1
1
1
1
1

0 Shares

नेकपा हाइकमान्डको निर्देशन : जसरी पनि हेटौंडा राजधानी

1
1
1
1
1
1

काठमाडौं ।

सत्तारूढ नेकपाले प्रदेश नं. ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन्।

पार्टी नेतृत्वसँगको छलफलमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसदहरू पशुपति चौलागाईं, राजेन्द्र पाण्डेलगायत थिए।

पुस १३ मा बसेको नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न सम्बन्धित पार्टी कमिटी र प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो।

संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुने व्यवस्था छ। यो निर्णय लिन प्रदेश ३ मा ७४ मत भए पुग्छ। नेकपा एक्लैको त्यहाँ दुई तिहाइ मत (८० सिट) छ।

‘सामान्य वडाको कार्यालय वरपर गर्दा त नयाँनयाँ समस्या आइलाग्छ। हेटौंडामा प्रदेशको अस्थायी राजधानी भनेर गइहाल्यो। अब सार्दा अरू समस्या आउँछन्। राजधानी बनाउने भएपछि काठमाडौं खाल्टो मात्र होइन, अलिक पर होस् भन्ने पनि हुनुपर्छ। टाढा भयो होला, एउटा भूगोलका कारणले तर पनि अब यो पार्टीको निर्णय हो। जसरी पनि मानेरै जानुहोस,’ प्रधानमन्त्रीको निर्देशन उधृत गर्दै प्रदेश सभा सदस्य पशुपति चौलागाईंले भने।

अब के हुन्छ ?

बालुवाटारमा पार्टी हाइकमान्डको निर्देशनलगत्तै नेकपाको प्रदेश सभा ३ ले बिहीबार बिहानका लागि दलको बैठक बोलाएको छ। प्रदेश सभा बैठक भने बुधबार दिउँसो ३ बजे डाकिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बोलाइएको दल बैठकमा पार्टीका अध्यक्षद्वय र महासचिवसँगको छलफलमा भएका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टी सचिवालयको निर्णयपछि बसेको प्रदेश दलको तीन दिनसम्म चलेको बैठकमा अधिकांश सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन्। नेतृत्वले दिएको निर्देशन अनुसार प्रदेशका पदाधिकारीले प्रदेश सभा सांसदहरुलाई बिफ्रिङ गर्नेछन्। त्यसपछि २७ गतेसम्म प्रक्रिया टुंग्याउने गरी प्रदेश सभाले कार्यसूची बनाउने तयारी छ।

‘पार्टी नेताहरुले समयका हिसाबले २७ पुसभित्र मतदान प्रक्रियामा लगेर टुंग्याउन निर्देश गर्नुभएको छ, अब त्यही अनुसार प्रक्रिया अगाडि बढ्छ होला,’ चौलागाईंले भने।
अन्नपूर्णबाट

प्रकाशित: २३ पुष २०७६ ०९:५७ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी