हाम्रो पात्रोले ल्यायाे डिजिटल वालेट ‘हाम्रो पे’

हाम्रो पात्रोले ल्यायाे डिजिटल वालेट ‘हाम्रो पे’


लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट 'हाम्रो पे' सुविधा थपिएको छ । हालै राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रो पात्रोले आफ्नै डिजिटल वालेट सार्वजनिक गरेको हो ।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै मोबाइल एप डाउनलोड गर्नुपर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमा डिजिटल वालेट उपलब्ध भएसँगै अब एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्नेछन् । 

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रूपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले बताए । “हामी हाम्रो पात्रोलाई सुपर एप बनाउन खोज्दैछौँ । प्रयोगकर्ताहरूले हामीलाई दिएको यतिधेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकतालाई समेट्न खोज्दैछौं,” उनले भने, “त्यसै अन्तर्गत हामीले  हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौँ । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पुर्याउने हाम्रो विश्वास छ ।”

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने,  'लाइभ च्याट सपोर्ट' लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न छ वटा भाषामा प्रयोग गर्न सकिन्छ ।

Hamro Pay

नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प उपलब्ध छ । अङ्ग्रेजीसँगै नेपाली, नेपाल भाषा, मैथिली, थारू र डोटेली रहेका छन् । 

साे अवसरमा हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले ‘हाम्रो पे’ले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउने कुरामा आफू विश्वस्त रहेको बताए । “हाम्रो पेलाई प्रयोगकर्तामाझ पुर्याउन हाम्रा इन्जिनियरहरूको दिनरातको मेहेनतको म कदर गर्छु,” उनले भने, “एक करोडभन्दा बढी प्रयोगकर्ताहरू माझ पुग्ने हाम्रो पेले सबैको विश्वास जित्नेछ भन्ने कुरामा ढुक्क छु ।”

Logo