पत्रकार महासङ्घको राष्ट्रिय भेला हेटौँडामा

पत्रकार महासङ्घको राष्ट्रिय भेला हेटौँडामा


काठमाडौं ।

नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ ।

गत वैशाखका लागि तय गरिएको सो भेला रोकिएको र २६ औँ महाधिवेशनको मिति तय गर्न समेत कठिनाइ उत्पन्न भएकाले ती गतिविधिका बारेमा निर्णय लिन भेलाको नयाँ मिति तय गरिएको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा विहिबार सम्पन्न केन्द्रीय समितिको दसौँ पूर्ण बैठकले साङ्गठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा र कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असर लगायतका विविध विषयमा छलफल गरेको थियो ।

महासचिव रमेश विष्टका अनुसार बैठकले बन्दाबन्दीका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिस र नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । यस्तै कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहले श्रमजीवी पत्रकारलाई दवावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त र परिणाममुखी बनाउने निर्णय गरिएको छ ।

निरन्तर पाँच वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्गरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनी दुई वर्ष अघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासङ्घको मिसन सबै प्रदेशमा परिचालित हुने महासङ्घले स्थापना गरेको एक करोड रुपैयाँ बराबरको आपतकालिन कोषमा महासङ्घ केन्द्रकातर्फबाट तीस लाख र महासङ्घ बेलायत शाखाबाट बीस लाख जम्मा भइसकेकाले यस कोषमा स्वेच्छिक योगदान गर्न चाहने महासङ्घका शाखा र सरोकारवालालाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय पनि गरिएको छ ।

महासङ्घले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

गत भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल सरकारसँग बैठकले माग गरेको छ ।रासस

Logo