मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने


काठमाडौं ।

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिराको जोखिम बढेको बताइएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव २ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।रासस

Logo