नेपाल राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि ०७७ लागू

नेपाल राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि ०७७ लागू


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि ०७७ लागू गरेको छ । राष्ट्र बैंकले कर्जालाई ३ वर्गमा विभाजन गरी पुनर्कर्जाको सुविधा दिने भएको हो । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जामा विभाजन गरी सुविधा दिन लागेको हो ।

राष्ट्र बैंकले ती सुविधा प्राप्त गर्ने क्षेत्रहरु निर्धारण गरेको छ । उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँ सम्मको कर्जामा प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिने राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जा राष्ट्र बैंकले २ प्रतिशतमा उपलब्ध गराउँछ भने बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतमा लगानी गर्न सक्छन् ।

पुनरकर्जाको सीमा बढीमा २० करोड तोएिको छ भने यस्तो कर्जाको अविध १ वर्ष हुनेछ । एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा १ वर्षको हुने राष्ट्र बैंकद्वारा जारी पुनर्कर्जा कार्यविधीमा उल्लेख छ । तर यस्तो कर्जा नवीकरण भने हुँदैन ।

राष्ट्र बैंकले कुल पुनर्कर्जाको ७० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट उपलब्ध गराउने छ । यसरी प्रदान गरिने कर्जाको प्रतिव्यक्ति अधिकतम सीमा ५ करोड रुपैयाँ हुनेछ । कुल पुनर्कर्जाको २० प्रतिशत रकम भने राष्ट्र बैंकले नै ग्राहक मूल्यांकन गरी उपलब्ध गराउने भएको छ । यस्तो कर्जाको अधिकतम सीमा २० अर्ब हुनेछ । कुल पुनर्कर्जाको १० प्रतिशत भने लघुवित्त वित्तिय संस्थामार्फत प्रदान गरिने राष्ट्र बैंकको सो कार्यविधीमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा उपलब्ध गराएपछि बैंकहरूले प्रदान गर्ने पुनर्कर्जा उनीहरुको प्रत्येक शाखाले ५ वटा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

केन्द्रीय बैंकले जारी गरेको पुनर्कर्जा कार्यविधिमा ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जा पुनर्कर्जाको लागि अयोग्य हुने कार्यविधीमा उल्लेख छ ।

पुनर्कर्जा कार्यविधि यहाँ हेर्नु होला

 

Logo