विश्वकप क्रिकेट लिग २ : नामिबियाले यूएईलाई हराउँदा नेपाललाई फाइदा

विश्वकप क्रिकेट लिग २ : नामिबियाले यूएईलाई हराउँदा नेपाललाई फाइदा


आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा नामिबियाले यूएईलाई हराएको छ । दुबईमा आज भएको खेलमा नामिबियाले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १ सय ६७ रनको लक्ष्य नामिबियाले २८ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । नामिबियाका लागि माईकल भानले ७१ रन बनाए । यूएईका जुनेद सिद्धिकि, नाहोर खान र राहुल भाटीयाले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

यूएईका कप्तान सीपी रिजवानले अविजित ६० रन बनाए । नामिबियाका टाङ्गेनी लुकामेनी, बेन शिकोन्गो र कप्तान ग्रहार्ड इरास्मसले समान २/२ तथा रुवेन ट्रम्पेलम्यान, शन फुची र बेनार्ड स्कोलर्जले समान १/१ विकेट लिए । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ । यूएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

आज नामिबियाको जित र यूएईको हारले नेपाललाई फाइदा पुगेको छ । नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न केहि सहज भएको छ । युएईले नेपालसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्न बाँकी छ । नेपालले बाँकी सबै खेल जित्दा ४२ अंकमा पुग्नेछ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

स्कटल्यान्ड र ओमान समान ३६ खेलमा ५० अंक र ४४ अंक हुँदै सोझै विश्वकप छनोटमा पुगेका छन् । अब यूएई, नेपाल र नामिबियामध्ये एक टोली पुग्नेछ । नेपालले सबै खेल जितेको खण्डमा सोझै विश्वकपमा छनोट हुनेछ भने एकदिवसीय मान्यता जोगाउन बाँकी ८ मध्ये ५ खेल जित्नुपर्ने हुन्छ ।

Logo