लागूऔषधसहित ११ जना पक्राउ

लागूऔषधसहित ११ जना पक्राउ


देशका  विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् ।  

मकवानपुरकाे  हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट  लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी  गाँजा फेला पारी गाडीका चालक बारा बौदिमाई नगरपालिका-४ बस्ने २० वर्षीय राजकुमार रामसहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय नबराज थिङलाई  गाँजा करिब ६० ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय आषिस ओली र २९ वर्षीय बसन्त ओली रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४ सय २० भारतीय रूपैयाँ, ६ हजार ४ सय ९० नेपाली रूपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागुऔषधको कारोबार गरिरेहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बाँकेकाे बैजनाथ गाउँपालिका-२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

झापाकाे झापा गाउँपालिका-६ भृकुटी चौक बस्ने ३० वर्षीय हेम नारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

चितवनकाे खैरहनी नगरपालिका-९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा  प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।     

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Logo