मर्धर सिमसार क्षेत्र बचाऊ संघर्ष समिति गठन

मर्धर सिमसार क्षेत्र बचाऊ संघर्ष समिति गठन


रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ ।

मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरुको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदिप गिरीले जानकारी दिएका छन् । समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन् ।

समितिले सिमसार क्षेत्रको संरक्षणको लागी सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन् ।  

समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए ।

जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू- माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । भू- माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठ्ठाका दरले २० टुक्रा गरेका छन् ।

मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेका छन् ।

Logo