प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिनमात्र समय बाँकी रहँदा ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति चयनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। ओली र प्रचण्डबीच बाक्लो भेटवार्ता भए पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँमा उभिन सकेका छैनन्।

प्रचण्डले एकातर्फ राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ कांग्रेसलाई राष्ट्रपति दिने वचन दिएका छन्। एमालेको साथ लिएर पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ गते नेपाली कांग्रेसले पनि संसदमा विश्वासको मत दिएको थियो। त्यसयता सत्तारूढ दुई दलका नेताबीच घन्टौं छलफल भए पनि विश्वासको वातावरण बन्न सकेको छैन। यसैबिच, निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।

Logo