एसिड प्रकरण: पवित्रालाई मुस्कानको सुझाव ‘हिम्मत नहार्नु’

एसिड प्रकरण: पवित्रालाई मुस्कानको सुझाव ‘हिम्मत नहार्नु’


बिहिबार साँझ एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगाकी पवित्रा कार्कीलाई मुस्कान खातुनले अस्पताल पुगेर भेटेकी छन् । आज बिहानै कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेर खातुनले हौसला प्रदान गरेकी हुन् ।

उनले पवित्रा कार्कीलाई हिम्मत नहार्न भन्दै हौसला प्रदान गरेकी छन् । खातुनले सरकार समक्ष घटनाका दोषी मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन् ।

मुस्कान पनि एसिड प्रहारबाट पीडित हुन् । ०७६ भदौमा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो ।

पवित्रालाई एसिड आक्रमण गर्ने २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि रहेको खुलेको छ । उनीहरुमध्ये रौतहटको लक्ष्मीपुर घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बनाएको बयान प्रहरीलाई दिएका छन् ।

मुलुकी अपराध संहितामा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।

Skip This
Logo