काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा विस्तार गर्दैनन् दूरसञ्चार कम्पनी [भिडियोसहित हेर्नुहोस्]

काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा विस्तार गर्दैनन् दूरसञ्चार कम्पनी [भिडियोसहित हेर्नुहोस्]


मुलुकमा सञ्चालनमा रहेका तीन वटा टेलिकम कम्पनीहरुले काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा विस्तार गरेका छैनन् । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको अध्ययनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल अजियटा लिमिटेड र स्मार्ट टेलिकम लिमिटेडले मापदण्ड अनुसार गुणस्तरीय सेवा विस्तार नगरेको देखाएको हाे । 

टेलिकम कम्पनीहरुले गुणस्तरीय सेवा प्रदान गर्न ४ वटा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । तर, प्राधिकरणले गरेको अध्ययनमा कुनै पनि कम्पनीले चार वटा मापदण्ड पूरा नगरी सेवा विस्तार गरेको देखिएको छ । प्राधिकारणले यही माघ महिनाको २० देखि २४ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा तीन वटै कम्पनीले प्रदान गर्दै आएको सेवाको गुणस्तर मापन गरेको हो । 

अध्ययनका अनुसार एनसेलले प्रदान गरेको सेवा सबैभन्दा गुणस्तरीय र उत्कृष्ट पाइएको छ । तर, एनसेल कम्पनीले पनि सबै मापदण्ड पूरा गरेको भने छैन । सबैभन्दा उत्कृष्ट सेवा एनसेलले प्रदान गर्दा स्मार्ट सेलले निकै न्यून गुणस्तरको सेवा दिएको पाइएको छ । 

प्राधिकरणले ग्वार्को, कोटेश्वर र पुरानो सिनामङ्गलमा अध्ययन गरेको थियो । यसैगरी, नयाँ बस्ती–बौद्ध, चावहित गौशाला, सिफल मौतिदेवी, हाँडीगाउँ, कपन, धुम्बाराही, बरफेदी, भंगाल, हात्तीगौडा, बुढानिलकण्ड तथा त्यस क्षेत्रका सडक मार्गहरुमा पनि अध्ययन गरेको थियो । 

टेलिकम कम्पनीहरुले सेवा विस्तार गर्दा कल सेटअप सक्सेस रेट ९९.९९ प्रतिशत हुनुपर्छ । यस्तै, कल सेटअप टाइम ५ सेकेण्डभन्दा कम, कल ब्लक रेट र कल ड्रप रेट २ प्रतिशत वा सोभन्दा कम हुनुपर्छ । तर, टेलिकम कम्पनीहरुले सबै मापदण्ड पूरा नगरे पनि कल ड्रप रेटको मापदण्ड भने पूरा गरेका छन् । कम्पनीहरुको कल ड्रप रेट शून्य छ । 

एनसेल अजियटा लिमिटेड
एनसेल अजियटा लिमिटेडले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । एनसलले पूरा गर्नुपर्ने चार वटा मापदण्ड मध्ये एउटा मात्र पूरा गरेको छ । एनसेलले ‘कल ड्रप रेट’को मापदण्ड मात्रै पूरा गरेको हो । तर, सरकारी स्वामित्वमा सञ्चालन भइरहेको नेपाल टेलिकमको सेवाभन्दा राम्रो देखिएको छ । 

प्राधिकरणले गरेको अध्ययन अनुसार एनसेलको कल सेटअप सक्सेस रेट ९३.६९ प्रतिशत छ । आवश्यक मापदण्ड ९९.९९ प्रतिशत हुनुपर्नेमा यो ७ प्रतिशतले कम हो । यस्तै, ५ सेकेण्ड हुनुपर्ने कल सेटअप टाइम ५.१८ सेकेण्ड छ । एनसेलले दिँदै आएको सेवामा यो मापदण्डभन्दा जम्मा ०.१८ सेकेण्डले न्यून हो । यता, २ प्रतिशत हुनुपर्ने कल ब्लक रेट ६.३ प्रतिशत रहेको छ । यस कम्पनी मापदण्डको आसपास रहेपनि पूरा भने गरेको छैन । 

नेपाल टेलिकम
सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले सेवा दिँदा पूरा गर्नुपर्ने चार वटा मापदण्ड मध्ये एउटा मात्र पूरा गरेको पाइएको छ । निजी क्षेत्रको लगानीमा सञ्चालन कम्पनी एनसेलको तुलनामा यसले न्यून गुणस्तर सेवा दिएको पाइएको छ । 

टेलिकमले पनि ‘कल ड्रप रेट’को मापदण्ड मात्रै पूरा गरेको छ । ९९.९९ प्रतिशत हुनुपर्ने कल सेटअप सक्सेस रेटको गुणस्तर ८८.७८ प्रतिशत मात्रै छ । यसअनुसार टेलिकमले यो कल सेटअप सक्सेस रेटको मापदण्डभन्दा ११.२१ प्रतिशतले न्यून छ ।
यस्तै, कल सेटअप टाइम ५ सेकेन्ड हुनुपर्छ । तर, टेलिकमले दिने सेवामा कल सेटअप टाइम ६.९७ सेकेण्ड छ । यसका साथै, २ प्रतिशत हुनुपर्ने कल ब्लक रेटको दर ११.२१ प्रतिशत छ । यसले नेपाल टेलिकमले दिने सेवामा गुणस्तरीय मापदण्ड पूरा नभएको उल्लेख गर्छ । 

स्मार्ट टेलिकम
सबैभन्दा गुणस्तरहीन सेवा प्रदान गर्ने टेलिकम कम्पनीको सूचीमा स्मार्ट टेलिकम रहेको छ । प्राधिकरणले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामै यस कम्पनीले गुणस्तरहीन सेवा प्रदान गरेको पुष्टि गर्छ । यद्यपी, यो कम्पनीले पनि कल ड्रप रेटको मापदण्ड भने पूरा गरेको छ ।

९९.९९ प्रतिशत हुनुपर्ने कल सेटअप सक्सेस रेट जम्मा २६.३९ प्रतिशत छ । यो आवश्यक मापदण्डको ५० प्रतिशतभन्दा पनि कम हो । यस्तै, ५ सेकेन्ड हुनुपर्ने कल सेटअप टाइम ११.९३ सेकेन्ड छ । यो पनि सबैभन्दा खराब सेवा हो । यसका साथै, २ प्रतिशत हुनुपर्ने कल ब्लक रेट ७३.६ प्रतिशत छ । 

प्राधिकरण व्यवस्थापनबाट एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकम कम्पनीलाई सेवाको गुणस्तर मापदण्ड पूरा गर्न निर्देशन दिइसकेको जनाइएको छ । 

Logo