आज कांग्रेस सरकारमा छ, भोलि नेतृत्व लिन पनि सक्छौँ -सभापति देउवा

आज कांग्रेस सरकारमा छ, भोलि नेतृत्व लिन पनि सक्छौँ -सभापति देउवा


सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गरेका छन् । 

सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे । 

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको पनि दोहो-याए । 

उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ । भोली सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । तर अझै यो पार्टी एकदमै अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोली हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ ।’ 

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरेपनि उनीहरुको हितमा धेरै काम गर्न नसकेको उनको स्विकारोक्ति थियो ।

Logo