्र आएको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार हजार सीसीसम्मका गाडीको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको देखिएको छ । त्यस्तै, १५ सय सीसीसम्मका गाडी पनि अघिल्लो वर्षको भन्दा करीब साढे १८ सय कम भित्रिएको छ । गत वर्ष १५ सय सीसीसम्मका चारपाङ्ग्रे सवारी आयातमा ३ अर्ब ४५ करोड विदेशिएका थिए ।

त्यस्तै, मोटरसाइकल आयात उस्तै घटेको छ । विभागका अनुसार मोटरसाइकलको आयात १२.२१ प्रतिशतले घटेको हो । विभिन्न इन्जिन क्षमताका कुल एक लाख ८० हजार ३ सय २२ मोटरसाइकल गत आवमा भित्रिएका छन् । अघिल्लो वर्ष संख्या २ लाख ५ हजार ४ सय थियो । त्यस्तै, अटो रिक्साको आयातमा पनि उल्लेख्य रुपले घटेको देखिएको छ । अटो रिक्सा साढे ५३ प्रतिशतको हाराहारीमा घटेको देखिएको छ ।

 

Logo