एकै परिवारका तीन खेलाडीले जिते स्वर्ण पदक

एकै परिवारका तीन खेलाडीले जिते स्वर्ण पदक


१८ औँ  राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे । फाइनल जित्न इन्द्रलाई मात्र १६ सेकेन्ड समय लाग्यो । चार मिनेटको पूरा खेलमा इन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनीषलाई १६ सेकेन्डमै हराएका थिए । नेपाल आर्मीका किरण भट्टराई तथा बागमती प्रदेशका प्रवीण पाण्डे तेस्रो भए ।

नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा भएको महिला ४८ केजी मुनि फाइनलमा बागमतीकी निशाले एपीएफ क्लबकी रत्ना तामाङलाई हराइन् । लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेस्रो बने ।

५२ केजी मुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना डंगाललाई पाखा लगाइन् । प्रतियोगिताको राखेपका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उदघाटन गरेका थिए । 

Logo