केन्द्रबिन्दुमा आजकाे पोजेटिभ न्युज, पोजेटिभ भाइब्स [भिडियोसहित]

केन्द्रबिन्दुमा आजकाे पोजेटिभ न्युज, पोजेटिभ भाइब्स [भिडियोसहित]


१.नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) मा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।

तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो

२. बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । 

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् । 

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् । एमालेले पनि बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । 

३. बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई स्वदेश फर्काएको हो । 

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन । उनले विदेशमा पु-याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन । त्यस्तै नेकपा (एकीकृत समाजवादी) केन्द्रिय प्रचार विभाग सदस्य क्रितु भण्डारीले ९ जना महिलाहरुलाई ललाईफकाई बेलारुस पु-याइ अलपत्र पारिएका महिलाहरुलाई स्वदेश फर्काइएको बताइन । 

स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमीक नदिएको र पीडा दिने गरेको बताउछिन् । उनले नेपालबाट जाँदा एजेण्टहरुले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन । 

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो । 

४.युरोकप छनोट खेलमा इंग्ल्यान्ड र पोर्चुगल विजयी

युरोकप छनोटको समुह सी अन्तर्गतको खेलमा इंग्ल्यान्डले विजयी सुरुआट गरेको छ । गएराति भएको खेलमा इङल्याण्डले साविक विजेता इटलीलाई २–१ गोल अन्तरले पराजित ग-यो । ईंल्याण्डको जितमा राइस डेक्लानले खेलको १३ औं मिनेटमा सुरुवाती गोल गरे । यस्तै, हृयारी केनले पहिलो हाफको ४४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इङ्ल्यान्डलाई जित दिलाए । इटालीका माटेओ रेटेगुईले एक गोल फर्काए ।

यस्तै गएराति नै भएको समुह जे अन्तर्गतको अर्को खेलमा पोर्चुगलले लेन्चेस्टाइनलाई ४–० गोल अन्तरले पराजित ग-यो । पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै, जोआओ क्यान्सेलो र बर्नाडोसिल्भाले समान एक एक गोल गरे ।

५. बिजुली विस्तारमा फड्को

देशभरका सबै घरपरिवारमा बिजुली पुर्याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल ९२ दशमलव दुई प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग भएको पाइएको छ । 

आफू बसोबास गरेको घर तथा आवासीय इकाइमा बत्ती बाल्न मानिसले बिजुली प्रयोग गरेका छन् । दश वर्षपहिले बिजुली प्रयोग गर्ने परिवार मात्रै ६७ दशमलव तीन प्रतिशत मात्रै थिए । बत्ती बाल्न सोलार, शौर्य ऊर्जा प्रयोग गर्ने परिवार छ दशमलव छ प्रतिशत छन् । यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८ दशमलव आठ प्रतिशत बराबर हुन पुगेको । 

मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार एक प्रतिशतभन्दा कम रहेको छ ।

६. ३६५ दिन नै रानीपोखरी खुला रहने

काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो ।

नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको छ । कुनै अवरोध नआए तीन सय ६५ दिन नै पोखरी सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ ।

पुनःनिर्माण कार्य सकी विसं २०७७ कात्तिक ५ मा नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो । हस्तान्तरणपछि सबैका लागि खुला गर्न  कामपाले पटक–पटक प्रयास गरेको थियो । तर त्यो सम्भव भएको थियो ।

Logo