चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी


नयाँ वर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन् । 

सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए । “सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ । यसले हामीलाई ठूलो क्षति भएको छ”, उनले भने  ।

यस अगाडि पनि यस्ता समस्या आइरहेकाले दीर्घकालीन समाधानका लागि उजुरी गरिएको पोखरेलको भनाइ छ । यसअगाडि उनकै समूहले निर्माण गरेको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’समेत पाइरेसी भएको थियो ।  

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । प्रदर्शनको दुई दिनमै सो चलचित्रले रु चार करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ । 

Logo