लकडाउन यता हवाईमार्ग हुँदै ३५ हजार नेपाली स्वदेश फर्किए

लकडाउन यता हवाईमार्ग हुँदै ३५ हजार नेपाली स्वदेश फर्किए


काठमाडौं ।

यस हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ । विदेशस्थित कूटनीतिक नियोग, सङ्घ एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपि साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगन गरेको छ ।

आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ । यस्तै मलेशिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यस हप्तासम्म २१६ शव नेपाल पुर्याई परिवारलाई बुझाइएको छ। विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी छ ।

यसैबीच एनआरएनएको कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिबार सम्पन्न भएको छ। एनआरएनएका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ शुरु भएदेखि समितिले गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । उनले कोरोना भाइरसको महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताए। उनले विदेशमा रहेका नेपाली समुदायले बेहोर्नु परेको अप्ठ्यारो र संवेदनशील यस घडीमा मल्हम लगाउने काम भइरहेको जनाउँदै यस कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरे ।

बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा दुई हजार १०० स्वयंसेवक खटिरहेको जानकारी दिए। उनले सङ्घका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमार्फत ८१ हजारभन्दा बढीले परामर्श लिएको बताए । बैठकमा स्वास्थ्य समितिका संयोजक डा सापकोटाले गैरआवासीय नेपालीमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनु पर्ने सावधानीका बारेमा आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकाले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि सङ्क्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नु पर्नेमा जोड दिएका थिए । बैठकमा सहभागीहरुले नेपालमा फर्किएकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको र आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनु पर्ने बताएका थिए।रासस

Logo